घटना-दुर्घटना

चार महिनामा विपद्का घटनाले लियो १५७ जनाको ज्यान, ८५ करोडभन्दा बढीको क्षति

इकागज |
भदौ १, २०७९ बुधबार १६:३७ बजे

फाइल फोटो

काठमाडौँ - विपद्का घटनामा परी पछिल्लो चार महिनामा १५७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाख १ गतेदेखि साउन मसान्तसम्मको अवधिमा भएका विपद्का घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् । 

सो समयमा १ हजार ४२१ वटा विपद्का घटना रेकर्ड भएका थिए । ती घटनामा परी १५७ जनाको मृत्यु, ३ जना वेपत्ता ३७७ जना घाइते भएको प्राधिकरणले जनाएको छ । 


बितेको चार महिनामा सबैभन्दा बढीको मृत्यु चट्याङका कारण भएको छ । यसवर्ष चट्याङ लागेर ५६ जनाको मृत्यु भइसकेको छ । चट्याङ लागेर १४९ जना घाइते भएका छन् । 

प्राधिकरणका अनुसार गत वैशाखदेखि साउनसम्म पहिरोमा परी २८, बाढीमा परी ८, सर्पको टोकाइबाट १५, आगलागीमा परी १९, भारी वर्षाका कारण ५, हुरीबतासका कारण ९, जनावरको आक्रमणबाट १६ र वन डढेलोमा परी १ जनाको मृत्यु भएको छ । 

विपद्का घटनाबाट यस वर्ष १ हजार ८ सय घरपरिवार प्रभावित भइसकेका छन् । पछिल्लो चार महिनामा विपद्का घटनाले ८५ करोड ३७ हजार ८६० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ । 

आगलागीका घटनाले सबैभन्दा ठूलो आर्थिक क्षति गरेको प्राधिकरणको तथ्यांकले देखाउँछ । आगलागीका घटनाबाट यस अवधिमा ७० करोड ९९ लाख ८५ हजार ९६० रुपैयाँको आर्थिक क्षति गरेको छ । 

प्राधिकरणको तथ्यांक अनुसार पछिल्लो चार महिनामा पहिरोले ६ करोड ५७ लाख ७७ हजार ७ सय रुपैयाँ, बाढीले १ करोड ७ लाख ४२ हजार रुपैयाँ, चट्याङले ३० लाख ७४ हजार रुपैयाँ, भारी वर्षाले १ करोड ८७ लाख ४२ हजार ८ सय रुपैयाँ, हुरीबतासले २ करोड ५४ लाख ११ हजार ८ सय रुपैयाँ, भूकम्पले ८ लाख ३० हजार रुपैयाँ, जनावरको आक्रमणबाट ३० लाख ८८ हजार ६ सय रुपैयाँ र वन डढेलोबाट १ करोड २३ लाख ८५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ । 

अघिल्लो वर्ष अर्थात २०७८ सालको सोही अवधि (वैशाखदेखि साउनसम्म) मा १ हजार ४५४ वटा विपद्का घटना रेकर्ड भएका थिए । ती घटनामा परी १७५ जनाको मृत्यु, ४० जना वेपत्ता र ३८७ जना घाइते भएका थिए । सो अवधिमा विपद्का घटनाबाट १ हजार ९२३ परिवार प्रभावित भएका थिए भने ८९ करोड ४० लाख ४८ हजार ९४२ रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो । 


Author

थप समाचार
x