पूर्वाधार

काठमाडौँ उपत्यकाको चार भञ्ज्याङमा चार सुरुङमार्ग

इकागज |
जेठ १५, २०७९ आइतबार २१:२५ बजे

फाइल फोटो

काठमाडौँ - सरकारले आगामी आर्थिक वर्षमा चार भञ्ज्याङमा चार सुरुङमार्गको अवधारणाअन्तर्गत काठमाडौँ उपत्यकाका बाँकी तीन भञ्ज्याङमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन अघि बढाउने भएको छ । 

आज संघीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले टोखा–छहरे, गोदावरी–पनौती र साँगा–बनेपा खण्डको सुरुङमार्ग निर्माणका लागि अध्ययन गरिने बताए । सुरुङ मार्ग विकास कार्यक्रमका लागि रु एक अर्ब १९ करोड विनियोजन भएको छ ।


काठमाडौँ उपत्यकाको सवारी चापलाई व्यवस्थापन गर्न चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकी (नारायणगोपाल चोक सडकखण्डको विस्तारका लागि रु एक अर्ब विनियोजन भएको छ । काठमाडौँ उपत्यकाको ग्वार्खो, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर र कोटेश्वर तथा नयाँ बानेश्वरमा अन्डरपास निर्माणको कार्य सुरु गरिने सरकारको योजना छ । 

अर्थमन्त्री शर्माले सिस्नेखोला–नागढुङ्गाको सुरुङमार्ग आगामी आर्थिक वर्षभित्र खोलिने बताए । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि रु पाँच अर्ब २० करोड विनियोजन भएको छ । 

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकमा पर्ने सिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माण सुरु गरिने भएको छ । दुम्कीबास–बर्दघाट, कुलेखानी–भीमफेदी, खुर्कोट–चियावारी, मझिमटार–शक्तिखोर, ब्याउलीढुङ्गा–इमिल्चाखोला, सुर्खेत रानीघाट–भुरीगाउ सुरुङ मार्गको अध्ययन सम्पन्न गरिने बताइएको छ ।


Author

थप समाचार
x