पूर्वाधार

बलेवा विमानस्थल बन्यो, सञ्चालन गर्ने कसरी ?

इकागज |
जेठ २२, २०७९ आइतवार १७:५ बजे

फाइल फोटो

बागलुङ - बन्द अवस्थामा रहेको विमानस्थलको अध्ययनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित परामर्शदाता समूहले आज बलेवा विमानस्थलको स्थलगत अवलोकन गरेको छ । भर्खर कालोपत्र भएर चिटिक्क परेको धावनमार्ग, टावर र भौतिक पूर्वाधारको अवस्था देखेपछि उक्त अध्ययन समूहले विमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा रहेको सुरुआती निचोड निकालेको छ ।

 विमानस्थल सञ्चालनबारे बागलुङ नगरपालिकाद्वारा आयोजित छलफल कार्यक्रममा परामर्शदाता समूहका प्रमुख डा जनकराज शाहले टावर नियन्त्रण गर्ने कर्मचारी, विमान कम्पनी र यात्रु भएमा जुनसुकै बेला विमानस्थल सञ्चालनमा आउन सक्ने बताए । 


`विमानस्थलको स्थलगत अध्ययन, अवलोकन गर्‍यौँ, तत्कालै चलाउन सक्ने गरी विमानस्थल तम्तयार अवस्थामा छ`, उनले भने, `सरकारले करोडौँ खर्च गरेर विमानस्थल बनाएको छ, यसलाई प्रयोगविहीन अवस्थामा राख्नुहुँदैन, लगानी गरेपछि प्रतिफल आउनुपर्छ ।` उनले मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, विमान सञ्चालक कम्पनी लगायतसँग विमानस्थलको स्थलगत अध्ययन प्रतिवेदन र स्थानीयस्तरमा सरोकार भएका पक्षबाट आएका सुझावका आधारमा थप छलफल गरिने उल्लेख गरे । 

राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत रहेका शाहले विमानस्थल सञ्चालनमा आउन नसक्ने स्थितिमा पनि वैकल्पिक प्रयोगको योजना पनि बनाउनुपर्ने धारणा राखे । छलफलका क्रममा सुझाव राख्दै बागलुङ–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले हर हालतमा विमानस्थल चलाउनुपर्ने बताए । `नियमित सेवाको सुनिश्चितता, भाडादर समायोजन र विमानस्थलसम्म पुग्ने पहुँच मार्गको स्तरोन्नति गर्न सकियो भने विमानस्थल चल्छ`, उनले भने, `सबै पूर्वाधार बनेको अवस्थामा अब कसरी हुन्छ विमानस्थल चलाउने तिर सोचौँ, पहल थालौँ ।`

बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले विमानस्थल नियमित सञ्चालन गर्न व्यवसायिक योजना बनाउनुपर्ने बताए । उनले यसअघि विसं २०७४ मा विमानस्थल सञ्चालनमा आउँदा यात्रुबाट भाडादर चर्को भएको गुनासो आएको उल्लेख गरे ।  `व्यावसायिक योजना बनाएर विमानस्थललाई दिगो ढङ्गले चलाउनुपर्छ, केही समय चलाउने अनि बन्द गर्ने अवस्था अब आउन दिनुहुँदैन`, सचिव चोखालले भने, `धवलागिरि क्षेत्रको आर्थिक विकासमा यसलाई जोड्नुपर्छ, विमानस्थल चल्दा पर्यटन क्षेत्र पनि आफै उकासिन्छ ।`

बागलुङ उद्योग वाणिज्य संघका उपमहासचिव थानेश्वर सुवेदीले विमानस्थल जोड्ने मुख्य सडक कालोपत्र नहुँदासम्म पर्वतको कुश्मा तर्फबाट वैकल्पिक सडक प्रयोग गर्न सकिने सुझाव राखे । `कुश्माबाट यान्त्रिक पुल हुँदै यात्रुलाई विमानस्थल पुर्‍याउन सकिन्छ, यसो गर्दा तत्कालै विमानस्थल सञ्चालनमा ल्याउन सकिन्`, उनले भने ।

विमानस्थल जोड्ने पहुँच मार्गको स्तरोन्नति या कालोपत्र पर्खन थाल्ने हो भने फेरि केही वर्ष विमानस्थल बन्दै अवस्थामा राख्नुपर्ने उपमहासचिव सुवेदीले बताए । 

