पूर्वाधार

महाकाली करिडोर : १२ वर्षमा ३० किलोमिटर सडक मात्र कालोपत्रे

इकागज |
साउन ४, २०७९ बुधवार २१:४० बजे

महेन्द्रनगर - नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिकंरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगति सन्तोषजनक छैन ।

विसं २०६६ देखि सुरु भएको निर्माण १२ वर्ष बितिसदा ३० किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी र दार्चुलाको तिकंरसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत ४१३ किलोमिटर सडक निर्माण हुँदैछ । 


महाकाली करिडोर दार्चुला तिकंर सडक योजनाका इन्जिनियर मिलन घतानीले करिडोर निर्माणअन्तर्गत सबैतिर ट्र्याक खोल्ने काम भइरहेको बताए । `पूरै आयोजना हेर्दा दार्चुलाका विभिन्न स्थानमा गरेर हालसम्म ३० किलोमिटर सडक कालोपत्रे भएको छ”, इन्जिनियर घतानीले भने, “शून्य विन्दुबाट (ब्रह्मदेव क्षेत्र) भने काम सुचारु हुन सकेको छैन ।`

कञ्चनपुरको ब्रह्मदेवदेखि उत्तर डडेल्धुराको जोगबुढा क्षेत्रसम्म १५ किलोमिटर ट्र्याक खोल्न गत वर्ष असारमा रु पाँच करोड ५० लाखमा ठेक्का सम्झौता भए पनि काम भने हुन सकेन । उक्त क्षेत्रको ट्र्याक खोल्ने काम दिवा–शनिदेव जेभीले पाएको भए पनि रुख कटानको विषय आयोजनाले टुङ्गो लगाउन नसक्दा निर्माण व्यवसायी काम गर्न नसक्ने अवस्थामा पुगे ।

`वन नभएको खाली क्षेत्रमा भने निर्माणको अलि अलि काम भएको छ`, उनले भने, `रुख कटानको विषय वन मन्त्रालयमा छ ।` करिडोरअन्तर्गत कञ्चनपुर क्षेत्रमा मात्रै एक हजार ९५१ रुख कटान गर्नुपर्ने छ । उक्त १५ किलोमिटर ट्र्याक २०८० सालभित्र खोलिसक्नुपर्ने भए पनि निर्माण पक्षले एक वर्ष रित्तो बस्नुपर्‍यो । 

महाकाली करिडोर दार्चुला तिकंर सडक योजनाले करिडोरअन्तर्गत बाँकी तीन जिल्लामा ट्र्याक खोल्ने काम भइरहेको जनाएको छ । योजना कार्यालयका अनुसार हालसम्म डडेल्धुरामा २२ किलोमिटर ट्र्याक खुलेको छ । डडेल्धुरा क्षेत्रमा करिडोरको ५४ किलोमिटर ट्र्याक खुलाउनुपर्ने छ ।

त्यसैगरी बैतडीमा १४५ किलोटिर मध्ये ७० किलोमिटर ट्र्याक खुलिसकेको इन्जिनियर घतानीले जानकारी दिए । उनले दार्चुलामा २०० किलोमिटरमध्ये ९४ किलोमिटर ट्र्याक खुलेको बताए । दार्चुलामा २०० किलोमिटरमध्ये ७८ किलोमिटर ट्र्याक खोल्ने जिम्मेवारी नेपाली सेनाले पाएको छ ।

विसं २०६६ मा दार्चुला तिकंर सडक नामकरण गरिएको योजना २०७४ मा महाकाली करिडोरमा परिणत गरिएको हो । सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण करिडोर मानिए पनि सरकारले योजनाको रकम विनियोजनमा भने विगतको भन्दा घटाएको छ । गत वर्ष रु ७९ करोड ४२ लाख रकम विनियोजन भएको योजनामा चालु आर्थिक वर्र्षमा रु ४१ करोड मात्रै बजेट रहेको योजना कार्यालयले जनाएको छ ।

रुख कटानलगायतका प्रक्रियागत कारणले योजनाको काम ढिलाइ भइरहेको देखिन्छ । करिडोरअन्तर्गत कञ्चनपुरमा पर्ने ११ किलोमिटर क्षेत्रमा एक हजार ९५१ रुख कटान गर्नुपर्ने छ । 

त्यसैगरी डडेल्धुरामा १० हजार ४७६, बैतडीमा चार हजार ५९६ र दार्चुलामा दुई हजार ४२ रुख कटान गर्नुपर्ने महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजना कार्यालयले जनाएको छ । 

`रुख कटानका लागि वन विकास कोषमा हामीले रु ५७ करोड रकम जम्मा गर्नुपर्नेमा रु ३७ करोड जम्मा गरिसकेका छौँ`, इन्जिनियर घतानीले भने, `रकम जम्मा हुनासाथ रुख कटानको विषय पनि टुङ्गोमा पुग्छ ।` उनले करिडोरअन्तर्गत सबैतिर ट्र्याक खोल्न ठेक्का सम्झौता भइसकेको बताए । रासस


Author

थप समाचार
x