पूर्वाधार

आठ सय किलोमिटर सडक र तीन सय पुल निर्माण गरिने

इकागज |
जेठ १०, २०७९ मंगलबार २०:३३ बजे

काठमाडौँ - सरकारले आगामी आर्थिक वर्षमा थप ८०० किमी सडक निर्माण, २५७ किमी स्तरोन्नति गर्ने र ३०० पुल निर्माण गर्ने भएको छ । 

आज बसेको संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले निर्माणाधीन सडक सम्पन्न गर्ने र आधुनिक सडक निर्माण सरकारको योजना रहेको बताइन् । 


पूर्व–पश्चिम राजमार्गलाई बुटवल–नारायणगढ र कमला–कञ्चनपुर खण्डको निर्माण एशियन हाइवे स्तरमा स्तरोन्नति गर्ने नीतिअनुरुप कामलाई तीव्रता दिइने उनले बताइन् । पथलैया–कमला र पथलैया–नारायणगढ खण्डको निर्माण सुरु गरिने भएको छ । 

काठमाडौँ तराई मधेस द्रुतमार्ग तोकिएको समयमा सम्पन्न गर्न निर्माणलाई तीव्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । राष्ट्रिय राजमार्ग र तराई÷मधेसका जिल्ला सदरमुकाम जोड्ने सडकलाई मापदण्डका आधारमा कम्तीमा चार लेनमा स्तरोन्नति गरिने छ । सप्तरीको गोविन्दपुर–छिन्नमस्ता हुँदै उदयपुरको गाईघाटसम्मको सडक निर्माणलाई प्राथमिकता दिइने सरकारको योजना छ । 

चक्रपथलगायत काठमाडौँ उपत्यकाका सडक बिस्तार र स्तरोन्नति गर्नुका साथै सम्भाव्य स्थानमा फ्लाई ओभर निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । तीन तहको सरकारको साझेदारीमा कालोपत्र सडक नपुगेका स्थानीय तहमा सडक निर्माण गरी प्रादेशिक तथा राष्ट्रिय सडक सञ्जालसँग आबद्ध गरिने बताइएको छ । 

राष्ट्रिय गौरवका कालीगण्डकी, कर्णाली र कोसी करिडोर निर्माण र स्तरोन्नतिलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । कर्णाली करिडोरमा बाँकी ट्याक खोल्ने काम सम्पन्न गरेर आगामी वर्ष हुम्ला जिल्लालाई सडक सञ्जालसँग जोडिने उल्लेख छ । 

हुलाकी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग द्रुतमार्ग रुपमा सम्पन्न गर्ने कार्यक्रममा उल्लेख छ । गल्छी–रसुवागढी सडकलाई दुई लेनको कालोपत्रमा स्तरोन्नति गरिनेछ । चन्द्रनिगाहपुर–गौर सडक चार लेनमा स्तरोन्नति र भारतीय सीमा नजिकका प्रमुख व्यापारिक नाकालाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने सडक स्तरोन्नति प्राथमिकता दिइने योजना छ ।

मदन भण्डारी राजमार्गमा बाँकी काम चाँडो सम्पन्न गरिने छ । त्रिभुवन राजमार्गलगायत प्रमुख राजमार्गमा सुरुङमार्ग, फ्लाई ओभर, अण्डर पाससहित आधुनिक सडक सञ्जाल विस्तार गरिने छ । सिस्नेखोला–नागढुङ्गासम्मको मुख्य सुरुङको निर्माण सम्पन्न गरिने र सिद्धबाबा सुरुङमार्ग निर्माण सुरु गरिने बताइएको छ । आगामी वर्ष नै पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवाल खण्डको दाउन्नेमा तथा पृथ्वी राजमार्गको मझिमटारदेखि चितवनको शक्तिखोरसम्म सुरुङ निर्माण गर्न पूर्वतयारी गरिनेछ । 

आगामी वर्ष स्थानीय सडकमा पुल निर्माणको जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण गरिने कार्यक्रममा उल्लेख छ । महाकाली नदीमा निर्माणाधीन दोधारा चाँदनी जोड्ने चार लेनको पुल निर्माण सम्पन्न गरिनेछ । रासस


Author

थप समाचार
x