घटना-दुर्घटना

वर्षासँगै आएको बाढीमा परी कैलालीमा एक बेपत्ता, दुई घाइते

इकागज |
असोज १, २०७९ शनिबार २१:१३ बजे

फाइल तस्बिर

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिका–१३ झलारी खोलामा आएको बाढीमा डुबेर २० वर्षीया नवीना चौधरी बेपत्ता भएकी छन् । वर्षासँगै खोलामा आएको बाढीको मौका छोपेर माछा मार्ने क्रममा नवीना डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । निजको खोजी जारी रहेको प्रहरीले जनाएको छ । 

वर्षासँगै भएको डुबानले घर भत्किँदा कैलाली जिल्लाको टीकापुर नगरपालिकामा एक र चुरे गाउँपालिकामा पहिराेले घर भत्किँदा एक जना गरी दुई जना घाइते भएका छन् । 


जिल्ला प्रहरी कार्यालयका अनुसार टीकापुर नगरपालिका–२ मा कच्ची घर भत्किँदा २२ वर्षीय शिशिर चौधरी घाइते भएका छन् । टीकापुर अस्पतालमा उपचाररत उनको अवस्था सामान्य रहेको छ । यस्तै जिल्लाको पहाडी क्षेत्रको चुरेगाउँपालिका–३ का स्थानीय रामप्रसाद सापकोटाको घर पसल माथिबाट खसेको पहिराेमा परी उनका आठ वर्षीय छोरा आयुस घाइते भएका छन् । 

पहिराेले टिनको छाना भएको घर पसलमा क्षति पुगेको छ । घाइते बालकको अवस्था सामान्य छ । बाढी र डुबानका कारण जिल्लाको भजनी र लम्कीचुहा नगरपालिका, चुरे, जोशीपुर र जानकी गाउँपालिकामा गरी झण्डै एक हजारभन्दा बढी घरपरिवार प्रभावित भएको प्रारम्भिक आंकलन छ । वर्षासँगै कैलालीको लम्कीचुहा नगरपालिकाका विभिन्न वडाका एक सय १७ घरमा पानी पसेपछि घरभित्र राखिएको धनमालमा क्षति पुगेको छ ।

कैलारी गाउँपालिकाका विभिन्न वडामा गरी एक सय १५ घरमा पानी पसेर क्षति पुगेको छ । डुबानबाट विस्थापितलाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा राखेको छ । सोही गाउँपालिकाको वडा नं ३ मा रहेको खोनपुरस्थित मोहना नदीमा निर्माणाधीन झोलुङ्गे पुलका पिलर बाढीले भत्किएर क्षति पुगेको छ ।

स्थानीय मानबहादुर चौधरीले कैलारी गाउँपालिकाको विभिन्न वडामा गरी झण्डै छ सय घर डुबानमा परेको बताए । उनले भने, 'मोहनाको बाढीले नदी आसपासको अधिकांश बस्ती डुबेको छ, धेरै परिवार विस्थापित भएको छ ।'

धनगढी उपमहानगरपालिका–१३ को श्रीलङ्का गाउँमा मोहना नदीको डुबानमा परी विस्थापित भएका १४ घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा राखिएको छ । गोदावरी नगरपालिकामा डुबानमा परेका घरका सदस्यको उद्धार गरिएको छ । जोशीपुर गाउँपालिकास्थित काँडा नदीमा आएको बाढीका कारण डुबानमा परेका भित्रिया, फाडिया, मनिकापुर, हस्नापुर, बन्जरियालगायत गाउँका तीन सय घरपरिवार विस्थापित भएका छन् ।

पथरैया नदीको बाढीले जोशीपुर गाउँपालिकाको खैरेनी गाउँका ९० भन्दा बढी घर डुबानमा परी विस्थापित भएका छन् । डुबानमा परी जिल्लामा दुई सय ५१ पशुचौपाया मरेका छन् ।


Author

थप समाचार
x