पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा सन्तोषजनक उपलब्धी हासिल: प्राधिकरण
काठमाडौँ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा सन्तोषजनक उपलब्धी हासिल गरेको दाबी गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले स्थापना भएदेखि अहिलेसम्म पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा सन्तोषजनक उपलब्धी हासिल गरेको जनाएको हो । पुनर्निर्माण र पुनर्स्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशतको उपलब्धी प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण सुरु गरेका कुल लाभग्राहीको संख्या ७ लाख ५३ लाख १०४ अर्थात् झण्डै ९३ प्रतिशत पुगेको छ । यसै आर्थिक वर्षभित्र निजी आवासको मूलभूत काम सम्पन्न गर्ने लक्ष्य हासिल हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए। ‘यसै आर्थिक वर्षभित्र आधारभूत संरचनाहरूको पुनर्निर्माण सम्पन्न गर्ने र बाँकी रहेका कामहरु सम्बन्धित निकायहरुलाई हस्तान्तरण गर्ने कामको योजना बनाउन अहिले हामी लागिपरेका छौं, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, ‘पुनर्निर्माण र पुनस्र्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशतको उपलब्धि प्राप्त भएको छ ।’
भूकम्पपछि २९९ वटा असुरक्षित स्थानमा रहेका ४ हजार ७२० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको र १२ हजार ७८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण सिर्जना गरिएको प्राधिकरणले जानकारी दिएको छ । क्षतिगस्त ९२० सम्पदामध्ये ४९३ वटाको पुनर्निर्माण सम्पन्न गरेका र २८८ वटा पुनर्निर्माण भइरहेको पनि प्राधिकरणले जनाएको छ । त्यसैगरी, भूकम्पबाट क्षतिग्रस्त कुल ७,५५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न गरेको र १७ प्रतिशत विद्यालय पुनर्निर्माण भइरहेको ज्ञवालीले बताए । पुनर्निर्माणका लागि भएको दाता सम्मेलनमा प्रतिबद्धता व्यक्त भएको ४ सय १० अर्ब रुपैयाँमध्ये ६७ अर्ब राहत तथा उद्दार एवं अन्य कार्यक्रममा खर्च भएका ज्ञवालीले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया