पूर्वाधार

यस्तो छ नागढुंगा सुरुङ मार्गको नालीबेली

हालसम्म २० प्रतिशत निर्माण पूरा

विकास थापा |
असोज १, २०७८ शुक्रबार १६:५८ बजे

काठमाडौं - काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य सडक नारायणघाट-मुग्लिङ-नौबिसे खण्डमा पर्ने नागढुंगा भञ्ज्याङमा निर्माण भइरहेको सुरुङ मार्ग २० प्रतिशत पूरा भएको छ । अहिलेको अवस्थामा निर्माण कार्य जारी भएमा तोकिएको अवधि (४२ महिना) भित्रै यो संरचना तयार हुने आयोजनाले जनाएको छ । आयोजना प्रमुख नरेश शाक्यका अनुसार हालसम्म पूर्वी खण्डमा सुरुङ खन्न जाने बाटो (अडिट) १२६ मिटर, मुख्य सुरुङ ३५५ मिटर र ड्रिलिङ र ब्लाष्टिङ (खन्ने र पड्काउने) कार्य २४१ मिटर पूरा भएको छ ।

उनका अनुसार यसरी खेनका सुरुङमा ढलान गर्ने (सोटक्रिट) र डण्डी बाँध्ने (स्टील रिब्स) कार्य भएका छन् । धादिङ खण्डमा माटो काट्ने, पर्खाल लगाउने, सडक चौडा पार्ने तथा सिस्नेखोलामा तटबन्ध भर्ने तथा पानी अन्यत्र तर्काउने (डाइभर्सन क्यानल) काम भइरहेको आयोजनाले जनाएको छ ।


यसैगरी पश्चिम द्वारमा  सुरुङ खन्न निस्कने र मुख्य सुरुङ खन्ने काम भएको र यसरी खनेका सुरुङमा सोटक्रिट गर्ने र डण्डी बाँध काम भएको छ । भित्तोलाई स्थिर राख्ने पर्खाल (क्रिब वाल) राख्ने कार्य पनि भइरहेको आयोजनाले जनाएको छ । यसैगरी पूर्व र पश्चिमी दुवै खण्डमा प्रवेश मार्गको काम पनि भइरहेको छ । 

आयोजनामा हाल पुल (ओभरपास), जमिनमुनिको सडक (अण्डरपास) र पानीको निकास (कल्भर्ट) र पानी आपूर्तिसम्बन्धी निर्माण कार्य भइरहेका छन् । यसअनुसार सुरुङ मार्गको लम्बाई २.६८ किलोमिटर, ३.५ चौडाइका दुई लेन, बीचमा १.५ मिटरको लेन (रुम्बल स्ट्रिप), दुवैतर्फ ०.५ मिटरको पानी बगाउने नाली पूर्वतर्फ २३२ किमीको प्रवेश मार्ग, पश्चिमतर्फ ५६५ मिटर हुनेछ । 

सुरुङ बाहिर र भित्री तयार हुने संरचनाहरुमा पूर्व र पश्चितर्फका द्वारहरु, तीनवटा पुल, जमिनमुनिका तीनवटा सडक, पुल एउटा, नेपालमै पहिलोपटक निर्माण हुन लागेको सडकमाथिको पुलरुपी सडक (फ्लाइओभर), दुवैतर्फ शुल्क उठाउने संरचना (टोल), भेन्टिलेसन (हावा आउजाउ गर्न दिने संरचना) लाइटिङ सिष्टम (सुरुङभित्र बत्ती राख्ने) र निकास संरचना छन् । 

सुरुङभित्र कुनै भवितव्य वा आपत् विपत्का घटना भएमा सात मिनेटभित्रमा घटनास्थल पुग्न सकिने गरी डिजाइन गरिएको र त्यसका लागि छुट्टै निकास सुरुङ रहने आयोजनाले जनाएको छ । आपत पर्दा उपयोग गरिने सुरुङ मुख्य सुरुङसँग हरेक ३७५ मिटरमा क्रस प्यासेज (बाटो काट्ने) जोडिने गरी डिजाइन गरिएको र यसअनुसार काम भइरहेको छ । यसका अलावा सुरुङ संरचनामा टेलिफोन र अग्नि नियन्त्रक पनि रहनेछन् । 

पूर्व तथा पश्चिम दुबैतर्फ नियन्त्रण कक्ष तथा सञ्चालन कार्यालय रहने र यसबाट सुरुङभित्र र बाहिरका हरेक गतिविधिलाई सीसीटीभीबाट निगरानी गरिने आयोजनाले छ । ‘कुनै आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहेको उद्धार टोलीलाई तत्काल खटाउनसमेत सकिनेछ,’ आयोजनाले भनेको छ । 

आयोजनामा जमिन मुनि र माथि दुवै गरी चौबीसै घण्टा बिजुली आपूर्ति गर्न र बत्ती गएमा तत्काल वैकल्पिक व्यवस्था गर्न ४.१४ किलोमिटर लामो विद्युत् लाइन विस्तार गरिने योजना छ । 

