घटना-दुर्घटना

विदेश गएका छोरा २० वर्षसम्म नफर्केपछि...........

इकागज |
मंसिर १३, २०७८ सोमवार १७:१ बजे

झापा - झापाको कमल गाउँपालिका–६ सोनापुरकी ७६ वर्षिया श्यामसुन्दरी बस्नेतले कान्छो छोरा अमृतबहादुरको बाटो हेरेको दुई दशक नाघ्यो । रोजगारीका लागि माल्दिभ्स गएकाे कान्छाे छाेरा हालसम्म नर्फिएपछि वृद्धा श्यामसुन्दरीको मन पिरोलिँदै आएको छ । उनकाे परिवार मजदुरी गरेर जीविका चलाउँदै आएको छ ।

धन कमाएर परिवार पाल्ने सपना लिएर विदेश गएका छोरा यतिका वर्षसम्म सम्पर्कविहीन हुँदा परिवारमा नै पिर परेको उनी बताउँछिन् । बस्नेत परिवारका ६ छोरामध्ये अमृत कान्छा हुन् । अरु दाजु गाउँघरमा आ-आफ्नै काममा छन् । वृद्धा श्यामसुन्दरीका अनुसार आमाबाबु पाल्ने जिम्मेवारी कान्छा छोराको भागमा थियो । काखे छोरो र बुहारी परिवारको जिम्मा लगाएर विदेश गएको २० वर्ष पुगिसक्यो । त्यस बेला उनका छोरा १० महिनाका थिए । ती छोरा पनि अहिले २० वर्षका भइसकेका छन् ।


'आम्दानीको दीगो स्रोत खासै थिएन, कृषि मजदुरी गरेर परिवार धान्दै आएका थिए, विदेश गएर पैसा कमाउने र आएर पक्की घर बनाउने सपना थियो', वृद्धा आमा श्यामसुन्दरीले भनिन्, 'छोरो गएको नौ महिनापछि छोराले काम छोड्यो भन्ने खबर आयो, काम छोडेपछि त घरै आउला नि भन्ने थियो, विदेश गएर कमाएर घर बनाउने आमा भन्थ्यो, छोरो आउला-आउला भन्दाभन्दै बाबु पनि बिते, अहिले बूढेसकालमा एक्लै भएको छु ।'

श्रीमान् बेपत्ता भएपछि काखे नानी हुर्काउँदै उनकी श्रीमती पनि १४ वर्ष बसिन् । त्यसपछि विदेशिएको श्रीमान् बेखबर भएपछि उनले अकैसँग विवाह गरिन् । छोरा बेखबर भएको घटना गाउँघर, स्थानीय सरकारका प्रतिनिधिसँग गुहार गरे पनि कतै पनि सुनुवाइ नभएको वृद्धा आमाले पीडा सुनाइन् । 

युट्युब, फेसबुक जस्ता विभिन्न सामाजिक सञ्जालमा वर्षौ हराएका व्यक्ति पनि भेटिएका खबर सुन्दा वृद्धा आमालाई पनि आस लाग्‍ने गर्छ । यस्तो खबर सुन्दा हराएको छोरो पनि कतै भेटिएला कि भन्ने आशा बढाउने उनी  बताउँछिन् । गाउँघरका छोराछोरी विदेश गएर फर्किएको उनीले घर वरिपरी आफ्नै आँखाले नजिकैबाट देखेकी छिन् । 

छोरा विदेश गएको म्यानपावर कम्पनीकाबारेमा समेत बस्नेत परिवारलाई थाहा छैन । भएको जग्गा बेचेर विदेश पठाएको छोरा कुन कम्पनीबाट त्यहाँ पुगे र अवस्थाबारे वर्षोदेखि बस्‍नेत परिवार बेखबर छ । (रासस)


Author

थप समाचार
x