घटना-दुर्घटना

सिरहामा छात्राको मृत्युपछि आक्रोशित भीडको ढुङ्गामुढाबाट डीएसपीसहित आठ प्रहरी घाइते

इकागज |
पुस २४, २०७९ आइतवार २१:५० बजे

सिरहा - मिर्चैया–३ स्थित सागरमाथा माविमा कक्षा ८ मा अध्ययनरत एक छात्राको मृत्युपछि आक्रोशित भीडकोे ढुङ्गामुढाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीसहित आठ प्रहरी घाइते भएका छन् । 

बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया बजार क्षेत्रमा सडक जाम खुलाउने क्रममा पटकपटक झडप भएको थियो । भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले अश्रुु ग्यास र गोलीसमेत चलाउनुपरेको थियो । 


झडपमा आन्दोलनकारीले पेट्रोल बमसहित ढुङ्गामुढा प्रहार गरेको मिर्चैया प्रहरी कार्यालयले जनाएको छ । आन्दोलकारीको प्रहारबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रामकुमार चौधरी गम्भीर घाइते हुनुभएको डिएसपी वलीले जानकारी दिए । 

चौधरीको उपचारका लागि काठमाडौँ रेफर गरिएको र अन्यको स्थानीय मङ्गलम अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । आन्दोलनकारीका तर्फबाट पेट्रोल बम प्रहार गर्ने दुई व्यक्ति प्रहरी नियन्त्रणमा रहेको र आन्दोलनकारीतर्फ कुनै क्षति नभएको प्रहरी प्रवक्ता एवं सिरहाका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । 

विद्यालयको लापरबाहीका कारण छात्रा सिर्जनाकुमारी महराको उपचारको क्रममा गएराति निधन भएको थियो । अहिले राजमार्गमा सवारीसाधन आवतजावत सुचारु रहेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए । रासस


Author

थप समाचार
x