घटना-दुर्घटना

पोखरा जहाज दुर्घटना

२२ शव आफन्तलाई बुझाइयो, ४८ शव परीक्षण गरिँदै

इकागज |
माघ ४, २०७९ बुधबार ९:२९ बजे

गण्डकी - पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरूका परिवारजनलाई बुझाइएको छ । 

पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । उनका अनुसार मङ्गलबार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । दुर्घटनामा परेका एक जनाको स्थिति अझै अज्ञात छ । यसअघि मङ्गलबार नै ४८ शवलाई काठमाडौँस्थित शिक्षण अस्पताल पुर्‍याइएको थियो ।


पहिचान र सनाखत हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव काठमाडौँमा परीक्षण हुनेछ । शव क्षतविक्षत भएका कारण पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्ने भएकाले आफन्तले शव पाउन अझै केही दिन लाग्ने देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले दुर्घटनामा बेपत्ता एक व्यक्तिको खोजीकार्य भइरहेको बताए । मङ्गलबार पनि दिनभर गोताखोर र ड्रोन प्रयोग गरेर शवको खोजी गरिएको थियो । सेती नदीको पानीको सतह घटाएर खोजी गर्दा दुर्घटनास्थलभन्दा दुई किलोमिटर तल एउटा शव फेला परेको हो ।

“सोमबार शव खोज्दा हात, करङ र टाउकाको भाग छुट्टाछुट्टै भेटिएको थियो, त्यो दुई व्यक्तिको हो वा एउटैको हो, पत्ता लागाउने काम भइरहेको छ”, उनले भने । ६८ यात्रसहित चार चालकदलका सदस्य लिएर आइतबार काठमाडौँबाट पोखराका लागि उडेको जहाज सेतीखोँचमा खसेको थियो ।  

विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौँ ल्याएर परीक्षण गर्न थालिएको छ । नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मङ्गलबार दिउँसो काठमाडौँ ल्याइएका शव केहीबेर अघिदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण गर्न थालिएको यती एयरलाइन्सले जनाएको छ ।

मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम मङ्गलबार सकिएपछि आज बिहानैदेखि शव परीक्षण सुरु गरिएको सो अस्पतालले जनाएको छ । कतिपयको शव पहिचानसमेत हुन नसकेकाले डिएनएका आधारमा पहिचान गरेर परीक्षणपश्चात एकैपटक मृतकका परिवार तथा आफन्तलाई हस्तान्तरण गरिने बताइएको छ ।

चालकदलका सदस्यसहित ७२ जना सवार उक्त विमान दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको बाँकी एक व्यक्ति अझै बेपत्ता रहेकाले खोजीकार्य जारी रहेको यती एयरलाइन्सले जनाएको छ ।


Author

थप समाचार
x