कर्णालीमा अब 'मोबाइल' अस्पताल
सुर्खेत : कर्णालीमा दुईवटा मोबाइल अस्पताल सञ्चालन मा आउने भएका छन् । चालु आर्थिक वर्षबाट अस्पताल सञ्चालन को लागि तयारी गरिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । विकट भौगोलिक क्षेत्र र कमजोर सडक पूर्वाधारका कारण हुने दुर्घटनाबाट मानवीय क्षति कम गर्न मोबाइल अस्पताल सञ्चालन गर्ने तयारी गरिएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका प्रमुख डा.रविन खड्काले कर्णालीका विकट वस्ती र दुरदराजमा पनि स्वास्थ्य सेवाको पहुँच बढाउन अस्पताल सञ्चालन गर्न लागिएको बताए । यसको मुख्य उद्देश्य भनेको बिरामी वा दुर्घटनाका कारण हुने मानवीय क्षति कम गर्नु रहेको खड्काको भनाइ छ । खड्काका अनुसार दुईवटा ठूला ट्रकमा अस्पताल सञ्चालन हुनेछ ।
‘सुरुवातमा एम्बुलेन्सजस्तै दुई वटा ट्रक खरिद गरी त्यसमा अस्पतालको व्यवस्थापन गरिनेछ र त्यसभित्र अस्पतालमा आवश्यक पर्ने सामाग्री तथा ओपिडी, ल्याब, लगायतका सेवाहरु सञ्चालन गरिनेछ’ उनले भने, अस्पतालमा आवश्यक पर्ने औषधि र अन्य सामाग्री त्यसमा रहनेछन् ।’
गाडीभित्र तीन÷चार वटा कोठाको व्यवस्थापन गरेर बिरामी जाँच गर्ने कक्ष तयार गरिने उनले बताए । गाडीभित्र अस्पतालमा आवश्यक पर्ने सम्पूर्ण सामाग्रीको साथै शौचालयको पनि व्यवस्था हुनेछ । खड्काका अनुसार एउटा गाडी कर्णाली राजमार्ग र अर्काे गाडी छिञ्चु-जाजरकोट सडकखण्डमा रहनेछ ।
कर्णालीबासीले सडक पुगेका स्थानमा सहजै स्वास्थ्य सेवा पाउन नसकिरहेको अवस्थामा स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि यो काम प्रभावकारी हुने डा. खड्काले बताए । ‘यसबाट हामीले अकस्मात बिरामीलाई सेवा दिन सक्छौ र जसको कारण मानवीय क्षती हुनबाट जोगाउन सक्छौँ,’ उनले भने, ‘यसमा अकस्मात हुने बिरामीको साथै सुत्केरी महिलाहरुको लागि पनि उपचार गर्ने व्यवस्था गरेका छौँ ।’
अस्पताल सञ्चालन को लागि कर्णाली सरकारले चालु आर्थिक वर्ष २०७७÷०७८ एक करोड ५० लाख रुपैँया बजेट विनियोजन गरेको छ ।‘हाम्रो प्रदेशमा सुविधा सम्पन्न स्वास्थ्य संस्थाहरु धेरै छैनन् । भौगोलिक रुपमा विकट, सडक सञ्जालको अवस्था कमजोर छ,’ खड्काले भने, ‘त्यसैले दुर्घटनाको समयमा घाइतेले समयमै उपचार पाउन सक्ने अवस्था छैन । अब यो सेवाले त्यस्ता व्यक्तिहरुलाई साथ दिनेछ ।’ यो सेवा सञ्चालन को लागि मोवाइल एपको प्रयोग गर्नुको साथै हटलाइन र टोल फ्रि नम्बरकोसमेत व्यवस्थापन गरिने खड्काले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया