पूर्वाधार

समयसीमाभन्दा ५ महिनाअघि नै सकियाे दाङमा पुल निर्माण

इकागज |
जेठ २१, २०७९ शनिबार १८:१ बजे

फाइल तस्वीर

देउखुरी- दाङको कुहिरेपानीदेखि घोराही जोड्ने सडकमा पर्ने सिस्ने खोलामा समयभन्दा पाँच महिना अगाडि पुल सम्पन्न भएको छ । कुहिरेपानी–सर्रा जोड्ने पुल नभएका कारण यात्रुलाई समस्या हुने गरेको थियो । सिस्ने खोलामा बर्सेनी आउने बाढीले धेरै दुःख भोग्नु परेको थियो ।    
    
लम्बाइ ९० मिटर र चौडाइ ९ दशमलव ६० मिटरका दुईवटा पुल रहेका छन् । आउने र जाने (छुट्टाछुट्टै) यात्रा गर्न मिल्ने पुल दाङमा यो नै पहिलो हो ।
    
लुम्बिनी प्रदेश सरकारको १९ करोडको बजेटमा पुल बनेको इटाइट कन्ट्याक्ट कम्पनीका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए । दुई वर्ष ६ महिनामा सक्नुपर्ने सम्झौता भएको थियो । पाँच महिनाअगाडि नै ९९ प्रतिशत काम सम्पन्न गरेको उनले बताए।    
    
खोलामा पुल निर्माण भएसँगै घोराहीवासीलाई यात्रा गर्न सहज भएको छ । यो पुल निर्माणबाट साबिकको सौडियार गाविस साविकको लक्ष्मीपुर गाविस र साबिक घोराही नगरपालिकाका बासिन्दा लाभान्वित भएका छन्।    
    
सो सडक पार गर्न करिब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो । तर, पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको स्थानीयवासी डोरबहादुर केसीले जानकारी दिए । वर्षातमा ठूलो बाढी आउने भएकाले यात्रा गर्न कठिन थियो । घोराही बजार जानलाई दुई घण्टा लाग्थ्यो अब १० मिनेटमा पुगिन्छ।    
यसैबीच घोराही बजारको गाडीको चापलाई कम गर्न कुहिरेपानीदेखि सर्रासम्म वैकल्पिक सडकका रुपमा निमाणर््ा हुन लागेको चारलेनको दामोदर सडकमा पर्ने सिस्ने र कुटुवा खोलाको दोभानमा निमार्ण भएको सिस्ने खोला पुल बनेपछि स्थानीयवासी खुसी भएका छन् । २०७७ साल वैशाखमा सम्झौता भएको पुल २०७९ साल कात्तिक महिनामा काम सक्ने सम्झौता भएको इन्जिनियर बाबुराम भुसालले जानकारी दिए । अहिले ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ । हस्तान्तरण गर्न मात्रै बाँकी रहेको उनले बताए ।    
    
पुलको तल्लो र माथिको भागको काम सबै सकिएकोे उनले बताए । पुल निर्माण भएसँगै त्यहाँका स्थानीयवासीसँगै सडक वारपार गर्ने सबैलाई सहज हुने देखिएको छ । 



Author

थप समाचार
x