पूर्वाधार

मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे

इकागज |
मंसिर २२, २०७९ बिहीबार १९:९ बजे

फाइल फोटो

सिन्धुपाल्चोक - मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे गरिएको छ । सडक डिभिजन कार्यालय चरिकोटबाट आएको टोलीले पुलको सर्भे गरेको हो । 

मेलम्ची तथा इन्द्रावती जोड्नका लागि ६५ मिटर लम्बाइ र पाँच दशमलव ६० मिटर चौडाइ पुलको आज सर्भे गरिएको डिभिजन प्रमुख अर्जुन सुवालले जानकारी दिए । 


त्यस्तै फट्टेमा ८७ मिटर लम्बाइ र सात मिटर चौडाइ पुलको पनि सर्भे गरिएको छ । विसं २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आमनागरिक समक्ष गरेको वाचा पूरा गर्नका लागि काम सुरु गरिएको बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ समिरले बताए । 

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का संघीय सांसद मोहनबहादुर बस्नेतको पहलमा काम सुरु भएको तामाङले जानकारी दिए ।  बस्नेतले जेठ मसान्तसम्ममा सो स्थानमा बेलिब्रिज निर्माण गरिसक्ने बताएका थिए । पक्की पुल बाढीले बगाएपछि मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नागरिकले सास्ती भोग्दै आइरहेका थिए । 

सो पुल बन्दा मेलम्ची, इन्द्रावती र पाँचपोखरी गाउँपालिकाका नागरिक लाभान्वित हुनेछन् । तत्कालका लागि बेलिब्रिजको लागि काम सुरु गर्ने र क्रमिकरूपमा पक्की पुलको काम पनि अगाडि बढ्ने नगरप्रमुख आइतमान तामाङले बताए । फट्टे हुँदै दुवाचौर र तालामाराङबाट भटार दुवाचौर जोड्ने पुलका लागि आज सर्भे गरिएको छ ।
रासस


Author

थप समाचार
x