बीमा

झन्डै १ वर्षसम्म नवीकरण बिना बीमा कम्पनी सञ्‍चालन, बीमा समिति रमिते

इकागज |
साउन ३०, २०७९ सोमवार १९:५० बजे

काठमाडौँ - बीमा कम्पनीहरूले झन्डै एक वर्षसम्म बिना नवीकरण कम्पनी सञ्चालन गर्दा नियामक निकाय बीमा समिति रमिते बनेको छ । 

बीमा समितिले आफ्नो कार्य सम्पादनको सिलसिलामा बीमा ऐन, नियमावली, निर्देशिका र मार्गदर्शनमा उल्लिखित प्रावधान र मापदण्ड अनुसार सबै बीमकहरुलाई समान किसिमले परिचालन गर्न नसकेको भन्दै महालेखाको कार्यमूलक प्रतिवेदनले प्रश्न उठाएको हो। सम्बद्ध ऐेनले नवीकरण नगरी काराेबार सञ्चालनमा राेक लगाएकाे छ । तर बीमक कम्पनीहरुले ऐन-कानुनलाई लत्याउँदै सातदेखि झण्डै एक वर्षसम्म नवीकरण नै नगरी काराेबार सञ्चालन गरेका हुन् ।


बीमा ऐन, २०४९ को दफा ११ अनुसार बीमकले आफ्नो दर्ताको प्रमाणपत्र नवीकरणको लागि प्रत्येक वर्ष चैत्र मसान्तसम्ममा बीमा समितिको कार्यालयमा निवेदन दिनुपर्नेमा झन्डै एक वर्षसम्म पनि नवीकरण नगर्ने कम्पनीहरू देखिएको उक्त प्रतिवेदनमा उल्लेख छ  । गुराँस लाइफ इन्स्योरेन्स ११ महिना  ढिलो नवीकरण गर्दा पनि नियामक बीमा समितिले कुनै कारवाही नगरेको उक्त प्रतिवेदनमा उल्लेख छ।

समयमा नवीकरण नगर्ने बीमा कम्पनीहरू

बीमा समितिको निर्देशिका अनुसार म्यादभित्र निवेदन दिन नसकेमा त्यसको कारण खुलाइ म्याद सकिएको मितिले ३० दिनभित्र समिति समक्ष निवेदन दिएमा र समितिले सो कारण मनासिव देखेमा त्यस्तो बीमकको दर्ताको प्रमाणपत्र नवीकरण गरिदिन सक्नेछ । तर दफा ११ मा जुनसुकै कुरा लेखिएको भएपनि दफा ११ क मा वासलात, आम्दानीको हिसाब, लेखापरीक्षणको प्रतिवेदन, बीमाङ्कको प्रतिवेदन पेश नगरेमा, सेवा शुल्क नबुझाएमा र बीमा व्यवसाय गर्न रोक लगाएको अवस्थामा त्यस्तो बीमकको दर्ता प्रमाणपत्रको नवीकरण नहुने उल्लेख छ ।

बीमकले बीमा सम्बन्धी कारोबार गर्नुभन्दा पहिले बीमक दर्ता प्रमाणपत्र नवीकरण गराउनुपर्ने ऐनमा व्यवस्था छ । तर इजाजत नवीकरण नगरी वर्ष दिनभन्दा पनि बढी समय व्यतित भएपछि पनि नवीकरण गरेको देखिन्छ । ऐन र नियमावलीमा नवीकरण गर्न मिल्ने व्यवस्था नै नभए पनि गत वर्षको अवधिको नवीकरण गरको देखिएकोले ऐन र नियमावलीमा भएको व्यवस्थाको पालना नगरेको उक्त प्रतिवेदनमा उल्लेख गरेको छ। 

यस्तै आगामी वर्षको कारोबार गर्न दर्ता प्रमाणपत्र नवीकरणको म्याद सकिनु पूर्व नै बीमकले निवेदन दिनुपर्ने कानूनी व्यवस्था भएपनि कतिपय बीमकले नवीकरणको म्याद सकिएपछि मात्र नवीकरणको लागि निवेदन गरेको पनि सो प्रतिवेदनमा उल्लेख छ । ढिलो गरी नवीकरणको लागि निवेदन गर्ने बीमकलाई बीमा समितिले कुनै पनि कारबाही नगरेको उल्लेख छ। 

बीमा व्यवसायलाई व्यवस्थित र विश्वसनीय बनाउन सबै बीमकहरुको कारोबारलाई समान किसिमले सञ्चालन गर्ने, विस्तार गर्ने, बीमा व्यवसायको मापदण्ड तोकिदिने, बीमितको कारोबारलाई व्यवस्थित तथा पारदर्शी बनाउन अनुगमन गर्ने, निर्देशन दिने नियन्त्रण गर्ने र दण्डित गर्ने कार्य बीमा समितिको कार्यक्षेत्रमा पर्दछ ।

यसका साथै अर्ध न्यायिक निकायको रुपमा बीमितको उजुरी सुन्ने, छानबिन गर्ने र निर्णय गर्ने कार्य पनि समितिले गर्दछ । बीमा समितिले आफ्नो कार्य सम्पादनको सिलसिलामा बीमा ऐन, नियमावली, निर्देशिका र मार्गदर्शनमा उल्लिखित प्रावधान र मापदण्ड अनुसार सबै बीमकहरुलाई समान किसिमले परिचालन गर्न नसकेको सो प्रतिवेदनको ठहर छ।


Author

थप समाचार
x