घटना-दुर्घटना

जलिरहेको अवस्थामा फेला परेका विद्यालयका लेखापालको मृत्यु

इकागज |
जेठ २१, २०८० आइतबार ६:३८ बजे

विराटनगर । जलिरहेको अवस्थामा फेला परेका मोरङको सुन्दरहरैंचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल मनिल ढकालको उपचारका क्रममा मृत्यु भएको छ । 

विद्यालयको शौचालयमा जलिरहेको देखेपछि स्थानीयले प्रहरीको सहयोगमा उनको उद्दार गरी तत्कालै उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्‍याएका थिए । कोशी अस्पतालले थप उपचारका लागि काठमाडौंंस्थित वर्न हस्पिटलमा रेफर गरेकोमा उपचारका लागि लैजाने क्रममा शनिबार साँझ ढकालको मृत्यु भएको सोही विद्यालयका शिक्षक कुलविर खवासले बताए ।


लेखापाल ढकालले बिषादीजन्य वस्तु सेवन गरेपछि आफैं चढ्ने प्रदेश १–०२–०४३ प २४४९ नम्बरको मोटरसाइकलबाट पेट्रोल निकालेर आफैंलाई खन्याएर आगो लगाएको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ । विद्यालयको शौचालयमा बिषादीको खाली बट्टा र पेट्रोल खन्याइएको बोतल समेत फेला परेको मोरङ प्रहरीको भनाई छ ।

४० वर्षीय ढकालको शरीरको माथिल्लो भाग अधिकांश जलेको थियो । ढकाललाई विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा स्थानीयले शनिबार बिहान पौने ७ बजेतिर देखेपछि उद्दार गरेका थिए । जलनले चिच्याइरहेको सुनेपछि स्थानीयले थाहा पाएर उद्दार गरेका थिए । घटनाबारे जानकारी पाएपछि पुगेको प्रहरीले ढकालले किन आफ्नै शरीरमा आगो लगाए भन्ने विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए ।

पारिवारिक स्रोतका अनुसार लेखापाल ढकाल शनिबार बिहानै विद्यालय जान्छु भन्दै हिंडेका थिए । ‘घटनास्थलमा चिफ नामक विषादीको बट्टा पनि भेटिएको थियो, पेट्रोलको गन्ध आउने बोतल फेला परेका थिए’ मोरङ प्रहरीका प्रवक्ता दाहालले भने । 

घटनाको प्रारम्भिक अवस्था हेर्दा ढकालले आत्महत्याको प्रयास गरेको बुझ्न सकिने प्रहरीको ठम्याई छ । तर त्यसको कारण भने थप अनुसन्धान सकिएपछि मात्रै स्पष्ट हुने जनाएको छ । लेखापाल ढकालका श्रीमती, एक छोरा र एक छोरी रहेको जनाइएको छ ।


Author

थप समाचार
x