पूर्वाधार

भक्तपुरको डेकोचा चाँगु हुँदै साँखु सलम्बुटार जोड्ने सडक विस्तार सुरु

इकागज |
जेठ ७, २०८० आइतबार १७:७ बजे

फाइल तस्बिर

काठमाडौँ- भक्तपुरको डेकोचा चाँगु हुँदै साँखु सलम्बुटार जोड्ने सडक विस्तार हुने भएको छ ।​ पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोक अन्तर्गतको साढे आठ किलोमिटर लामो भक्तपुरको डेकोचा चाँगु हुँदै साँखु सलम्बुटार जोड्ने सडक विस्तार हुने लागेको हो ।

आइतबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले सडक खण्डको शिलान्यास गरे । कार्यक्रम बोल्दै मन्त्री दुलालले सो सडक खण्ड भक्तपुरलाई मध्यपहाडी लोकमार्ग र पुष्पलाल लोकमार्गसँग जेड्ने महत्वपूर्ण सडक भएको बताए । उनले यो सडक निर्माण सम्पन्न भएसँगै काभ्रे, सिन्धुपाल्चोक, रामेछाप जोड्ने र भक्तपुर आउन सहज हुने बताए ।


उनले सडक निर्माणको कामलाई समयमा नै सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले बागमती प्रदेशको समग्र विकासका लागि प्रदेश सडक पूर्वाधार गुरुयोजना निर्माणको काम अन्तिम चरणमा रहेको उल्लेख गरे । उनले गुरु योजनामा निर्माणको काम सम्पन्न भएसँगै प्रदेशले हेर्ने सडक खण्डको सूचीसहित योजनाबद्ध रूपले काम अगाडि बढाउने प्रतिबद्धता जनाए ।

त्यस्तै बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेलले डेकोचा चाँगु हुँदै साँखु सलम्बुटार जोड्ने सडक निर्माणको काम सम्झौता समाप्त हुने भन्दा छ महिना अगाडि नै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गरिएको बताए । उनले यो सडक खण्डको काम पनि नगरकोट जाने सडक खण्ड जस्तै ढिलाइ नहुने विश्वास समेत व्यक्त गरे ।

दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त सडक देव र सायर/ज्ञानज्योति/क्षितिज जेभीले संयुक्त रूपमा ३९ करोड ५५ लाख रुपैयाँ लागतमा निर्माण गर्न लागेका हुन् । १२ मिटर चौडाइको निर्माण हुने सडक खण्डमा ठेकेदार कम्पनीले सडक चौडा, डामर कंक्रीट, रिटिनिङ वाल, प्लम ड्रेन लगायतका काम गर्ने छन् । सडक कालोपत्र गर्ने काम ५ किलोमिटरको मात्रै हुने आयोजनाले जनाएको छ ।

स्थानीयहरूले भक्तपुरदेखि नगरकोट हुँदै सिपाघाट जोड्ने सडक निर्माणको काममा भएको ढिलाइ जस्तै डेकोचा चाँगु हुँदै साँखु सलम्बुटार जोड्ने सडकमा त्यस्तै हुने भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् । त्यसैले उक्त सडक समयमा नै सम्पन्न गर्नुपर्ने दबाबमा प्रदेश सरकारलाई रहेको छ । 

 


Author

थप समाचार
x