घटना-दुर्घटना

काठमाडौँको सभ्यता गिज्याउने सवारी साधनका ‘हर्न'

सात वर्षमा ८८ हजार ३२९ चालक कारबाही

अतिन आचार्य |
जेठ २३, २०८० मंगलबार ८:२७ बजे

काठमाडौँ- सिंहदरबारको पश्चिम गेट । पृथ्वीनारायण शाहको शालिक । शालिकलाई दायाँबायाँ पार्दै हरेक दिन हजारौँ गाडी ओहोरदोहोर गर्छन् ।

शालिक अगाडि जेब्रा क्रसिङ छ । जेब्रा क्रसिङबाट मानिसहरूको ओहोरदोहोर छ । साना-ठूला सवारीसाधनका जाम छन् । बिहानको कार्यालय समय छ । ट्राफिक प्रहरी हातले रोकिन र जाने संकेत गरिरहेका छन् । 


एकतर्फी सवारीसाधन आफ्नै गतिमा सुन्धारा र रत्नपार्कतर्फ गइरहेका देखिन्छन् । ट्राफिक जाममा रहेका सवारीसाधनले एक्कासी ‘हर्न’ बजाउँछन् ।  सवारीसाधनको आवाजले हतारको संकेत गरिरहेको छ ।

तर, त्यो संकेत कसैका लागि चर्को पनि महसुस हुन सक्छ । वरपरको वातावरणलाई ध्वनिले प्रदूषित गरिरहेको हुनसक्छ ।

सडक किनारामा हिँडिरहेका सुमन महर्जन यस्तो बेलामा कान थुन्न बाध्य हुने गरेको अनुभव सुनाउँछन् । आफूलाई हतार भए पनि हर्न बजाएर अरुलाई डिस्टर्ब गर्न नहुने उनले बताए । आफूमात्र नभएर अरु मानिस पनि वरिपरि छन् भनेर चालकले ख्याल गर्नुपर्ने महर्जन बताउँछन् ।

 

‘ट्राफिक जाममा हर्न बजाउनु हुँदैन भनेर थाहा पाउनुपर्छ,’ ५५ वर्षीय महर्जनले भने,’  जाम रहरले नभएर बाध्यताले भएको हुन्छ । सडकमा ट्राफिकले जाम गराउँदैनन् । चालकमा एकछिन पर्खन सक्ने धैर्य पनि हुनुपर्छ ।‘

महर्जन सवारीचालकले भएर धैर्य गरेर सभ्यताको परिचय दिनुपर्ने बताए ।

काठमाडौँ महानगरको पहलमा हर्न निषेध

सरकारले काठमाडौँ उपत्यकामा वि.स २०७४ वैशाखेदेखि आकस्मिक बाहेकको अवस्थामा सवारीले हर्न बजाउन निषेध गर्ने निर्णय गरेको थियो । त्यसबेला काठमाडौँ महानगरपालिकाको पहलमा उपत्यका हर्न निषेधित क्षेत्र भएको थियो ।

सडकमा अनावश्यक हर्न बजाउने सवारीसाधन दैनिक कारबाहीमा पर्दै आएका छन् । सवारीचालक तथा सवारीधनीलाई जति पनि हर्न बजाए हुन्छ भने लागेको छ त्यो भ्रम हुन जान्छ । किनभने सडकमा रहेका ट्राफिक प्रहरीले जुनसुकै समयमा कारबाही गर्न सक्छन् ।

सवारीसाधनको चर्को आवाज र हर्नले अरुलाई हानी पुर्‍याइरहेको हुन्छ । प्रत्येक वर्ष काठमाडौँ उपत्यकामा हर्न बजाएर कारबाहीमा पर्ने सवारीसाधनको संख्या बढ्दै गइरहेको छ ।

झण्डै ९० हजार कारबाही

हालसम्म उपत्यकामा ८८ हजार ३ सय २९ सवारीसाधन हर्न बजाए वापत नै कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ९ हजार ६६३ सवारीसाधन हर्न बजाएर कारबाहीमा परेका थिए । २०७४/०७५ मा १५ हजार ४०५ सवारीसाधन । २०७५/०७६ मा २० हजार ९ सवारीसाधन कारबाहीमा परेका हुन् ।

त्यसैगरी, २०७६/०७७ मा १४ हजार ३२७ सवारीसाधनमा कारबाहीमा परेका छन् ।  २०७७/०७८ मा ६ हजार ९ सवारीसाधन कारबाहीमा परेका छन् ।  २०७८/०७९ मा ९ हजार २६८ र २०७९/८० मा १३ हजार ६४८ सवारीसाधन कारबाहीमा परेका छन् ।

दैनिक सय सवारीसाधन कारबाहीमा

एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकल लगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारीका लागि हर्न निषेधको नियम लागू हुनेछैन । सार्वजनिक, सरकारी, पर्यटकबाहक र निजी सवारीले भने दुई अवस्थामा मात्र हर्न बजाउन पाउँछन् ।

जथाभावी हर्न बजाउने दैनिक एक सय बढी सवारीसाधन उपत्यकाका विभिन्न स्थानबाट कारबाहीमा पर्ने गरेको उनले बताए ।

कस्तो अवस्थामा हर्न बजाउन छुट छ ?

