स्वास्थ्य

हेयर कलरका हानी

इकागज |
फागुन ५, २०७८ बिहीबार ९:४१ बजे

कपाललाई सुन्दर बनाउन होस् वा आफूलाई नयाँ लुक दिन धेरैले हेयर कलर गर्छन् । तर, सुन्दर बन्‍न प्रयोग गर्ने हेयर कलरले स्वास्थ्यमा हानी गर्नेबारे भने थोरैले मात्र विचार पुर्‍याएका हुन्छन् । कपाल राम्रो बनाउने रहर सबैको हुन्छ । यसो भन्दैमा कलर गर्दैमा मात्र कपाल राम्रो हुने भने होइन । 

हेयर कलर गर्नु अघि निकै कुरामा ध्यान दिनुपर्छ । कपालको एक वा दुई इन्च छोडेर मात्र कलर गर्नुपर्छ । जरामा कलर कहिल्यै लगाउनु हुँदैन । नत्र कलरले कपालको जरा कमजोर बनाउँछ । लामो समयसम्म नजाने किसिमले बनाइएको हेयर कलरमा कडा किसिमको रासायनिक तत्व हुन्छ । जसले छालामा एलर्जी गराउन सक्छ ।


कसैलाई कलर गरेको तत्कालै यसको असर देखिन्छ । कसैलाई भने दुई तीन दिनपछि मात्र त्यसको असर देखिन थाल्छ । यस्तो अवस्थामा छालामा फोका तथा बिमिरा देखिने, चिलाउने, रातो हुने, सुन्‍निने जस्ता लक्षण देखिन्छन् । यसले लामो समय छालामा असर गर्न सक्छ । विशेषगरी गर्भवती महिलाले कपाल रङ्गाउनु हुँदैन । आमाले कपालमा लगाएको रङले बच्चाको स्वास्थ्यमा समेत असर गर्छ । त्यस्तै बालबालिकालाई पनि सकेसम्म हेयर कलर गरिदिनु हुँदैन । उनीहरूको छाला संवेदनशिल हुने भएकाले त्यसले उनीहरूलाई असर गर्न सक्छ । 

हेयर कलरले कपालाई टुक्राउने, पातलो बनाउने, हाँगा पलाउने, कपालको चमक हराउने जस्ता समस्या उत्पन्‍न गराउँछ । कतिपय अवस्थामा कपालको जरा नै नस्ट भएर कपाल पुनः आउने संभावना समेत बाँकी रहँदैन । हेयर कलरको असरले कतिपयमा टाउको, कान, घाँटी, आँखा, अनुहार चिलाउने, सुन्‍निने, पोल्ने पनि हुन्छ । कसैलाई पुरै शरीर नै सुन्‍निने समस्या पनि देखिन सक्छ । हेयर कलरले क्यान्सरको जोखिमसमेत निम्त्याउन सक्ने चिकित्सकहरू बताउँछन् । 

कपालमा कलर गर्नै परे कलर गर्नुअघि आफूले प्रयोग गर्न लागेको कलर थोरै हात वा कानको पछाडिको भागमा लगाएर परीक्षण गर्नुपर्छ । यसरी  चेक गर्दा यसले आफूलाई ‘साइड इफेक्ट’ गर्छ वा गर्दैन थाहा हुन्छ । नकारात्मक असर नदेखिए मात्रै कपालमा लगाउनुपर्छ । नत्र यसले स्वास्थ्यमा हानी गर्ने सम्‍भावना देखिन्छ । 


Author

थप समाचार
x