घटना-दुर्घटना

हत्या आरोपमा वडाध्यक्ष पक्राउ

इकागज |
असोज १२, २०७८ मगलवार १८:१८ बजे

जनकपुरधाम - हत्या आरोपमा धनुषाका एक वडाध्यक्ष पक्राउ परेका छन् । सडक विस्तारको क्रममा भएको विवादमा सबैला नगरपालिका वडा नम्बर ४ का स्थानीय सुमिन्त्रा देवी यादवको कुटपिट गरी हत्या गरेको आरोपमा वडाका अध्यक्ष पथला भनिने कुशेश्वर ठाकुरलाई ईलाका प्रहरी कार्यालय सबैलाले पक्राउ गरेको हो ।

ज्यान मार्ने उद्योगमा १० जना आरोपितमध्ये वडाध्यक्षलाई शनिबार नै पक्राउ गरिएको हो । गत वैशाख १३ सडक विस्तारको क्रममा सिमासाल खोजबिनको क्रममा भएको दुई पक्षबीच भएको विवादमा सुमिन्त्रालाई कुटपिट गरी घाइते बनाइएको थियो । उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा उनको मृत्यु भएको थियो ।


सो घटनामा सुमिन्त्रासहित स्थानीय रामचन्द्र विराजी, रितिक यादव, दिपक यादव र रंजित यादवसमेत गम्भीर घाइते भएका थिए । तर उपचारको क्रममा उनको मृत्यु भएपछि परिवारजनले वडाध्यक्ष सहित १० जना विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङ्गमै कर्तव्य ज्यान उद्योगमा मुद्दा दर्ता गराएको थियो ।

मुद्दाको अनुसन्धानको क्रममा मोरंग प्रहरीले उक्त मुद्दा धनुषाको इलाका प्रहरी कार्यालय सवैलालाई गत जेठ १६ गते पठाएका थिए । ईप्रका सबैलामा निवेदन परेपछि फरार आरोपितमध्ये वडाध्यक्ष आफैँ हाजिर भएको ईप्रका सबैलाका प्रमुख राजेश सिगदेलले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेका वडा अध्यक्षविरुद्ध सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रियाअघि बढाइएको प्रमुख सिग्‍देलले जानकारी दिएका छन् ।

यता पक्राउ परेका वडाध्यक्ष ठाकुर आफू झगडामा सहभागी नरहेको तथा आफैँ सरकारी वकिलको सल्लाहमा प्रहरीमा हाजिर भएको प्रतिक्रिया दिएका छन् ।  


Author

थप समाचार
x