घटना-दुर्घटना

बझाङ मृत्यु प्रकरण : घटनास्थल पुगेर सीआईबीको टोलीले अनुसन्धान थाल्याे

इकागज |
साउन २७, २०७९ शुक्रबार १८:४० बजे

कैलाली- गत बुधबार बझाङको बुंगल नगरपालिका-९ रारुमा एकै परिवारका तीन जना मृत भेटिएको घटना अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) परिचालन भएको छ । प्रहरीनिरीक्षक नेतृत्वको सीआईबीको टोली घटनाको अनुसन्धानका लागि घटनास्थल बझाङ पुगेर अनुसन्धान थालेको छ । 

बझाङ​ पुगेर सीआईबीको टोलीले घटनास्थल पुग्‍ने अवलोकन गर्ने, स्थानीय तथा माइती पक्ष र आरोपितको पृष्ठभूमिलगायतका बारेमा सो घटनाको अनुसन्धान थालेको छ । सीआईबीको टोली कंचनपुरमा निर्मला हत्या काण्डको विषयमा अनुसन्धानमा खटिएको टोली रहेको बताइएको छ । 


बुंगल नगरपालिका-९ रारुकी २२ वर्षीया गीता पार्की, ५ वर्षीया छोरी भूमिका र ३ वर्षीय छोरा रोहीतसँगै झुन्डिएको अवस्थामा गत बुधबार मृत भेटिएकी थिइन् ।

मृतकहरूको शव जिल्ला अस्पताल चैनपुरमा पोस्टर्माटमपछि आफन्तले बुझेर लगेका छन् ।

मृतक गीताको माइती पक्षले श्रीमान् पुष्कर पार्कीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त प्रमुख प्रहरी निरीक्षक रमेश अवस्थीले बताए । उनले पुष्करलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जानकारी दिए ।


Author

थप समाचार
x