टिपरले ठक्कर दिएर बालिकाको मृत्यु भएपछि प्रहरी कार्यालय तोडफोड

फाइल फोटो
सप्तरी - रुपनी गाउँपालिकास्थित रुपनी चोकमा आज टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि आक्रोशित भीडले स्थानीय प्रहरी कार्यालयमा तोडफोड गरेको छ ।
रुपनी गाउँपालिका १ राजविराज–रुपनी सडक खण्डमा ना १ क ८५४२ नं को टिपरले विद्यालय जाँदै गरेकी स्थानीय शंकर यादवकी १२ वर्षीया छोरी रीताकुमारी यादवलाई ठक्कर दिएको थियो । सो ठक्करबाट सामान्य घाइते भएकी बालिकालाई टिपर चालकले टिपर ब्याक गरेर हत्या गरेको भन्दै स्थानीय बासिन्दा आक्रोशित भई स्थानीयवासीले प्रहरी कार्यालयभित्र प्रवेश गरेर टिपर र इलाका प्रहरी कार्यालयमा तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो ।
तोडफोडबाट प्रहरी कार्यालयमा ढोकासहितका फर्निचर सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दासहितको आक्रोशित भीडले पूर्व–पश्चिम सडकको रुपनी खण्डमा टायर बालेर प्रदर्शन गरिरहेको छ । प्रहरी कार्यालयमा भएको तोडफोड नियन्त्रण गर्न प्रहरीले आठ राउन्ड अश्रुग्यास र १० राउन्ड हवाई फायर गरेको छ ।
यता घटनालाई नियन्त्रणमा लिन र स्थिति साम्य बनाउन सदरमुकाम राजविराजस्थित जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंह नेतृत्वको टोली घटनास्थलमा परिचालन भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । बालिकाको ज्यान लिने टिपर चालकमाथि कारबाही तथा क्षतिपूर्तिको माग राख्दै प्रदर्शन जारी राखेका छन । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया