घटना-दुर्घटना

ग्यास सिलिण्डरबाट आगो लाग्यो यसरी निभाउनुस्

इकागज |
चैत ३, २०७९ शुक्रबार २०:३४ बजे

खोटाङ - सशस्त्र प्रहरीले खोटाङको दिक्तेलबजारमा ग्याँस सिलिण्डरबाट सुरु भएको आगो तथा शरीरमा लागेको आगो निभाउने अभ्यास प्रदर्शन गरेको छ ।

घर–घरमा प्रयोग भइरहेको ग्याँस लिक भएर आगलागीका घट्ना बढिरहेको सन्दर्भमा सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ गुल्म हलेसी, खोटाङले दिक्तेलको पुरानो बेस क्याम्पमा आगलागी नियन्त्रण प्रयास सम्बन्धी जनचेतनामुलक अभ्यास प्रदर्शन गरेको हो । 


 सशस्त्र प्रहरीले ग्याँस सिलिण्डरबाट बलेको आगोलाई भिजाएको कम्बलले बेरेर निभाउने तरिका प्रदर्शन गरेर देखाएका थिए । दर्शकका रुपमा उपस्थित स्थानीयलाई पनि सिलिण्डरबाट ग्याँस लिक भएर बलिरहेको आगो निभाउने अभ्यास गराइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म, हलेसी, खोटाङले दिक्तेलका डीएसपी श्याम रावतले बताए । 

यस्तै, सशस्त्र प्रहरीले आत्मदहको प्रयास गरेका वा अन्य कारणले शरीरमा आगो लागिरहेका अवस्थाका व्यक्तिलाई जोगाउने अभ्यास प्रदर्शन गरेर देखाएको छ । जलिरहेको व्यक्तिलाई भिजेको कम्बलले बेरेर भुईँमा सुरक्षित रुपमा सुताएर आगो निभाउनेदेखि प्राथमिक उपचार गरेर स्वास्थ्य संस्था लैजाने विधि बारे प्रदर्शन गरिएको छ । आगो निभाउने विधि सम्बन्धी प्रदर्शनलाई स्थानीय एवं विद्यार्थीले अवलोकन गरेका थिए ।

ग्याँस सिलिण्डर लिक हुँदा लाग्ने आगो तथा शरीरमा लागेको आगो निभाउने अभ्यासलाई आगामी दिनमा पनि निरन्तरता दिइने सशस्त्र प्रहरी बलका डीएसपी रावतले बताए । 


Author

थप समाचार
x