बागलुङको माल ढुङ्गादेखि विमानस्थल जोड्ने कालीगण्डकी करिडोरको १३ किमि सडक अहिले पनि कच्ची छ । वर्षातको बेला त उक्त सडकको यात्रा झन् जोखिमपूर्ण बन्ने गरेको छ । सरकारले सो खण्ड कालोपत्रका लागि ठेक्का प्रक्रियामा लगेपनि काम सकिन केही वर्ष लाग्ने देखिएको छ । 

बागलुङ–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले यसअघि धावनमार्ग कच्ची हुनु, चर्को भाडादर र पहुँच मार्गस्तरहीन हुँदा विमानस्थल नियमित सञ्चालनमा आउन नसकेको बताए । विमानस्थल सोही वडामा पर्दछ । `अहिले धावनमार्ग कालोपत्र भइसकेको छ, अब विमानस्थलसम्म आउजाउका लागि सहज यातायातको खाँचो छ, यात्रुको सुनिश्चितता दिएर विमान कम्पनीलाई आकर्षण गर्न सकियो भने विमानस्थल नियमित चल्छ`, उनले भने । यसअघि नगरले आफ्नै पहलमा विमानस्थल सञ्चालनमा ल्याए पनि यात्रु सङ्ख्या घट्दै गएपछि विमानस्थल बन्द हुन पुगेको वडाध्यक्ष खत्रीको भनाइ छ । 

बागलुङ नगरका उपप्रमुख राजु खड्काले विमानस्थल नियमित सञ्चालन गर्न नगरको तर्फबाट सबैखाले प्रयास गर्ने प्रतिबद्धता जनाए । `हामी सबै पक्षसँग बसेर विमानस्थल सञ्चालनको छुट्टै योजना निर्माण गर्छौँ, उनले भने, `नगरको गौरव र प्रतिष्ठासँग पनि जोडिएको विषय भएकाले हामी यसमा संवेदनशील छौँ ।` 

सरकारको आगामी आर्थिक बर्षको बजेटमा पनि बलेवा विमानस्थललाई स्तरोन्नति गरी सञ्चालनमा ल्याइने उल्लेख छ । बन्द भएको २६ वर्षपछि विसं २०७४ चैत ९ गतेदेखि बलेवा विमानस्थल सञ्चालनमा ल्याइएको थियो । 

नेपाल र तारा एयरलाइन्सको टुइनअटर विमानले हप्ताको दुई दिन उडान गर्थे । १९ सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरले भार व्यहोर्ने गरी नागरिक उड्ययन प्राधिकरण, विमान कम्पनी र नगरबीच सम्झौता भएको थियो । 

केही महिनापछि यात्रु पनि घट्ने र नगरलाई आर्थिक बोझ पनि थपिँदै गएपछि विमान सेवा बन्द हुन पुगेको थियो । विमान कम्पनीले सुरुमै बागलुङ–काठमाडौँको भाडादर रु छ हजार ५०० तोकेपछि यात्रुले पनि महँगो भएको गुनासो त्यसबेला गरेका थिए ।

विसं २०४८ मा बन्द भएको विमानस्थल २६ वर्षपछि सञ्चालनमा आएपनि त्यसले निरन्तरता पाउन सकेन । विसं २०२२ मा बनेको विमानस्थल पोखरा–बागलुङ सडक बनेपछि बन्द भएको थियो । सडक आउनुअघि बलेवादेखि पोखरा, काठमाडौँ, भैरहवा र भरतपुरसम्म विमान सञ्चालनमा थिए । यात्रुको आउजाउ र सामान ढुवानीका लागि विमान प्रयोग हुन्थ्यो । पूर्वाधारका दृष्टिले विमानस्थल पहिलेभन्दा अहिले धेरै सम्पन्न छ । विमानस्थलको सात सय मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग कालोपत्र भइसकेको छ । 

अब त विमानस्थल नियमित चल्छ की भन्ने आशमा स्थानीयवासी छन् । तर, विमानस्थल कहिले सञ्चालनमा आउँछ कुनै टुंगो भने लागेको छैन ।  रासस


Author

थप समाचार
x