स्वास्थ्य

तिघ्राको घाउ दुख्‍न थालेपछि हिड्दै अस्पताल गएका बिरामीको मृत्यु

उपचारमा ९ लाख खर्च, शव माग्दा थप पैसा मागेपछि अस्पतालमा प्रदर्शन

इकागज |
माघ ७, २०७७ बुधबार १७:५४ बजे

विराटनगर : विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलमा मृतका आफन्तले प्रदर्शन गरेका छन् । मंगलबार उपचारको क्रममा मृत्यु भएका विराटनगर-१९ रानीवर्मा टोलका अन्दाजी ५० वर्षीय विष्णु अर्यालको शव अस्पताल व्यवस्थापकले बक्यौता रकम भुक्तानीको माग गर्दै रोकेपछि पीडित पक्षका आफन्त र स्थानीयले बुधबार प्रदर्शन गरेका हुन् । उनीहरूले ‘कि लास देउ कि सास लेऊ’ भन्दै नाराबाजीसमेत गरेका  थिए । 

उनीहरूले आफूले तिरेको ९ लाख रूपैयाँसहित शव दिन अडान राखेर अस्पतालको प्रवेशद्वारमा प्रदर्शन गरेका हुन् । अन्ततः बक्यौता रकम नलिइ शव फिर्ता गर्ने सहमति भएपछि प्रदर्शन रोकियो । खर्च भएको ९ लाख भने मृतकका आफन्तले फिर्ता पाएनन् । 


घटना कसरी भयो ?

करिब २२ दिनअगाडि तिघ्राको घाउ दुख्‍न थालेपछि घरबाट हिड्दै उपचारका लागि विष्णु नोबेल शिक्षण अस्पताल पुगेका थिए । विभिन्‍न जाँचपछि अस्पतालको इमरजेन्सी वार्डबाट उनलाई थप उपचारका लागि भन्दै आईसीयूमा भर्ना गरियो । दुई सातासम्म कुन रोगको उपचार भइरहेको छ चिकित्सकले कुनै जानकारी दिएनन् ।

बिरामीको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि दुई सातापछि मिगृला फेल भएको भन्दै भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अस्पतालले जानकारी दियो । अर्यालकी श्रीमतीकाअनुसार डायलासिस, भेन्टिलेटर र अक्सिजनलगायतको नाममा अस्पतालले ९ लाख रूपैयाँ लियो । 

उनले भनिन्, ‘सामान्य बिरामीलाई भ्रममा पारेर आईसीयूमा भर्ना गरियो । डायलाईसिस, भेन्टिलेटर र अक्सिजनलगायतको नाममा अस्पतालले ९ लाख रूपैयाँ असुल गर्‍याे । ९ लाख रुपैयाँ लिइसकेपछि मंगलबार तपाईंको बिरामी बचाउन सकिएन भन्दै जवाफ दियाे ।’

तर आफन्त शव लिन जाँदा थप शूल्क तिर्न बाँकी रहेको भन्दै अस्पतालले शव दिन मानेन । बाँकी बिल भुक्तानी गरेपछि मात्रै शव दिने अस्पतालले अडान राख्यो । श्रीमतीकाअनुसार काउन्टरमा बुझ्दा अझैं साढे दुई लाख तिर्न बाँकी देखाइयो । जबकि पहिले बिल नतिरी कुनै जाँचसमेत हुँदैनथ्यो । 

२४ घण्टासम्म शव नदिएपछि स्थानीयको सहयोगमा पीडित परिवारले अस्पतालमा प्रदर्शन गरे । प्रदर्शनपछि बाँकी बिल भुक्तानी नै नगरी शव फिर्ता दिइयो । 


Author

थप समाचार
x