घटना-दुर्घटना

चितुवाको आक्रमणबाट तनहुँमा तीन वर्षमा ११ बालबालिकाको मृत्यु

इकागज |
जेठ ३१, २०७९ मगलवार १५:२७ बजे

फाइल फोटो

तनहुँ - तनहुँमा चितुवाको आक्रमणबाट तीन वर्षयता एघार बालबालिकाको मृत्यु भएको छ । जिल्लाको भानु, बन्दिपुर, आँबु, व्यासलगायतका पालिकामा गरी चितुवाको आक्रमणबाट उक्त सङ्ख्यामा बालबालिकाले ज्यान गुमाएका हुन् । चितुवाको आक्रमणबाट आधादर्जन बढी बालबालिका घाइते भएका थिए । 

जसमध्ये सबैभन्दा धेरै भानु नगरपालिकामा प्रभावित भएको छन् भने पछिल्ला दिनमा बन्दीपुर क्षेत्रमा पनि चितुवाको आतंक बढ्न थालेको छ । 


शनिबार बन्दीपुर गाउँपालिका–१ बागदलेस्थित वनमा चितुवाको आक्रमणबाट दुई जनाको आक्रमण गरी घाइते बनाएपछि पासो थापिएको छ । बन्दीपुरमा शनिबार ८ वर्षीया बालिका रियाना थापा र ३५ वर्षीया भीमलाल गरञ्नालाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो ।

तनहुँको बन्दीपुर क्षेत्रमा चितुवाको आतंक बढ्न थालेपछि डिभिजन वन कार्यालय तनहुँको सक्रियतामा चितुवा नियन्त्रणको लागि खोर थापिएको हो । 

वनको खोरमा बाख्रा समेतको पासो राखिएको छ । बाख्रा खान जाँदा चितुवा पासोमा पर्ने हुँदा नियन्त्रणको लागि सहज हुने डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । 

वडा कार्यालयको आग्रहमा डिभिजन वन कार्यालयसँग सहकार्य गरी चितुवा नियन्त्रणको प्रयास गरिएको बन्दीपुर १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए । 

उक्त क्षेत्रमा चितुवाको आङ्तकले जनमानसमा त्रासको वातावरण बनेकाले चितुवा नियन्त्रण गरी सुरक्षित साथ वन्यजन्तु संरक्षण क्षेत्रमा पठाउन प्रयास गरिएको उनले बताए । 

डिभिजन वन कार्यालयले पनि एक पटक आक्रमण भएको ठाउँमा चितुवाले पुनः आक्रमण गर्ने सम्भावना रहने हुँदा सतर्कताको लागि चितुवा नियन्त्रणको पहल गरिएको अध्यक्ष श्रेष्ठले बताए । 

डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलप्रसाद काफ्लेले बिहान बेलुकाको समयमा उच्च सर्तकता अपनाउन सर्वसाधारणमा आग्रह गरिएको बताए । रासस


Author

थप समाचार
x