घटना-दुर्घटना

गायिका दिलमाया मृत्यु प्रकरण : घटनामा संलग्न भएकाे आशंकामा एक पक्राउ, झन् झन्  रहस्यमय

इकागज |
असार १२, २०७९ आइतबार १७:२ बजे

काठमाडौँ- लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरण रहस्यमय बनेको छ । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको भनिएको ‘सुसाइट नोट’भन्दा घटना प्रकृति फरक देखिएपछि प्रहरीले गायिका सुनारको मृत्यु प्रकरणबारे गम्भीररुपमा अनुसन्धान थालेको छ ।    
    
गायिका सुनार काठमाडौँको बाँनियाटारस्थित आफ्नै कोठामा शनिबार मृत भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार राति गायिका सुनारको फेसबुकबाट आफूलाई बाँच्न गाह्रो भएको र जतिबेला जे पनि हुनसक्छ भनेर स्टेटस सार्वजनिक भएको थियो ।
    
उक्त स्टेटसमा आफूले नै यो कदम चालेको र कसैलाई दोष नदिन अनुरोधसमेत गरिएको छ, तर स्टेटसभन्दा घटना प्रकृति निक्कै फरक रहेको र आत्महत्या जस्तो नदेखिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतको भनाइ छ ।    
    
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीको भनाइले पनि उक्त विषयलाई पुष्टि हुने देखिन्छ । उनले घटना रहस्यमय रहेकाले थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।    
    
 “घटना शङ्कास्पद देखिएको छ, शव परीक्षण रिपोर्ट आएपछि थप कुरा खुल्छ, अहिले प्रहरीले अनुसन्धान जारी राखेको छ”, मैनालीले  भने । गायिका सुनारको शवलाई अहिले परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मैनालीका अनुसार घटनामा संलग्न रहेको आशङ्कामा एक जना पक्राउ परे पनि नाम खुलाइएको छैन । प्रहरी स्रोतले गायिका सुनारको हत्या आशङ्का गरेको छ । त्यसैले अहिले घटनामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलेसमेत अनुसन्धान थालेको छ ।    
    
सुर्खेत घर भएकी गायिका सुनारका एक छोरा रहेका जनाइएको छ । पतिसँग डिभोर्स गरेर एक्लै बस्दै आएको खुलेको छ । गायिका सुनारसँग एक जनाको सम्बन्ध रहेको र उसैले हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शनिबार बिहान काठमाडौँको नेपालटारस्थित उनको कोठामा ती व्यक्ति पुगेको पाइएको र त्यही आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ ।    
    
गायिका सुनारको मृत्युको विषयमा निष्पक्ष छानविनका लागि लोकदोहोरी कलाकारले प्रहरीमा दबाव दिन थालेका छन् । उनीहरुले प्रहरीवृत्त बालाजु पुगेर घटनाको सत्यतथ्य छानविन गरी दोषीउपर कारवाहीको माग गरेका छन् । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले घटना कर्तव्य गरेर मारिएको जस्तो देखिएकाले आफू सत्यतथ्य छानविनको मागसहित प्रहरी कार्यालयमा आएको जानकारी दिए । अध्यक्ष बिजीले आफन्त आइसकेपछि जाहेरी दिने तयारी गरिएको पनि बताए।    
    
प्रहरी स्रोतका अनुसार घटनास्थलमा गायिका सुनारको मोबाइलसमेत भेटिएको छैन । घाँटीमा डोब देखिए पनि घटनास्थलभन्दा बाहिर सल फेला परेकाले पनि घटना थप शङ्कास्पद बनाउन बल पुर्‍याएको छ । “न्यायपूर्ण ढङ्गले छानबिन होस् र दोषीलाई कारवाही होस् भनेर नै हामी प्रहरीमा आइपुगेका हौँ”, बिजीले भने ।    
    
गायिका सुनारको स्टेटसमा आफैँले घटना घटाएकाले कसैलाई दोष नदिन भनिए पनि त्यो दबावमा लेखिएको वा अरुले नै लेखिदिएको हुनसक्ने आशङ्का गरिएको छ । अध्यक्ष बिजीले भने, “मोबाइल नभेटिएकाले मृत्युपछि स्टेटस अरुले नै लेखेको पनि हुनसक्छ या मृत्यु अघि धम्क्याएर लेख्न लगाएको पनि हुनसक्छ त्यसबारे गम्भीर अनुसन्धान हुनु जरुरी छ ।”    
    
सुनार लाइभ तथा अनलाइन दोहोरीमा सक्रिय गायिका थिइन् । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले केही समय अघि काठमाडौँमा आयोजना गरेको छैठौँ खुला राष्ट्रिय रनिङशिल्ड लोकदोहोरी गीत प्रतियोगितामा सुनार उत्कृष्ट गायिका घोषित भएकी थिइन् । गायिका सुनार राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सुर्खेतको सदस्य थिइन् ।    रासस
 



Author

थप समाचार
x