घटना-दुर्घटना

कुखुरा चोर्ने लत लागेका किशोरले सिक्री चोर्ने निहुँमा वृद्धाको हत्या गरे

इकागज |
असोज ४, २०७९ मंगलबार १८:१ बजे

काठमाडौँ- ६४ वर्षीया वृद्धाको हत्या गर्ने १८ वर्षीय किशोरलाई प्रहरीले सार्वजनिक गरेको छ ।

सुनसरीको धरान २० मा भदौ २९ गते ६४ वर्षीया पूर्णसरी राईको हत्या गर्ने १८ वर्षीय नकुल राईलाई प्रहरीले आज (मंगलबार) सार्वजनिक गरेको हो । उनले हत्या गरेको स्वीकारेसँगै चोरी र लुटपाटका क्रममा वृद्धाको हत्या भएको खुलेको प्रहरीले बताएको छ । सानो छँदा कुखुरा चोर्ने लत लागेका किशोरले सिक्री चोर्ने निहुँमा वृद्धाको हत्या गरेको प्रहरीले जनाएको छ ।


घरमा पूर्णसरी मृत भेटिएसँगै अनुसन्धान थालेको प्रहरीले दुई दिनअघि मोरङबाट नकुललाई पक्राउ गरेसँगै हत्याको घटनामा चोरी तथा लुटपाट प्रमुख कारण रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले बताए । घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले हत्यामा संलग्न धनकुटा घर भएका राई र सिक्री लुकाउन सघाउने भोक्राहा नरसिंहका २० वर्षीय युवक रञ्जितकुमार साहलाई समेत सार्वजनिक गरेको बताए ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार नकुलले एक हप्ता अघिबाटै चोरीको योजना बनाएका थिए । सोहीअनुसार गहना लुट्ने क्रममा वृद्धाउपर खुकुरी प्रहार गरी गहना लुटेर फरार थिए । उनी लागूऔषध सेवनकर्तासमेत रहेको पाइएको प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरीले पक्राउ परेको दुवै उपर कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको जनाएको छ ।   


Author

थप समाचार
x