घटना-दुर्घटना

‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

इकागज |
फागुन १४, २०८१ बुधबार १५:२७ बजे

फाइल फाेटाे

म्याग्दी - म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । 

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरबाट नारच्याङतर्फ जाँदै गरेको बा६च ४९४४ नम्बरको इकोभ्यान आज सडकबाट कालीगण्डकी नदीको किनारमा खसेको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ ।


दुर्घटनामा परी सो भ्यानका चालकसमेत रहेकी अन्नपूर्ण–४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता)को घटनास्थलमै मृत्यु भएको सिमा प्रहरी चौकी भुरुङ तातोपानीका प्रमुख प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले बताए । 

उनले दुर्घटनामा सख्त घाइते रुपा पुन, नमिता चोचाङ्गी र विष्णुकुमारी बुढाथोकीलाई उद्धार गरेर उपचारका लागि पोखरा अस्पतालमा पठाइएको बताए । नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रु चढेको भ्यान सडकबाट करिब एक सय ५० मिटर तल कालीगण्डकी किनारमा खसेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेल नेतृत्वको टोलीले घटनास्थल पुगेर दुर्घटनाको बारेमा अनुसन्धान थालेको छ । दुर्घटनाका कारण अन्नपूर्ण–४ नारच्याङमा बुधबारदेखि सुरु गर्न लागिएको प्रथम तरुण कप भलिबल प्रतियोगिताको कार्यक्रम स्थगित भएको छ ।


Author

थप समाचार
x