पूर्वाधार

'फास्ट ट्रयाक'बाट मेलम्चीको पानी छिट्टै काठमाडौँमा: मन्त्री चौधरी

इकागज |
कात्तिक २२, २०७८ सोमबार १७:६ बजे

सिन्धुपाल्चोक- खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी छिट्टै काठमाडौँ पठाउने बताएका छन् । 'फास्ट ट्रयाक'बाट अस्थायी संरचना निर्माण गरेर तत्काल मेलम्चीको पानी काठमाडौँ लाने उनले बताएका हुन् । 

हेलिकप्टरबाट आज (सोमबार) मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान पुगेका चौधरीले स्थायी संरचनाको काम पनि तत्काल थाल्ने बताए । उनले भने, 'अहिले अस्थायी संरचनाबाट पानी छिट्टो काठमाडौँ लान्छौं, स्थायी संरचनाको काम पनि सुरु हुनेछ ।' 


 छिट्टो काम सक्नकालागि मन्त्रालयका सचिव र मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशकलाई निर्देशन दिएको चौथरीले बताए । हेलम्बु मेलम्चीको बाढीको मुहानस्थल भ्रेमाथाङ पनि पुगेका मन्त्री चौधरीले एसियाली विकास बैंक (एडिबी)लाई मेलम्ची खानेपानीको मुहानको जलाधार क्षेत्रको संरचना अध्ययन गर्न आग्रह गर्ने बताएका छन् ।

 हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले मेलम्चीको पानी छिट्टो काठमाडौँ पठाउने प्रक्रिया थाल्न आग्रह गरेका छन् । उनले मेलम्चीको मुहान अम्बाथान पहिरोको जोखिममा रहेकाले खानेपानीको स्थायी संरचना सर्कथलीमा निर्माण गर्न पनि मन्त्रीलाई सुझाव दिएका छन् ।

 गत असार १ गते आएको बाढी र पहिरोले मेलम्ची करिडोरमा अर्बौको क्षति पुर्‍याएको थियो । पानीसहितको लेदोले मेलम्ची खानेपानी आयोजनाको संरचनासमेत ध्वस्त बनाएको थियो । 
 


Author

थप समाचार
x