पूर्वाधार

भौतिक मन्त्री नारायणकाजीको दाबी - तीन सातामा काठमाडौँका ९० प्रतिशत खाल्डाखुल्डी पुरिए

इकागज |
माघ २४, २०७९ मगलवार १९:३८ बजे

फाइल फोटो

काठमाडौँ - उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफूले काठमाडौँका सडकमा रहेका समस्या सबैसँग समन्वय गरेर समाधान गर्न सुरु गरेको बताएका छन् । उनले तीन सातामा झण्डै ९० प्रतिशत समस्या सुधार भएको दाबी गरे । 

मन्त्रालयको जिम्मेवारी सम्हालेको केही समयमा नै उनले सडकमा संरचना रहेका निकायका प्रमुखसँग बैठक गरेर मर्मत र सुधारका लागि लाग्न भनेका थिए । यो अवधिमा समग्र सडकमा ६० प्रतिशत सुधार देखिए पनि मन्त्रालयको कार्यक्षेत्रमा रहेका सडकमा ९० प्रतिशतमा सुधार रहेको बताए । 


अहिले सरकारको देश र समाजप्रतिको कार्यभार सामाजिक र आर्थिक रुपान्तरण गरेको उनले बताए । छ दशकभन्दा बढी समय विभिन्न किसिमका संघर्षको क्रममा हजारौँ शहीदले बलिदानी दिएको र बेपत्ता योद्धाको समर्पण रहेको उनले उल्लेख गरे ।  लाखौँ जनताको सङ्घर्षपछि राजनीति परिवर्तन भएकाले अब नागरिकले महसुस गर्ने गरी विकास गर्न लागिने उनले बताए । 

आर्थिक विकास नयाँ ढङ्गबाट हुन जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । जहाँ विकास भएको छ त्यहाँ विकास नै विकास हुने र केही सीमित ठाउँमा मात्रै विकास केन्द्रित गर्नेभन्दा सबै भागमा विकास पुग्ने गरी लाग्नुपर्ने उनको भनाइ छ । उनले भने, 'विपन्न वर्ग पनि लाभान्वित हुने गरी विकासका कार्यक्रम बनाउन आवश्यक छ र वातावरणलाई विकासको अंग बनाएर अघि बढ्नुपर्छ ।'
  
राजनीतिक परिवर्तन पछाडि पनि समाजको आवश्यकता र नागरिकको अपेक्षाअनुसार विकासको फड्को मार्न नसकिएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । यो अवधिमा धेरैथोरै काम गरिए पनि नागरिकलाई सन्तुष्ट बनाउन नसकिएको उनले बताए । उनले भने, 'राजनीतिक परिवर्तनका कारण मेरो जीवन फेरियो भनी जनताले महसुस गर्ने गरी गर्नुपर्छ ।' 

भौतिक पूर्वाधारले फड्को नमारेसम्म समग्र विकासले फड्को नमार्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए । नेपालमा विद्युत, पर्यटन, जडीबुटी वा जनशक्ति धेरै कुरा एकसाथ सम्भावना भएकाले ठीक रुपमा प्रयोग गरेर विकासको फड्को मार्न मन्त्रालयको महत्वपूर्ण भूमिका रहेको उनले बताए । 

विकासको सकारात्मक कुरा स्थापित गर्न र कमजोरीलाई औँल्याउन मिडियाको भूमिका निकै रहेको उनले बताए । आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफूलाई मिडियाले सधैँ सकारात्मक सुझाव दिइरहेको उनको भनाइ छ । 

खाल्डाखुल्डी पुर्ने काम मन्त्रालय एक्लैले चाहेर मात्रै गर्न नसकिने भएकाले भने पनि आठ निकायलाई एक ठाउँमा ल्याएर गरिरहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । सडक विभागले सडक मर्मत गरे पनि अरु निकायले मर्मत गर्नासाथ तत्काल खन्ने गरेकाले खाल्डा पूरै हटाउन नसकिएको उनले उल्लेख गरे । 

उनले भने, 'मेलम्चीको एक सय वर्ष पुरानो पाइप एकातिर समस्या आयो भनेर गर्दा नजिकै अर्कोतिर खाल्डा पर्ने भइरहेको छ ।'

मन्त्रालयमा सबैले सामूहिक निर्णय गर्ने र कार्यान्वयन चाहिँ आआफ्नो जिम्मेवारीअनुसार गर्ने गरी काम भइरहेको उनले बताए । आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सुशासन कायम गराउन, यातायात क्षेत्रको समस्या प्रदेशसँगको समन्वयमा समाधान गर्न र भौतिक पूर्वाधार क्षेत्रमा रणनीतिक नीति बनाएर लागू गर्न लागेको उनले बताए । 


Author

थप समाचार
x