पूर्वाधार

फेरि एक वर्ष समय थप्‍न माग

तीन वर्षमा सक्नुपर्ने नयाँ संसद् भवनको काम साढे तीन वर्षमा ६२ प्रतिशत मात्रै

इकागज |
चैत १६, २०७९ बिहिवार १२:५७ बजे

सिंहदरबारभित्र निर्माण गर्न लागिएको संसद् भवनको डिजाइन ।

काठमाडौँ - सिंहदरबारभित्र पुतली बगैँचामा निर्माण थालिएको नयाँ सङ्घीय संसद् भवन पूरा गर्न निर्माण व्यवसायीले एक वर्ष थप गर्न माग गरेका छन् । विसं २०७६ असोजमा संसद् भवन तीन वर्षमा निर्माण गर्नेगरी तुँदी सेक जेभी र सहरी विकास तथा भवन निर्माण विभागबीच सम्झौता भएको थियो । निर्माण कम्पनीले कोरोना सङ्क्रमणको कारण देखाएर छ महिना म्याद थप गराएअनुसार यही चैत मसान्तसम्म निर्माण गर्नुपर्नेमा भित्री संरचना पूरा हुन नसकेकाले अझै एक वर्ष समय माग गरेको हो । 

उक्त विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालका उपनिर्देशक दीपक श्रेष्ठले भवन पूर्णरूपमा सम्पन्न गर्न निर्माण व्यवसायीको प्रस्ताव प्रक्रियामा रहेको बताए । “निर्माण व्यवसायीले अनुमानित थप एक वर्ष माग गरेका छन् । जनशक्ति व्यवस्थापन गरी छ महिनाभित्र सम्पन्न गर्न विभागले प्रयास गरेको छ । एकवर्ष समय दिने या नदिने विषयमा भने अन्तिम निर्णय भएको छैन”, उनले भने ।


उपनिर्देशक श्रेष्ठले बाह्य संरचना बने पनि भित्री संरचना, फिनिसिङ, साजसज्जाको काम बाँकी रहेको जानकारी दिए । छ महिना समय थप गरेअनुसार चैतमा सम्पन्न हुनुपर्नेमा हाल ६२ प्रतिशत काम भएको र पूर्णरूपमा निर्माण गरी सञ्चालनमा आउन थप एक वर्ष लाग्ने उनको भनाइ थियो । कूल पाँच अर्ब ६७ करोड २६ लाख (भ्याटसहित)को लागतमा यो भवन बनाउने ठेक्का निमार्ण कम्पनी तुँदीले पाएको थियो । चौबिस हजार तीन सय ८० स्क्वायर मिटर ग्राउन्ड एरियामा १२ वटा भवन निमार्ण हुनेछन् भने कूल जमिन एरिया भने ७७ हजार छ सय ५१ स्क्वायर मिटर रहेको उपनिर्देशक श्रेष्ठको भनाइ थियो । 

संसद् भवनको स्वरूप आधुनिक र प्रविधिमैत्री ढङ्गले गरिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएका भवनको वास्तुकला तथा स्वरूप काठमाडौँको परम्परागत वास्तुकला झल्कने  खालको छ । संसद् भवन परिसरभित्र निर्माण गरिएका कार्यालयका सबै भवन एक अर्कासँग जोडेर निर्माण गरिएको छ । निर्माण भएका भवन तीनदेखि पाँच तलासम्मका छन् । 

हाल सङ्घीय संसद् सचिवालयले सहरी विकास मन्त्रालयअन्तर्गतको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संसद् भवनमा बनाइ वार्षिक साढे १४ करोड भाडा बुझाउँदै आएको छ । विसं २०७६ असोज १ मा तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले संसद् भवन शिलान्यास गरेका थिए । 

नयाँ सङ्घीय भवनमा पुस्तकालय 

सहरी विकास मन्त्रालयको गुरुयोजनाअनुसार उत्तर पश्चिम भागमा रहेको पुस्तकालय भवनको उत्तरतर्फ क्याटिन, दक्षिणतर्फ तल्लो सदन, पश्चिम र पूर्वी भागमा खुल्लाक्षेत्र राखिएको छ । आयोजनास्थलको कूल क्षेत्रफल ८८ हजार दुई सय ७१ दशमलव चार वर्गमिटरमध्ये पुस्तकालय भवनले सात सय १३ दशमलव ९६ वर्गमिटर क्षेत्रफल ओगटेको छ । 

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले भवन अवलोकन गरेपछि निर्माणाधीन पुस्तकालयको भित्री संरचना साँघुरो भएकाले परिमार्जन गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको थियो । 

समितिको निर्देशनअनुरुप मन्त्रालयले भवनको भित्री संरचनामा परिमार्जन गर्ने प्रयास गरिरहेको सहसचिव पदमकुमार मैनालीले बताए । उनले भने, “समयसापेक्ष अनुसार नै पुस्ताकालय निर्माण भइरहेको छ । समितिले दिएको निर्देशनपश्चात् भवनको भित्री संरचनामा मिल्नेसम्म हेरफेर गरेका छौँ । निर्माण सम्पन्न हुँदासम्म पुस्तकालय योग्य नै हुन्छ ।” समितिका सदस्य तुलसाकुमारी दाहालले पुस्ताकालयको भित्री संरचना परिमार्जन गर्न मन्त्रालयलाई समितिले निर्देशन दिएको बताए । 

उनले भने, “पुस्तकालयको भित्री संरचना साँघुरो र अँध्यारो रहेकाले परिमार्जन गर्न आवश्यक छ । मन्त्रालयले केही भित्री संरचना परिमार्जन गराएको छ । निर्माण सम्पन्न हुदाँसम्म पुस्ताकालय समयसापेक्ष हुनुपर्छ ।” 

भूकम्परहित निर्माणाधीन पुस्तकालयको पहिलो तलामा पत्रपत्रिका अध्ययन कक्ष, दोस्रोमा अभिलेखालय तथा सङ्ग्रहालय र तेस्रोमा महत्वपूर्ण कागतजात राख्ने मन्त्रालयको योजना रहेको सदस्य दाहालले जानकारी दिए ।  सिहंदरबारस्थित पुरानो प्रतिनिधिसभा भवन सार्क सम्मेलनका बेला मर्मत गरिए पनि भूकम्पपछि जीर्ण अवस्थामा छ । 

निर्माण भइरहेको भवनमा प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, कमन लबि, अति विशिष्ट व्यक्तिको कार्यकक्ष रहेको छ । त्यस्तै भवनसँगै पुस्तकालय, संसदीय दलको कार्यालय, संसदीय समिति, संसदीय सचिवालय, चमेना गृह, सञ्चार कक्ष, सवारीसाधन पार्किङ र सुरक्षाकर्मी लागि  भवन निर्माण भइरहेको छ । रासस
 


Author

थप समाचार
x