घटना-दुर्घटना

रारा आगलागी अपडेट : पर्यटक सुरक्षित, अवस्था सामान्य बन्दै

इकागज |
फागुन १५, २०८१ बिहीबार १७:५२ बजे

फाइल फाेटाे

मुगु - रारा तालको किनारमा अवस्थित होटलमा बुधबार राति आगलागी भएको घटनापछि यहाँको अवस्था सामान्य बन्दै गएको छ । यहाँ घुम्न आएका सबै आन्तरिक तथा बाह्य पर्यटक सुरक्षित रहेका छन् ।  

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक अचुतराज आचार्यका अनुसार गोपाल बमले सञ्चालन गरेको ‘डाँफे’ होटलमा आगो लागेको थियो । आगलागी भएपछि ग्यास सिलिण्डर पड्किँदा पाँचवटा घर जलेर नष्ट भएका थिए । “काठका चार घर र ढुङ्गा माटोबाट निर्मित एउटा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ”, उनले भने ।  


आगो निभाउने क्रममा होटल सञ्चालक बम र होटलका भान्से जगत थापा सामान्य घाइते भएका प्रहरी निरीक्षक आचार्यले जानकारी दिए । दुवैजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । आगालागीबाट पाँचवटै घरका सम्पूर्ण सामान नष्ट भएका छन् । 

“आगलागी हुँदा त्यहाँ ७९ पर्यटक रहेका थिए । उनीहरु सबैलाई त्यहाँ सुरक्षार्थ खटिएको हनुमानध्वज गुल्मका सैनिकले सुरक्षित स्थानमा लगेका थिए”, उनले भने  । राति नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले घट्नास्थलमा पुगेर आगो निभाएका थिए । 

आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे, प्रहरी नायब उपरीक्षक सरोज गिरीसहितको टोली रारा पुगेको थियो । आगो निभाउन ताल्चा विमानस्थल सुरक्षार्थ खटिएको टोली पनि त्यसतर्फ गएको प्रहरी निरीक्षक आचार्यले बताए । 


Author

थप समाचार
x