पूर्वाधार

ठेक्का लागेको चार वर्षमा पनि बनेन एक किलोमिटर सडक

इकागज |
भदौ २२, २०७९ बुधबार २०:२६ बजे

सुरुङ्गा - ग्रामीण कृषि सडक ‘ र्‍याप थ्री’ अन्तर्गत बिर्तामोडस्थित हर्कलाल मार्गको स्तरोन्नति थालिएको चार वर्ष पूरा भएको छ ।

बिर्तामोड–भद्रपुर सडकको वैकल्पिक मार्गका रूपमा हेरिएको सो सडकलाई स्तरोन्नति गर्दै प्रयोगमा ल्याउने योजनाका साथ २०७५ साल असारमा ठेक्का लगाइएको थियो । चार करोड २८ लाखको लागतमा कालोपत्रे गर्न लागिएको सो सडक २०७६ साल असारमा नै निर्माण सम्पन्न हुनुपर्ने हो तर, हालसम्म सो सडकको न स्तरोन्नति गरियो न त कालोपत्रे नै । ठेक्का लागेको ५० महिना पूरा हुँदासमेत हर्कलाल मार्गको एक हजार ५८ मिटर सडक स्तरोन्नति हुन सकेको छैन । 


सडक निर्माणका लागि ठेक्का लिने कम्पनीको चरम लापरबाही र नियमनकारी निकाय पूर्वाधार विकास कार्यालय चन्द्रगढी झापा मूकदर्शक बन्दा सो सडक अलपत्र परेको हो । विसं २०७३ मा तत्कालीन जिल्ला प्राविधिक कार्यालय झापाले आठ करोडको विस्तृत गुरुयोजना (डीपीआर) तयार गर्दै बिर्तामोडस्थित हर्कलाल मार्गको स्तरोन्नतिसँगै कालोपत्रे गर्ने तयारी थालेको थियो ।

ग्रामीण कृषि सडकको मापदण्डमा ‘ र्‍याप थ्री’ अन्तर्गत सडकको स्तरोन्नतिसँगै कालोपत्रे गरिने भएपछि योजनासमेत स्वीकृत भएको थियो । विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनपछि सो सडक २०७५ असारमा दी कञ्चनजंगा कन्स्ट्रक्सन निर्माण कम्पनीले निर्माण गर्ने गरी ठेक्का लिएको थियो ।
  
ग्रामीण कृषि सडक ‘ र्‍याप थ्री’को मापदण्डमा सडक स्तरोन्नतिको ठेक्का लगाएपछि स्थानीयवासीले सडक फराकिलो बनाउनुपर्ने माग राखेका थिए । पूर्वाधार विकास कार्यालय चन्द्रगढीले सडक निर्माणको प्रक्रिया अघि बढाए पनि स्थानीयवासीले सडक फराकिलो बनाउनु पर्ने माग राखेपछि सडक सडक निर्माण कार्य केही समय रोकिएको थियो ।
     
तीन किलोमिटर सडक निर्माणका लागि ठेक्का लागे पनि दुवैतर्फ ड्रेन र उच्चस्तरीय कालोपत्रे गर्न स्थानीयवासीको मागपछि सो सडकलाई एक हजार ५८ मिटर मात्रै स्तरोन्नति  गर्ने सम्झौता भएको थियो । सो सम्झौताअनुसार नालासहित सडकलाई ५० मिटर चौडा बनाइने गरी काम अघि बढाइएको थियो तर, सम्झौताअनुसार काम अघि बढे पनि हालसम्म हर्कलाल मार्गको स्तरोन्नति हुन भने सकेको छैन ।

तीव्र सहरीकरणका रूपमा विकास भइरहेको बिर्तामोडमा जनघनत्व दिन प्रतिदिन बढेसँगै मुख्य डाइर्भसनका रूपमा हेरिएको हर्कलाल मार्गलाई ‘ र्‍याप थ्री’को मापदण्डभन्दा बाहिर लगेर सडकको स्तरोन्नति गर्न स्थानीयवासी, जनप्रतिनिधि र पूर्वाधार विकास कार्यालय नै राजी भए ।  र्‍याप थ्रीसँग गरिएको सम्झौतामा सो सडकको स्तरोन्नति गर्दा १७ फिट मात्रै कालोपत्रे गर्ने भनिएको थियो तर, स्थानीयवासीको सहमतिमा सो सडकलाई बढाएर नालासहित ५० फिट पुर्‍याइयो । 

सहमतिअनुसार तीन किलोमिटर सडक कालोपत्रेका लागि छुट्याइएको बजेटबाट घटाएर एक किलोमिटर ५८ मिटर मात्रै सडकको स्तरोन्नति गर्ने सहमतिअनुरुप सो सडकको स्तरोन्नतिको काम अघि बढेको थियो तर, समयमा सडक स्तरोन्नतिको काम नहुँदा हर्कलाल मार्गको अवस्था दिनानुदिन बिग्रँदो छ ।

हर्कलाल मार्ग सहजकर्ता समितिका संयोजक गुरुभक्त न्यौपानेका अनुसार सडक निर्माणको काम ५० प्रतिशत पूरा भए पनि अझै सडकको स्तरोन्नतिको काम सक्न समय लाग्ने बताउँछन् । सडक निर्माणका लागि ठेक्का लिने व्यक्ति नै जेल परेकाले समयमा सडकको स्तरोन्नति हुन नसकेको हो । उनी भन्छन्, `सडक निर्माणका लागि ठेक्का लिने व्यक्ति आफैँमा कालोसूचीमा परेका रहेछन् । पछि उनी जेल परे, त्यसपछि यो सडकको काम ठप्प भएको हो ।` तीन किलोमिटर हर्कलाल मार्गको स्तरोन्नतिको काम सम्पन्न गर्न थप १३ करोड लाग्ने सहजकर्ता समिति संयोजक न्यौपानेको भनाइ छ ।

यता सहजकर्ता समितिका सचिव ओमकृष्ण विमली सो सडक निर्माणका लागि स्थानीय नेतृत्वले पहल नगर्दा समस्या भएको  बताउँछन् । `हामीलाई सडक निर्माणका लागि सुरुमा कसैले साथ दिएनन्`, उनी भन्छन्, `यहाँका राजनीतिक दलको नेतृत्वले सडकका विषयमा एक दिन पनि सोधीखोजी नगर्दा निर्माण व्यवसायीले नटेरेका हुन् । यदि दलका नेताले सुरुदेखि नै पूर्वाधार विकास कार्यालय र निर्माण व्यवसायीलाई घच्चघच्याएको भए आज यो दिन आउने थिएन ।` 


Author

थप समाचार
x