पूर्वाधार

नारायणगढ–मुग्लिन सडकमा भित्तो काट्न सकस

इकागज |
माघ १९, २०७९ बिहिवार २०:२ बजे

फाइल फोटो

चितवन - चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्ने काम थपिएको समयभित्र पनि नसकिने भएको छ । निर्माण कम्पनीका अनुसार चार वटा पुलमध्ये एउटा पुलको भित्तो काट्ने काम नसकिने भएको हो ।

गत पुस ५ गतेदेखि यहाँ दैनिक चार घण्टा राजमार्ग नै बन्द गरेर भित्तो काट्ने काम जारी छ । तर कडा चट्टानका कारण थपिएको समयभित्र काम सम्पन्न नहुने अनक कन्स्ट्रक्सनका फिल्ड सुपरभाइजर इञ्जीनियर अर्जुन निरौलाले बताए । 'हालसम्म हामीले आठ ठाउँमध्ये चार ठाउँको भित्तो काट्ने काम सकेका छौँ । तीन ठाउँको ७० प्रतिशत काम भएको छ । तुइन र चिसेन्जी खोलाको ३० प्रतिशतमात्र काम गरेका छौँ', निरौलाले भने, 'तुइन खोलामा कडा चट्टान भएकाले अझ एक महिनाभित्र काम सम्पन्न गर्न कठिन छ ।'


उनका अनुसार चिसेन्जी र तुइन खोलामा आठवटा ठूला मेसिनले चट्टान फोर्ने काम गरिरहेका छन् । त्यसमा ३५ जनाको जनशक्ति खटिएको छ । सवारी आवागमनका कारण भित्तो काट्ने काममा समस्या आएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय चितवनले पहिलो चरणमा पुस ५ देखि माघ ५ गतेसम्म दिउँसो ११ देखि ३ बजेसम्म राजमार्ग नै बन्द गराएर आठवटा पुलको एकैपटक भित्तो काट्ने काम सुरु भएको थियो ।
 
सो अवधिमा पनि नसकिएपछि पुनः फागुन ५ गतेसम्मका लागि दिउँसो सडक नै बन्द गरेर काम भइरहेको छ । अहिले दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द हुँदै आएको छ । पटक–पटक म्याद थप गरे पनि कडा पहाडकै कारण ढिला भएको निर्माण कम्पनीले जनाएको छ । यसरी दिउँसो सडक बन्द गरेर काम हुँदा यात्रुहरूले भने सास्ती खेप्दै आएका छन् । तराईलाई राजधानीसँग जोड्ने मुख्य राजमार्ग भएकाले यस सडकमा दैनिक हजारौँ सवारीसाधन गुड्छन् ।
 
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत १५ वटा पुल निर्माणका लागि अनक कन्ट्रक्सनले रु एक अर्ब २५ करोडमा विसं २०७६ चैत ११ गते निर्माणको जिम्मा लिएको हो । यसको काम सक्नुपर्ने समयावधि २०७९ पुस ५ गते थियो । तर समयमा काम सम्पन्न नभएपछि आयोजनाले २०८० पुस ९ गतेसम्म म्याद थप गरिदिएको छ । 

यो अवधिमा खहरेखोला, खोरखोला, लामो बालुवा खोला, भोर्लेखोला, सेती दोभान, डुम्रे, सिमलताल, टोपे र नाम्चेखोलामा गरी नौवटा पुल निर्माण भइसकेका छन् । पाँचवटा पुल निर्माणाधीन छन् । जसमा जुगेडी, रिग्दीखोला, कालीखोला, तुइनखोला र सिसेन्जी खोलामा निर्माण काम जारी छ ।

सवारी आवागमन बन्द गरेर काम गर्दा प्रभावकारीरूपमा काम भएको आयोजनाले जनाएको छ । त्यसैका आधारमा फागुनपछि पनि दिउँसो सवारीसाधान बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए । 'फागुन ५ गतेसम्म तुइनखोलाको दायाँ भागको भित्तो काट्ने काम सकिने अवस्था छैन', उनले भने, 'तत्कालको अवस्था हेर्दा कडा खालको चट्टान छ, माघको अन्तिम सातासम्म कामको अवस्था हेरेर दिउँसो बन्द गर्ने÷नगर्ने निर्णय गर्छौं ।' 
रासस


Author

थप समाचार
x