पूर्वाधार

अझै सञ्चालनमा आएन प्याराभिट्टा बसपार्क

इकागज |
भदौ २४, २०७९ शुक्रबार १२:५६ बजे

झापा- झापाको मेचीनगर–७ प्याराभिट्टामा निर्माण गरिएको बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण भएको नौ वर्ष वितिसक्दा समेत सो बसपार्क प्रयोगविहीन अवस्थामा छ ।
    
नेपालको पूर्वीनाका काँकडभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले प्याराभिट्टामा बसपार्क निर्माण गरिएको हो । भारत, भुटान र बङ्गलादेशसँगको व्यापारिक नाका काँकडभिट्टा पर्यटक भित्रिने प्रवेशमार्ग हो । प्याराभिट्टाबाट लामो तथा छोटो दूरीका दैनिक पाँच सयभन्दा बढी बस सञ्चालन हुँदै आएका छन् ।    
    
बजारको बीच भागमा रहेको दुई दशक पुरानो बस टर्मिनल अहिले साँघुरो भइसकेको छ । बसको पार्किङ र यात्रुको व्यवस्थापन सकसपूर्ण हुने गरेको छ । पचासौँ वर्षपछिसम्मको आवश्यकतालाई दृष्टिगत गरी राजमार्ग छेउमा २०७० सालमा प्यारीभिट्टा बसपार्क निर्माण थालिएको थियो । झण्डै दुई सय बस एकैपटकमा पार्किङ गर्न सकिने क्षमताको उक्त बसपार्क निर्माण भए पनि सञ्चालनमा भने आउन सकेको छैन ।
    
मेचीनगर नगरपालिकाले आन्तरिक स्रोतबाट रु तीन करोड ३६ लाख र नगर विकास कोषको रु सात करोड ७७ लाख जुटाएर संयुक्त लगानीमा बसपार्क निर्माण अघि बढाइएको थियो । बसपार्क बनाउन स्थानीय शिवकुमार थापा, ध्रुव शिवाकोटीलगायत १२ जनाले करोडौँ मूल्य बराबरको पाँच बिघा चार कठ्ठा जग्गा नगरपालिकालाई निःशुल्क प्रदान गरेका थिए ।
     
विसं २०६८ असार १९ गते शिलान्यास गरेर दमकको लामा मैनाचुली शिवशक्तिले निर्माण थालेको थियो । दुई वर्षमा निर्माण भएको बसपार्क २०७४ भदौ १५ गते मेचीनगर नगरप्रमुख विमल आचार्य र संस्थापक नगरप्रमुख रविन कोइरालाले संयुक्तरूपमा उद्घाटन गरेका थिए । तत्कालीन बसपार्क सहयोग समितिका अध्यक्ष डिल्लीराम घिमिरे निर्माण भएर पनि बसपार्क सञ्चालनमा नआउनु दुःखलाग्दो विषय भएको बताउँछन् ।    
    
मेचीनगरकै ठूलो विकासे परियोजनाका रूपमा रहेको प्यारीभिट्टा बसपार्क निर्माणपछि दुई कार्यकाल जनप्रतिनिधिले नगरको नेतृत्व गरिसकेका छन् । बसपार्क प्रयोजनविहीन भए पनि नगर विकास कोषबाट लिएको ऋणको ब्याज नगरपालिकाले बर्सेनी तिर्दैआएको छ । मेची उद्योग वाणिज्य सङ्घका महिला उपाध्यक्ष बिना तामाङले विकास निर्माणमा ठूलो लगानी गरेर त्यसलाई प्रयोगविहीन राख्ने प्रवृत्तिको अन्त्य गर्न राजनीतिक दल र नागरिक समाज जागरुक हुनुपर्ने बताइन् ।    
    
नगरपालिकाले जनतामाथि ऋण बोकाएर निर्माण गरेको विकास परियोजना प्रयोगमा ल्याउन नसक्नु जनप्रतिनिधिकै कमजोरी भएको नेकपा (माओवादी केन्द्र)का झापा क्षेत्र नं १ का अध्यक्ष माधव अर्याल बताउँछन्। “बनेका संरचना के कारण प्रयोगमा आएनन् भनेर जनप्रतिनिधिले गम्भीर बन्नुपर्छ”, उनले भने, “यो त सरासर ऋणको दुरुपयोगजस्तो भयो ।”    
    
करोडौँ मूल्य पर्ने निजी जग्गा बसपार्क निर्माणका लागि दानमा दिएका जग्गादाता बसपार्क निस्क्रिय रहेकामा आक्रोशित छन् । “उपयोग नगर्ने हो भने किन हामीसँग जग्गा लिएको ?”, मेचीनगर–७ का जग्गादाता शिव थापा भन्छन्, “बसपार्क बन्दा कत्रो खुसीयाली थियो, अहिले प्रयोगमा नआउँदा बेकारमा जग्गा दिइएछ जस्तो लाग्न थालेको छ ।”    
    
बसपार्कलाई पूर्वाधारयुक्त बनाउन नगरपालिकाले धेरै संरचना निर्माण गरिसकेको छ । वरिपरि पर्खाल निर्माण गरिएको छ । उत्तरतिर पसल निर्माण गरिएका छन् । पूर्वी किनारमा ग्यारेजका लागि पूर्वाधार निर्माण गरिएको छ । सुरक्षा बन्दोबस्तका लागि आवास भवनसहितको प्रहरी पोस्ट बसपार्कमा निर्माण गरिएको छ । रात्रिकालीन उज्यालोका लागि विद्युत् र सौर्यबत्तीको पर्याप्त व्यवस्था मिलाइएको छ । राजमार्गबाट बसपार्क जोड्ने पहुँचमार्ग कालोपत्र गरिएको छ । तर बसपार्क नै सञ्चालनमा नआएपछि ती संरचना सबै बेकार सावित भएका छन् । रासस

 



Author

थप समाचार
x