सवारी दुर्घटनामा हुने जोखिम बढेमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइने व्यवस्था छ । जोखिमयुक्त मोडमा भने छोटा हर्न प्रयोग गर्न दिइने व्यवस्था रहेको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्र भट्ट बताउँछन् ।

तर यो अवस्थामा पनि लामो समयसम्म हर्न बजाउन नपाउने व्यवस्था रहेको उनको भनाइ छ । आवश्यकता हेरेर र इमर्जेन्सीमा हर्न बजाउन पाइने उनले बताए ।

पहिलोपटक हर्न बजाएर कारबाहीमा परे ५ सय रुपैयाँ जरिवाना हुन्छ । दोस्रो पटकमा १ हजार रुपैयाँ र तेस्रो पटकमा १५ सय रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको ट्राफिक कार्यालयले जनाएको छ ।

‘कार्यालय समयमा बढी हर्न बजाउने चालकहरू कारबाहीमा पर्ने गरेका छन्,’ भट्टले भने,’ चालकले सभ्य नागरिकको परिचय नदिँदा पनि हर्न बजाउने गरेका छन् । ‘ सडकमा हर्न नबजाएर सभ्य नागरिकको परिचय दिन भट्टको आग्रह छ ।

उनका अनुसार कारबाहीमा परेका सवारीसाधनका प्रकारको विवरण छैन । सबै खालका सवारीसाधनले हर्न बजाउँछन् ।  सडकमा जस्तासुकै सवारीसाधन कारबाहीमा पर्न सक्छन् ।

भट्टले हर्न बजाएको स्थानमै चालकलाई कारबाही गरिने बताए । ‘चालक भागेमा गाडीको नम्बर अर्को ठाउँमा दिएर पनि कारबाही गरिन्छ,’ उनले भने,’ जुनसुकै प्रकारको सवारीसाधन कारबाहीमा पर्ने गरेका छन् ।‘

कस्ता ठाउँमा हर्न निषेध छ?

अस्पताल, विद्यालय, विश्वविद्यालय र सरकारी कार्यालय वरिपरि हर्न बजाउन पाइँदैन । निषेध गरिएको छ । विद्यार्थी र बिरामीको संवेदनशीलतालाई ख्याल गरेर अस्पताल तथा विद्यालयलाई हर्न निषेध क्षेत्र घोषणा गरिएको हो ।

‘ट्राफिक प्रहरीको पहिलो काम सडक सुरक्षा र सवारीको जाम खुलाउने हो,’ उनी भन्छन्,’ सडकमा चालकलाई कारबाही गर्नु भनेको सचेत गराउनु हो । ताकि अर्कोपटक चालकले गल्ती नदोर्‍याओस् । ‘

अनुशासनहिन चालक सडकमा

हर्न बजाएर कारबाहीमा पर्नुमा चालकले अनुशासन नमान्नु र सभ्यतालाई पहिचान गर्न नसकेको यातायात विज्ञ आशिष गजुरेल बताउँछन् । हर्न बजाएर मात्र अगाडिको साधन हट्छ भन्ने मानसिकताले पनि चालकलाई हर्न बजाउन प्रेरित गरेको हुन सक्ने उनको भनाइ छ ।

‘हर्न बजाउनेहरू कारबाहीमा पर्नु भनेको सडक सभ्यता गुमाएकाले कब्जा गर्न थालेको बुझ्नुपर्ने अवस्था आएको छ,’ गजुरेल भन्छन्,’ सडकमा ट्राफिक जाम पनि उत्तिकै छ । त्यसको असर पनि चालकमा देखिन्छ । तर जाम भयो भन्दैमा हर्न बजाउनु हुँदैन ।‘

हर्नलाई रिसको संकेतको रुपमा लिन सकिने गजुरेल बताउँछन् । ‘इमान्दार र अनुशासित चालक जाममा परेको छ भने उसले हर्न बजाएर रिस पोख्‍छन्,’ उनले थपे,’ हर्न जस्ता कुरालाई निरुत्साहित गर्नुपर्छ ।‘

नियममा रहने मानिसका अगाडिबाट जथाभावी बाटो काट्‍ने र सवारीसाधन निकाल्न खोज्दा पनि चालकले हर्न बजाउने गरेको दृष्टान्त उनले सुनाए । उनी सुनाउँछन्,‘चालकलाई लामो समयसम्म जाममा पर्दा इरिटेसन भएर हर्न बजाउने गरेका हुन्छन् ।‘

ध्वनि प्रदूषणले मानव जीवनमा कस्तो असर पर्छ ?

ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुन्छ ।  रक्तचाप बढ्दै जाने, हृदयघात हुन सक्छ ।  पक्षघात हुने र श्वासप्रश्वास प्रणालीमा असर हुन्छ । स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर गर्छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x