पूर्वाधार

बुटवलमा सिद्धार्थ केवलकारको शिलन्यास

विक्रम खड्का |
फागुन ९, २०७७ आइतवार १४:५२ बजे

बुटवल  :  बुटवलमा सिद्धार्थ केवलकारको शिलान्यास भएको छ । यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमै वसन्तपुर जोड्ने फागुन १ गते लुम्बिनी केवलकारको शिलान्यास गरेका थिए । बुटवलको शिर नुवाकोट गढीसम्म पुग्ने सिद्धार्थ केवलकारको शिलान्यास आइतबार अर्थमन्त्री विष्णु पौडेलले आइतबार गरे । 
बुटवलबाट पाल्पाको नुवाकोट गढीसम्म सञ्चालनमा आउने सिद्वार्थ केवलकार आयोजनाको शिलान्यास भएको हो । 

बुटवल तथा यस आसपासका ब्यवसायीको लगानी रहेको यो परियोजना १८ महिनाभित्र पूरा हुने लक्ष्य राखिएको सिद्वार्थ केवलकार प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङ्गले जानकारी दिए । करिव ८० करोडको लगानीमा निर्माण हुन गइरहेको यो केवलकारले बुटवलको पर्यटन ब्यवसायलाई गति दिने विश्वास कम्पनीको छ ।


अध्यक्ष गुरुङ्गका अनुसार यो केवलकारमा २५ वटा गण्डोल हुने र दैनिक ५ हजार ब्यक्तिलाई ओहोरदोहोर गराउन सकिने छ । जसमा एकतर्फी रुपमा जान वा आउन ८ मिनेटको समय लाग्ने छ । यो केवलकार निर्माणका लागि भारतको कलकत्तामा रहेको कन्वेयर एण्ड रोप वे सर्भिसेजसँग सम्झौता भइसकेको छ । 

यसको मुख्य विशेषता नेपालमा केवलकारको निर्माणमा जनशक्तिको अभाव भइरहेको अवस्थामा यो परियोजनामार्फत् बुटवल टेक्निीकल इन्स्टिच्यूटले प्रविधि भित्र्याउँदै छ । ‘हामीले प्रविधि भित्र्याउने मात्र हैन जनशक्ति उत्पादन गर्नका लागि आवश्यक तयारी गरेका छौँ, इन्स्टिच्यूटका कार्यकारी निर्देशक पीएल श्रेष्ठले भने । वि.सं २०५५ मंसिर ८ गतेदेखि पहिलो केबलकारको रुपमा मनकामना केबलकार सञ्चालनमा आएपछि पर्यटन ब्यवसायमा यसको प्रभावकारिता बढ्दै गएको छ । काठमाडौँ उपत्यकामा चन्द्रागिरी केवलकार संचालन गरेका नेपालका प्रतिष्ठीत व्यवसायी चन्द्र ढकालले यस अघि बुटवलमै केवलकार निमार्णको थालनी गरिसकेका छन् । उनले एक वर्षभित्रै केवलकार निमार्णको कार्य सकिने दावी गरे । 

पाल्पाको नुवाकोट बुटवलको वडा नं १ र १३ को शिवालिक चुरे श्रृखलाको पानी ढलको भूभाग हो । यो ऐतिहासिक र पुरातात्विक स्थल हो । नुवाकोटको पूर्वी भाग पाल्पाको दोभान क्षेत्र १ करोड १० लाख वर्ष पुरानो मानव पुर्खा रामापिथेकशको उद्गमस्थल हो । कर्णेल उजिर सिंह थापाले नुवाकोटगढीमा मोर्चावन्दी गरेर अंग्रेजलाई परास्त गरेका थिए । 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x