पूर्वाधार

एक दशकमा पनि निर्माण सम्पन्न भएन बालाजु–त्रिशूली सडक

इकागज |
जेठ १८, २०८० बिहीबार २१:४० बजे

फाइल तस्बिर

काठमाडौँ- निर्माण सुरु भएको एक दशकसम्म पनि बालाजु–त्रिशूली सडक सम्पन्न भएको छैन । निर्माणाधीन बालाजु–त्रिशूली ५५ किमी र त्रिशूली–छहरे ११ किमी मध्ये बालाजु–त्रिशूलीअन्तर्गत साढे चार किमी मात्रै सडक निर्माण भएको छ ।

लामो समयसम्म निर्माण व्यवसायीले काम नगर्दा अवरुद्ध सडकको ठेक्का गत वर्ष तोडिए पनि कानुनी अड्चनका कारण नयाँ ठेक्कामा जान नसक्दा निर्माण रोकिएको बालाजु–त्रिशूली–छहरे–बिदुरसडक योजनाका इन्जिनियर सागर भण्डारीले बताए । उनका अनुसार विसं २०७०/७१ म निर्माण कम्पनीसँग सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।


बालाजुदेखि पिपलटारसम्मको सडक निर्माणको जिम्मेवारी आइपीएल र सैलुङ कन्स्ट्रक्सनलाई दिइएको थियो । पटक–पटक अवधि थप हुँदासमेत काम नभएपछि गत वर्ष ठेक्का तोडेको उनले बताए । उनले भने, 'अहिले हामी बाँकी खण्डमा ठेक्का व्यवस्थापनको प्रक्रियामा अगाडि बढाउन लागेका छौँ ।' 

मुड्खु–तिनपिप्ले खण्डमा कालोपत्र भएपछि अहिले तिनपिप्लेबाट रानीपौवा खण्डको निर्माण बाँकी रहेको योजनाले जनाएको छ । 'यसअघि काम गरेको निर्माण कम्पनीको मुद्दा चलिरहेको छ भने रानीपौवादेखि पिपलटारसम्म खण्डको पनि मुद्दा अदालतमा विचाराधीन छ,' इन्जिनियर भण्डारीले भने । 

वर्षाको समयमा आवागमनमा निकै सास्ती हुने गरेको स्थानीयको भनाइ छ । अहिले सडक बिग्रिएको ठाउँमा काठमाडौँस्थित डिभिजन सडक कार्यालयले मर्मत गरिरहेको छ ।

इन्जिनियर भण्डारीले वर्षाको समयमा पनि आवागमन नरोकिने गरी मर्मत भइरहेको बताए । 'तीनपिप्लेबाट–रानीपौवा १२ दशमलव  ५१ किमी र रानीपौवा–पिपलटार ३३ दशमलव  ६९ किमी गरेर झण्डै ५५ किमी लम्बाइ छ । बालाजु–त्रिशूली ५५ किमी र त्रिशूली–छहरे ११ किमी गरी यस यो योजनाले ६६ किमी सडक निर्माण गर्नुपर्ने छ,' उनले भने ।


Author

थप समाचार
x