घटना-दुर्घटना

बाढीले कर्णाली राजमार्गमा समस्या

इकागज |
असोज २, २०७९ आइतवार १४:१८ बजे

सुर्खेत- शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले सुर्खेत पश्चिमका धेरै ठाउँमा क्षति गरेकाे छ । जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चैकुने गाउँपालिकाका धेरै स्थानका बस्तीमा बाढी पसेको हो ।

चौकुने गाउँपलिका–८ भाम्लेमा आएको बाढीले १२ वटा घरहरूमा क्षति पुर्‍याएको छ । चौकुनेकै वडा नम्बर ९ रागमा विद्यापुर खोलाबाट आएको बाढी बस्तीमा पस्दा घर डुबानमा परेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए ।


उनका अनुसार उक्त स्थानमा करिब १० वटा घरहरूमा क्षति पुगेको छ। साथै चौकुनेकै ४ नम्बर वडाका केही बस्तीहरूमा बाढीले क्षति गरेकाे छ । ‘चौकुने ४ मा २ वटा घर उच्च जोखिममा रहेका छन् । ३ नम्बर वडाको गोर्भामा आएको पहिरोले ७ वटा घर उच्च जोखिममा रहेका छन् भने बेतान खोलबाट आएको बाढीले ३ सय रोपनी खेत बगरमा परिणत भएको छ । चौकुने १० घाट गाउँमा आएको बाढीले केही घरहरू उच्च जोखिममा रहेका छन्,’ उनले भने । 

चौकुने अध्यक्ष विकले बाढीमा परेर हालसम्म कुनै मानवीय क्षति नभएको बताए । उनले बाढीबाट प्रभावित स्थानीयहरूलाई उद्धार गरेर सुरक्षित स्थानमा सार्ने र पाल तथा खाद्यान्नको व्यावस्थापन गरिरहेको र पीडितहरूलाई थप आवश्यकता अनुसारको राहत वितरण गर्ने तयारी रहेको जानकारी दिए । साथै बाढी र पहिरोले चैकुने गाउँपालिका भित्रका सबै ठाउँमा सडक अवरुद्ध गरेको छ ।

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, दैलेख सडक पनि प्रभावित

अविरल वर्षासँगै खसेको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको बड्डीचौर–तल्लोडुंगेश्वर सडक खण्डको कल्यानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी सुरज कार्कीले जानकारी दिए । उनकाअनुसार अवरुद्ध सडक खुलाउन डोजर पठाइएको छ ।

यता, सुर्खेत दैलेख सडक खण्डको गोठीकाँडामा खसेको पहिरोका कारण ठूला सवारी साधन अवरुद्ध बनेका छन् । ठूलो ढुंगा सडकमा खसेपछि साना सवारी बाहेक ठूला सवारी सञ्चालनमा कठिनाइ रहेको प्रवक्ता कार्कीले बताए । ढुंगा हटाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x