पूर्वाधार

ढिलासुस्ती गर्ने निर्माण कम्पनीले बुझाए नगरसमक्ष कार्यविवरण

इकागज |
मंसिर १९, २०७९ सोमबार २१:५५ बजे

खोटाङ- खोटाङको महुरे–सिमपानी (राजापानी) सडक निर्माणको ठेक्का लिएको निर्माण व्यवसायीले नगरपालिका समक्ष कार्य विवरण पेश गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निर्देशनपछि महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक खण्ड कालोपत्रेको काम गरिरहेको भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले कार्य विवरण पेश गरेको हो ।

मेयर तीर्थराज भट्टराईले गत ३ कात्तिकमा पत्रकार सम्मेलनमार्फत अलपत्र १७ योजना र सम्बद्ध निर्माण कम्पनीको विवरण सार्वजनिक गर्दै भएका प्रगति, मासिक कार्ययोजना र मासिक प्रगति विवरण बुझाउन निर्माण व्यवसायीलाई निर्देशन दिएका थिए । 


उदयपुरको गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङभित्र पर्ने महुरे–फोक्सिङटार (४९ किलोमिटर) खण्डको महुरे–राजापानी सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीको जिम्मामा छ । तर, दुवै खण्डको कालोपत्रेको काममा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर भट्टराईले बताए । महुरे–फोक्सिङटार सडक दिक्तेलबाट उदयपुर हुँदै पूर्वी शहर आउजाउ गर्ने छोटो दुरीको बाटो हो । 

भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीका प्रतिनिधि सन्तोष ढकालले १६ मंसिरदेखि १३ पुससम्मको कार्यविवरण पेश गरेका हुन् । भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले १६ मंसिरदेखि हप्ता दिनसम्म सव–बेस मर्मत गर्ने, २३ मंसिरदेखि १० दिनसम्म बेस क्रसर उत्पादन गरी बेस बोक्ने, ३ पुसदेखि १० दिनसम्म बेस फिँजाउने र १३ पुसदेखि ४ किलोमिटरमा डिबीएसटी (पिच)को काम सुरु गर्ने कार्यविवरण पेश गरेको मेयर भट्टराईले बताए । कार्यविवरणमा विविध कारणले कालोपत्रेका क्रममा अवरोध भएमा नगरपालिकालाई जानकारी गराउने र सहयोगको अपेक्षा राखेको उल्लेख गरिएको छ ।

भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले २९ असार २०७७ भित्र सम्पन्न गर्ने शर्तमा ३० असार २०७३ मा महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो । 

४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगती देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ । सिद्धी शाही जेभीका दिपेन्द्र शाही कांग्रेस डोल्पा सभापति छन् । बीचमा ‘ग्याप’ गरेको निर्माण कम्पनीले कालोपत्रेको कामलाई सुचारु गराएको छ । 


Author

थप समाचार
x