घटना-दुर्घटना

इट्टा व्यवसायीमाथि खुकुरी प्रहार

व्यवसायी लामाका साझेदार मियाँ पनि पक्राउ

इकागज |
असोज १२, २०७८ मंगलबार १७:२६ बजे

मोहमद साजिद मियाँ र बिमल कार्की

 विराटनगर - इट्टा व्यवसायी कलामसिंह लामामाथि खुकुरी प्रहार भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरी लामाका साझेदार मोहमद साजिम मियाँ पनि पक्राउ परेका छन् । 

मोरङको कटहरी गाउँपालिका–६ स्थित मोरङ राजधानी इट्टा उद्योगका साझेदार रहेका काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिका–९ का ३० वर्षीय लामामाथि उच्च अदालत विराटनगर अगाडि सडकमा आइतबार खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारमा संलग्न रहेका विराटनगर–११ का २७ वर्षीय बिमल कार्की आइतबारै पक्राउ परिसकेका छन् ।


प्रहरीले अनुसन्धानका क्रममा मोरङकै धनपालथान गाउँपालिका–१ का ५३ वर्षीय महमद साजिद मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए । साजिदलाई पक्राउ गरी ज्यान मार्ने उद्योग कसूरमा जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गरेको जनाइएको छ । 

खुकुरी प्रहारबाट लामाको पेट र दाहिने हातमा गहिरो चोटपटक लागेको थियो । लामाको हाल काठमाण्डौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ । प्रहरीले खुकुरी प्रहारमा संलग्न रहेका विमल कार्की, मोहमद साजिद मियाँर कलामसिंह लामाबीच व्यवसायिक विवाद रहेको जनाएको छ । तर विवादको सवै विषय प्रहरीले सार्वजनिक गरेको छैन । 

स्रोतका अनुसार उक्त इट्टा उद्योगका संचालकहरूबीच करीव ३ वर्षदेखि स्वामित्व र शेयरको विवाद रहँदै आएको जनाइएको छ । सेयर विवादपछि संचालकहरू बीच अदालतमा मुद्दा मामिलाका लागि गएका थिए । लामा भने उक्त इट्टा उद्योगमा सवैभन्दा पछाडि जोडिएका साझेदार रहेको जनाइएको छ ।

उनीहरूबीच असोज ८ गते शुक्रबारमात्रै जिल्ला प्रशासन कार्यालय मोरङमा समेत छलफल भएको थियो । त्यसअघि इट्टा उद्योगीहरूकै रोहबरमा पनि छलफल हुँदा व्यवसायी लामाकै दोष देखिएकोले  विवाद मिलाउन लामालाई नै आग्रह गरेका थिए ।

मोरङ राजधानी इट्टा उद्योगबाट आरजेडी नामको इट्टा उत्पादन हुँदै आएको छ । उक्त उद्योग मोरङकै सुनवर्षी नगरपालिकास्थित नोचाका मोहमद साजिदले सुरु गरेका थिए । इट्टा उद्योगका विराटनगरका नविन रेग्मीसहित स्थानीयको जग्गा प्रयोगमा ल्याइएको थियो ।

इट्टा उद्योग नचलेपछि घाटा गएको र पुनः संचालनका लागि साझेदार थप्ने र लगानी बढाउने योजना बनाएर काठमाडौंकै रमेश श्रेष्ठ र कलामसिंह लामा उद्योगका लगानीकर्ता बनेर प्रवेश गरेका थिए । तर उनीहरूको कारोबार पारदर्शी नभएका कारण विवाद बढ्दै गएको जनाइएको छ । 

इट्टा उद्योगमा लगानी बढाउने नाममा लामाले उद्योगको नामको जग्गा धितो राखेर व्यक्तिगत नाममा ऋण निकालेको साजिद पक्षले आरोप लगाउ“दै आएका छन् । लामाले ऋण निकालेको पैसालाई नै आफ्नो लगानी भनेर देखाएका कारण उनीहरूबीच विवाद चर्किएको जनाइएको छ ।

विवाद मिलाउने कार्यमा कटहरीको वडा नम्बर ६ का वडाध्यक्ष पृथ्वीलाल सरदार र उनका छोरा सुभाष सरदार समेत संलग्न रहेका थिए । स्रोतका अनुसार आइतबार लामामाथि खुकुरी प्रहार हुँदा सुभाष पनि स“गै रहेको जनाइएको छ ।
 


Author

थप समाचार
x