विवाद मिलाउन गएका सांसद साह यसरी कुटिए, अवस्था गम्भीर
जनकपुरधाम - बाटोको विषयमा विवाद मिलाउन पुगेका जसपाका सांसद प्रमोद साहलाई आफ्नै गृह जिल्लामा युवाहरुको एक समूहले कुटपिट गरी गम्भीर घाइते बनाएका छन् ।
सर्लाहीको इश्वरपुर नगरपालिका ६ स्थित बयलवास बजारमा बाटोको विषयमा रहेको विवाद मिलाउन पुगेका सांसद साहलाई उनको विचारबाट असन्तुष्ट युवाहरुको एक समूहले उनीमाथी नै आक्रमण गरेका थिए ।
जसपाको प्रमुख सचेतक एवं सर्लाही क्षेत्र नम्बर १ का सांसद साह सो आक्रमणमा परी गम्भीर घाइते भएको छ । स्थानीय स्तरमा उपचार सम्भवन हुन नसक्दा उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौ लगिएको छ ।
बयलवास बजारस्थित बजारको बाटो विस्तार गर्ने क्रममा त्यहाँ रहेको फुलजोर युवा क्लबको भवन भत्काइएको थियो । बाटोको नाप नक्सापछि बाँकी रहेको सोही जग्गामा क्लवको भवन बनाउनुपर्ने युवाहरुले माग गर्दै आई रहेका थिए । तर सांसद साहले भत्केको क्लवको भवनलाई अन्य कुनै ठाउँमा बनाउन विचार राखेपछि आक्रोशित युवाहरुले उनीमाथि आक्रमण गरेका थिए ।
विवाद मिलाउन सांसद आफ्ना समर्थकसहित सो ठाउँमा पुगेका थिए । सांसद साहले क्लब अर्को ठाउँमा लग्न विचार राख्दा युवाहरु सोही ठाउँमा क्लवको भवन बनाउने अडान राखेपछि साहका समर्थकहरु प्रदर्शन गर्न खोज्दा दुवै समूहबीच झडप भएको र सोही क्रममा साहमाथि आक्रमण भएको थियो ।
आक्रमणमा परेर सांसद साहको टाउको र पिठ्युमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए । सांसद साहको स्थानीय स्तरमै सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको उनले बताए ।
सांसद साहका आफन्त अनिल साहका अनुसार साहको अगुवाइमा जसपाले नगरमा युवा क्लवको भवन बाटोमै निर्माण गर्ने कुरोको विरोधमा र्याली निकाल्न लागेकै समयमा २५–३० जनाको युवाहरुको समूह उनी माथी ढुंगाले आक्रमण गरेका थिए । उनी अहिले बोल्न सक्ने अवस्थामा रहेपनि अवस्था गम्भीर नै रहेको बताए ।
घटनामा साहका सुरक्षागार्ड असई विनोदप्रसाद यादवलाई समेत कुटपिट गरिएको छ । यादवको साथमा रहेको पेस्तोल र ७ राउन्ड गोली समेत युवाहरुले खोसेर लगेको यादवले बताए । आक्रोशित युवाहरुले एउटा भारतीय स्करपियो र करिब १ दर्जन मोटरसाइकल समेत तोडफोड गरेका छन्।
उता प्रहरीले घटनामा संलग्न कसैलाई पक्राउ गर्न सकेको छैन । प्रहरी उपरीक्षक प्रसाईले भने, ‘घटना सम्बन्धमा केही बोल्न सक्दिन, अनुसन्धान भइरहेको त्यसपछि मात्रै कुनै निष्कर्षमा पुग्ने छौँ ।’
तर घटनाको घण्टौ बिति सक्दा समेत प्रहरीले सांसद साहमाथी आक्रमण गर्नेहरुलाई पक्राउ नगर्नु निन्दनीय रहेको जसपा सर्लाहीका अध्यक्ष वीरेन्द्र यादवले बताएका छन । उनले घटनामा संलग्नहरुलाई कारबाही नगरिए बाध्य भएर आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।
यसैबीच जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो पार्टीको प्रमुख सचेतक प्रमोद साहमाथी नेकपा एमालेका कार्यकर्ताहरुले आक्रमण गरेको आरोप लगाएकाे छ। जसपा केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरेर एमाले कार्यकर्ताहरुले घटना घटाएको आरोप लगाएको हो ।
कामको सिलसिलामा गृह जिल्ला पुगेका सांसद साह र अन्य कार्यकर्ताहरूमाथि नेकपा एमालेका कार्यकर्ताहरूले सुनियोजित ढङ्गबाट आक्रमण गरी घाइते बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेकपा एमालेले यस्ता घृणित र आपराधिक क्रियाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयं हुने चेतावनी समेत जसपाले दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया