घटना-दुर्घटना

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका अध्यक्ष चढेको गाडी दुर्घटना

इकागज |
साउन ८, २०७९ आइतवार १३:३५ बजे

विराटनगर । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईसहित तीनजना सवार बोलेरो आइतबार बिहान उदयपुरमा दुर्घटनामा परेको छ । झापाबाट सोलुखुम्बु जाँदै गरेको प्रदेश ३–०१–०२३ च ८०५८ नम्बरको बोलेरो मदन भण्डारी राजमार्ग अन्तरगत त्रियुगा नगरपालिका–७ चिसापानीमा सडकबाट उछिट्टिएर धानखेतमा पल्टिएको हो ।

दुर्घटनामा परी गाउँपालिका अध्यक्ष ५४ वर्षीय राईको कानको छेउ र अनुहारमा चोट लागेको छ । धान खेतको हिलोमा पल्टिएको बोलेरोको सिसा फुटाएर स्थानीयले उद्दार गरेका हुन् । बिहानैदेखि पानी परेका कारण सडकमा यातायात साधनको चाप कम रहेको र गाडी तिब्र गतिमा रहेका कारण दुर्घटना भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।


गाडी धनी नेचासल्यान–१ का ३२ वर्षीय झमक विक आफैंले गाडी चलाएका थिए । उनको घाँटीमा सामान्य चोटपटक लागेको जनाइएको छ । इटहरीबाट उक्त गाडी चढेका अर्का एकजनाको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

अध्यक्ष राई र चालक विक दुवैजनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटका प्रमुख बरिष्ठ प्रहरी नायव निरीक्षक लोकबहादुर दियालीले जानकारी दिए ।


Author

थप समाचार
x