घटना-दुर्घटना

खोटाङमा विद्यालय गएका छात्र खोलामा मृत फेला

इकागज |
असार १२, २०७९ आइतवार २१:४४ बजे

खोटाङ- खोटाङमा विद्यालय गएका छात्र चार दिनपछि खोलामा मृत फेला परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका १३ वर्षीय छात्र रविन दाहाल स्थानीय अखम्कु खोलामा मृत फेला परेका हुन् । गत ८ असारमा बिहान ९ बजे विद्यालय हिँडेका छात्र आइतबार खोलाको सानो दहमा मृत फेला परेको स्थानीय राजन भट्टराईले बताए । 

छात्र कालिका माविमा कक्षा ९ मा अध्ययनरत थिए । विद्यालय गएका छात्र घर नफर्किएपछि खोजी भइरहेको थियो । धान रोप्‍नका लागि कुलो सफा गर्न गएका स्थानीयले बालकको शव दहमा डुबिरहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरिएको थियो । पोष्टमार्टमका लागि शव आइतबार साँझ जिल्ला अस्पताल पुर्‍याइएको छ । 


बाटोमा पर्ने खोलामा वारपार गर्न काठे पुल लगाइएको छ । सोही काठेपुलभन्दा माथिको सानो दहमा छात्रको नांगो शव फेला परेको हो । उनको लुगा फुकालेर खोला किनारमा राखेको पाइएको छ । सो दहमा केटाकेटी पौडी खेल्ने गरेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x