घटना-दुर्घटना

जलेश्वरमा पहिरोमा लडेर एक जनाको मृत्यु

इकागज |
साउन २८, २०७९ शनिबार १८:५३ बजे

फाइल फोटो

खोटाङ - खोटाङमा हप्ता दिनअघि पहिरो गएको ठाउँबाट लडेर एक जनाको मृत्यु भएको छ । ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरी माझगाउँमा गत २१ साउनको राती पहिरो गएपछि बनेको भिरबाट खसेर सोही ठाउँका ४७ वर्षीय भोजकुमार राईको शनिबार मृत्यु भएको हो । 

भीरबाट करिब डेढ सय मिटर तल खसेका राईको घटनास्थलमै मृत्यु भएको स्थानीय जनकल्याण आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष धनकुमार राईले बताए । उनी तल्लो गाउँमा झरेर घर निस्कने क्रममा पहिरोबाट खसेका हुन् । 


करिब चार सय मिटर चौडाइमा फैलिएको पहिरो करिब सात सय मिटर तल मेकुखोलामा थुप्रिएको छ । पहिरो गएको ठाउँमा डरलाग्दो भिरालो भिर निस्किएको छ । आवत–जावत गर्ने मानव तथा गाईवस्तुलाई भिरबाट जोगाउन स्थानीयले पहिरोको शिरमा बाँसको घेराबार हालेका छन् । तर घेराबार नाघेर हिँड्ने क्रममा राई भीरबाट लड्न पुगेको प्रहरीले जनाएको छ । पहिरोले भौतिक क्षति भएको हप्ता दिनपछि नै मानवीय क्षति भएको अध्यक्ष राईले बताए । 

जलेश्वरीमा गएको पहिरोले एक करोड ५० लाखको क्षति भएको अनुमान गरिएको छ । पहिरोले साल, सल्ला र बाँस भएको वन, बारी, खरबारी, सडक लगायत बगाउँदा डेढ करोड बराबरको क्षति भएको अनुमान गरिएको ऐँसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राई बताउँछन् । 

पहिरोका कारण रुद्रबहादुर राई, अधिराज राई, ललितकुमार राई, चन्द्रबहादुर राई लगायतका ११ घर उच्च जोखिममा परेको छ । स्थानीय जनकल्याण आधारभूत विद्यालय समेत जोखिममा परेको छ ।


Author

थप समाचार
x