सडक विभागले सन् २०१३ को फेब्रुअरीदेखि २०१५ को मार्चसम्म विभिन्न चरणका सर्वेक्षणका आधारमा यो सुरुङ मार्ग प्रस्ताव गरेको थियो । यो पूर्वाधार निर्माण भएपछि नागढुंगा भञ्ज्याङमा सडकको अवस्था सुधारिनेर फलस्वरुप देशका अन्य स्थान तथा प्रमुख शहरहरुसँगको यातायात सम्पर्क भरर्दाे हुने आयोजना प्रमुख शाक्य बताउँछन् । समय र सञ्चालन खर्चमा बचत भई यात्रा सुरक्षित समेत हनाले देशको आर्थिक विकासमा समेत मद्दत पुग्न जाने आयोजनाको अपेक्षा छ । 

यो सुरुङ मार्गका अवयवहरुमा पूर्वतर्फ चन्द्रागिरी नगरपालिका, काठमाडौं जिल्ला र पश्चिमतर्फ धुनीबेसी नगरपालिका धादिङ जिल्ला छ । यसको निर्माणका लागि नेपाल र जापान सरकारबीच २२ डिसेम्बर २०१६ मा सहुलियतपूर्ण ऋण सम्झौता भएको थियो । 

आयोजनाको कूल लागत करिब २० अर्ब ६० करोडमध्ये जाइकाले १५ अर्ब ८० करोड ऋणमार्फत उपलब्ध गराएको छ । बाँकी ४ अर्ब ८० करोड नेपाल सरकारले बेहोर्दैछ । जापान सरकारको जाइकामार्फत प्राप्त भएको उक्त ऋणको ब्याजदर ०.०१ प्रतिशत छ र सुरुको दस वर्ष मिन्हासहित चुक्ता समय ४० वर्षको छ । आयोजनाले कूल लागतको ३२.३ प्रतिशत रकम खर्च गरिसकेको छ । 

सुरुङ मार्ग निर्माण कार्यअन्तर्गत विस्तृत डिजाइन, ठेकेदार छनौट, निर्माण सुपरीवेक्षण, सञ्चालन आदिका लागि सडक विभागको वैदेशिक समन्वय शाखाबाट जाइकाको सहमतिमा परामर्शदाताको नियुक्ति भइसकेको छ । परामर्शदाता एनके–इजेइसी–एनसीसी (संयुक्त उपक्रम) छ । यसलाई नेपालका दुई पुराना कन्सल्टिङ कम्पनीहरु जीइओसीई र इटिको–नेपालको सहकार्य पनि प्राप्त छ । सन् २०१७ को मार्च २७ देखि विस्तृत डिजाइन तथा ठेक्का बन्दोबस्तीसम्बन्धी सबै काम पूरा गरी ठेकेदार छनौट गरेको थियो । 

यसको ठेक्कापट्टा भने जापानको हाजमा एन्डो कर्पाेरेशनले पाएको छ । ठेक्का सम्झौता सन् २०१८ को सेप्टेम्बर २३ मा भएको यसको ठेक्का सम्झौता सन् २०२३ अप्रिल २६ (४२ महिना) मा पूरा हुनेछ ।  जापानी सहुलियतपूर्ण ऋण भए पनि यसको विश्वव्यापी ठेक्का भएको थियो ।

यसको ठेक्का चिनियाँ कम्पनीलाई दिलाउन अघिल्ला प्रधानमन्त्री केपी ओली र तत्कालीन भौतिक योजना मन्त्री रघुवीर महासेठले प्रयास गर्दा आयोजना सुरु हुन डेढ वर्ष ढिला भएको थियो ।
 
निर्माण कार्यमा भएका समस्या र बाधाहरु
आयोजनाका अनुसार खत्रीपैवामा पहिरो गएका कारण केही घरहरुमा जोखिममा परेका छन् । सुरुङ निर्माणले गर्दा भूमिगत पानीमा कमी हुन गएको छ । पूर्वी द्वारमा बम पड्काएर पहाड फोड्दा त्यसको कम्पनले घरहरु चर्किएको जनगुनासो आयोजनाले प्राप्त गरेको शाक्यले बताए । आयोजनाले सम्बन्धित परामर्शदातालाई अध्ययन गरी प्रतिवेदन पेश गर्न अनुरोध गरेको पनि उनले जानकारी दिए ।

यता बलम्बु फ्लाइ ओभर (सडकमाथिको पुल रुपी सडक) निर्माणका लागि जग्गा अधिग्रहण गर्न दररेट निर्धारण हुन सकेको छैन । त्यसैगरी पश्चिम द्वार क्षेत्रको ‘रोड साइड सर्भिस स्टेशन’ मा अनधिकृत रुपमा निर्माण भएका भनिएको पाँचवटा घर तथा टहररु स्थानीय व्यक्तिले हटाउन अटेर गरेका छन् । यसले गर्दा निर्माण सामग्री भण्डार गर्न नसकिएको आयोजनाले जनाएको छ । 

ती सम्बन्धित घर टहराहरुले ५० प्रतिशत मुआब्जा भने बुझिसकेका छ् । अनधिकृत घर टहरबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । 
अख्तियारले गर्ने निर्णयबमोजिम हुने गरी हाललाई ती संरचना भत्काउन र बाँकी ५० प्रतिशत क्षतिपूर्ति लैजान आयोजनाले अनुरोध गर्दै आएको छ । तर त्यति गर्दा पनि स्थानीयले ती घरटहरा भत्काउन मानेका छैनन् । अनधिकृत घर टहरबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । 

आयोजना प्रमुख शाक्यका अनुसार वैश्विक महामारी कोभिड-१९ ले पारेका असर आकलन हुन बाँकी छ ।


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x