स्वास्थ्य

टाइफाइड विरुद्धको खोप : मकवानपुरमा झण्डै २ लाख बालबालिका लाभान्वित हुने

सरिता दाहाल |
चैत २२, २०७८ मंगलबार १६:३४ बजे

मकवानपुर- नेपाल सरकारले २५ चैतदेखि २०७९ को वैशाख भर सञ्चालन गर्न लागेको टाइफाइड विरुद्धको खोप अभियानको तयारी हेटौंडा उपमहानगरपालिकामा पुरा भएको  छ । हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका बालबालिकाहरुलाई अभियान अन्तरगत १ सय १५ वटा विद्यालय र २० वटा स्वास्थ्य केन्द्रहरु मार्फत खोप लगाइने भएको हाे ।

उपमहानगरपालिका आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले पत्रकार सम्मेलन गरि यस्तो जानकारी गराएको हो । १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाइने छ ।


हेटौंडा उपमहानगरपालिका भित्र ५६ हजार ४ सय र मकवानपुर जिल्लामा १ लाख ९८ हजार बालबालिका यो उमेर समूहका रहेका छन् । शाखाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार २५ चैत देखि २०७९ वैशाख अन्तसम्म अभियानको रुपमा यो खोप लगाइने छ भने वैशाखपछि १५ महिला पुरा भएका बालबालिकालाई नियमित खोप अन्तरगत नै समावेश गरि लगाइने छ । तर तोकिएको उमेर समूहका बालबालिका तोकिएको अभियानमा लगाउन छुटेमा यो पछि लगाउन पाइने छैन । “त्यसैले सबैलाई अभियानमा सहभागी हुन अनुरोध गरेका हौं” चौलागाईले भने ।

खोप अभियानमा सहभागी भएर लाभ लिनको लागि २ वर्ष मुनिका बालबालिकाहरुलाई घरघरमा निमन्त्रण कार्ड पठाइएको र २ वर्षभन्दा माथि १५ वर्षसम्मका बालबालिकालाई शिशु स्याहार केन्द्र, मन्टेश्वरी, तथा विद्यालयहरुमार्फत जानकारी गराइएको चौलागाईले बताए ।

यो खोप अन्तराष्ट्रिय मापदण्ड अनुसारको भएकोले कुनै पनि आशंका नगरी खोप लिन उनले आग्रह गरे । मासुमा लागाइने यो खोप २ वर्ष मूनिकालाई तिघ्रामा र २ वर्षमाथिलाई पाखुरामा सुन्य दशमलब ५ एम.एल लगाइनेछ ।

टाइफाइड रोग पानी र खानाको कारण हुने रोगको तेस्रो रोगको कारण हो । नेपालमा प्रत्येक वर्ष ४ लाख ५० हजार जना टाइफाइडको कारण संक्रमित हुने गरेका छन्। उमेर समूहको हिसाबमा यो अन्यको तुलनामा बालबालिबालाई १० गुण बढी संक्रमण हुने रोग हो ।

टाइफाइड पित्तथैलीको क्यान्सरको कारण समेत बन्न सक्दछ, र यो उपचारमा खेर्चिलो हुने गरेको छ। यो अभियानका प्रयोग गरिने खोप ९७ प्रतिशत प्रभावकारी र अन्तराष्ट्रिय मापदण्ड अनुसार रहेको चौलागाईले बताए ।

यो खोपले कुनै अतिरीत्त हानि नगर्ने तर केहीमा सामान्य असर देखिएपनि २४ घण्टा भित्र निको हुने चौलागाईले बताए । सामान्यतः २ देखि ८ डिग्रि सेल्सियस तापक्रममा यो खोपको भण्डारण गरिनु पर्ने, कोभिड विरुद्धको खोप लगाएकाले १४ दिनपछि मात्रै यो खोप लगाउनु पर्ने तर एड्स संक्रमित, सिकिस्त बिरामी, हल्का ज्वरो आएका बिरामीलाई यो खोप दिन नहुने चौलागाईले बताए ।

देशैभर सञ्चालन हुने यो अभियानको थालनी संघीय सरकारका स्वास्थ्यमन्त्री विरोध खतिवडाले मकवानपुरको मनहरी गाउँपालिका–५ स्थित भोजसिद्ध माविको खोप केन्द्रबाट खोप अभियान सुरु गर्ने कार्यक्रम रहेको छ । स्वास्थ्य मन्त्री खतिवडाले २५ चैतमा खोप अभियान सुरु गर्ने छन् ।

ज्वरो साल्मोनेला टाइफी र पाराटाईफी ‘ए’, ‘बी’ तथा ‘सी’ प्रजातिका ब्याक्टेरियाको संक्रमणका कारणले टाइफाइड रोग व्यक्तिमा सर्ने गर्छ । टाइफाइड सबै व्यक्तिमा संक्रमण हुने रोग होे । गर्मी महिना लागेपछि टाइफाइडको संक्रमण बढी हुने गर्दछ । दुषित खाना तथा दुषित पानीको सेवनले यो रोगको संक्रमण हुने गरेको छ । टाइफाइड संक्रमणका मुख्य लक्षण उच्च मात्रामा ज्वरो आउनु, खान मन नलाग्नु, पेट दुख्नु, वान्ता आउन सक्ने स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
--


Author

थप समाचार
x