बीमा

नेको इन्स्योरेन्सले दिएन बीमाको दाबी भुक्तानी रकम

कमल धिताल |
भदौ ९, २०७९ बिहीबार १७:५४ बजे

काठमाडौँ – बीमा कम्पनी र सर्भेयरको मिलोमतोको कारण जलविद्युत कम्पनीहरू समस्यामा पर्न थालेका छन् । बीमा कम्पनीले विभिन्न कारणले क्षति पुगेका जलविद्युतमा खटाएका सर्भेयरले कम्पनीको निर्देशनमा ढिलो गरी विवरण दिने र कतिपय अवस्थामा रिपोर्ट नै नदिने गरेको पाइएको छ। बीमा गराएवापत प्रिमियम तिर्नका लागि पटक पटक ताकेता गर्ने बीमा कम्पनीहरू दुर्घटना तथा क्षतिको भुक्तानीका लागि भने अनेक झन्झट देखाउने गरेका छन् ।

केही समयअघि एक सार्वजनिक कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूले बीमा क्षेत्रको विश्वासनियता गुमाउँदै गएको बताएका थिए । सिलवाल भनेजस्तै बीमा कम्पनीहरूले आफ्ना ग्राहक वा बीमितहरूलाई बीमा गराउनका लागि जुन प्रकारले पहल गराएका हुन्छन् तर दाबी भुक्तानीका सन्दर्भमा भने अनेक झन्झट दिने गरेका छन्। बीमा कम्पनीहरूले दाबी परेपछि वर्षौसम्म बीमितहरूलाई अल्झाएर राख्ने, दाबी भुक्तानी समयमा नै नगर्ने भएका कारण बीमा कम्पनीहरूप्रति जनविश्वास कम हुँदै गएको सरोकारवाला बताउँछन्।


कोरोना बीमा गरेर भुक्तानी नगरेपछि उसै त बदनाम रहेको जीवन बीमा क्षेत्र होस् या क्षति भएको वर्षौसम्म पनि विभिन्न बाहानामा भुक्तानी नगर्ने निर्जीजन बीमा क्षेत्र होस् यो क्षेत्रप्रतिको विश्वास दिनानुदिन घट्दै गएको छ।

बीमा गराउन विभिन्न कसरत र उपाय गराउने बीमा कम्पनीले भुक्तानीमा भने विभिन्न कारण देखाउँदै भुक्तानीमा आनाकानी गर्ने गरेका छन् । बीमा गराउनुअघि विभिन्न प्रलोभन देखाउने र बीमा भुक्तानीको लागि भने विभिन्न कारण तथा पत्र नपुगेको सर्भेयरले रिपोर्ट नदिएको लगायतका कारण बीमा कम्पनीहरूले गरेका छन् ।

यस्तै पछिल्लो पटक नेको इन्स्योरेन्सले एक जलविद्युत कम्पनीलाई क्षति हुँदा झन्डै १ वर्षसम्म पनि बीमा रकम भुक्तानी गरेको छैन । क्षति भएको कम्पनीले सबै कागजी प्रक्रिया पुरा गर्दा पनि झन्डै १ वर्षसम्म बीमा दाबी भुक्तान नगरेको हो ।

गत वर्ष २०७८ कार्तिक २ गते आएको बैमौसमी बाढीले इलाममा रहेको सगरमाथा जलविद्युत कम्पनी अन्तर्गत रहेको सुपार माइ ए ९.६ जलविद्युत तथा सुपरमाइ क्यासकेड ३ मेगावाट जलविद्युत आयोजनालाई बाढीले नराम्रोसँग क्षति पुर्‍यायो ।

बाढीले जलविद्युतमा क्षति भएपछि कम्पनीले बीमा गरेको कम्पनी नेको इन्स्योरेन्सलाई क्षतिको जानकारी सहित कम्पनीले दाबी भुक्तानीको लागि चाहिने प्रक्रिया पुरा गरेर डकुमेन्ट पठाएका ११ महिना लाग्दा समेत नेको इन्स्योरेन्सले बीमा दाबी भुक्तान नगरेको कम्पनीले जनाएको छ।

क्षति भएका दुई जलविद्युत कम्पनीले बीमा दाबीको लागि कम्पनीले मागेका सबै डकुमेन्ट पठाउँदा पनि करिव १ वर्षसम्म क्षति वापतको रकम नपाएको कम्पनीका म्यानेजर सन्दिप अधिकारीले जानकारी दिएका छन् । प्रत्येक वर्ष महँगो प्रिमियम तिर्नुपर्ने दुर्घटना तथा क्षति भएका अवस्थामा बीमा गराउने कम्पनीले समयमै भुक्तानी नदिँदा यस्ता जलविद्युत कम्पनीले करोडौँ क्षति हुने गरेको छ।

‘हामीले समयमै कम्पनीले मागेको सम्पूर्ण कागजपत्र दिँदा पनि कम्पनीले हालसम्म पनि सर्वेयरले रिपोर्ट नदिएको भन्दै कम्पनी पन्छिने गरेको छ,' अधिकारीले भने .

बीमा दाबी बापत २ कम्पनीको गरी झन्डै ७ करोड ५७ लाख (लस अफ प्रोफिट (एलओपी) बाहेक) बीमा भुक्तानीको लागि पटक पटक कम्पनीमा धाउदा पनि नेको इन्स्योरेन्सले सर्भेयरबाट रिपोर्ट नआएको र सर्भेयरले रिपोर्ट दिएको केही दिनमा नै काम हुने भन्दै जबाफ दिने गरेको कम्पनीको गुनासो छ।  

उता बीमा बापतको भुक्तानी दिनुपर्ने नेको इन्स्योरेन्सले आफूले खटाएको सर्भेयरलाई पटक पटक ताकेता गरेतापनि रिपोर्ट नदिएको जबाफ दिन्छ। नेको इन्स्योरेन्स कम्पनीका दाबी भुक्तानी शाखाका प्रमुख जनक शर्मा पराजुली भन्छन् ‘हामी पनि प्रक्रिया हुन्छ सर्भेयरबाट रिपोर्ट नआएको कारण हामीले उहाँहरूलाई भुक्तानी गर्न नसकेको हो। रिपोर्ट आएको ७ दिनमै हामी भुक्तानी गर्छौँ।‘

यस्तै सर्भेयर ओमप्रकाश राठी पनि आफू हाल यसको रिपोर्ट बनाउनेतर्फ लागेको र अबको केही महिनामा पठाउने बताउँछन् । उनले भने 'सिस्टममा गर्नुपर्ने काम भएको हुँदा यसमा समय लागेको हो म हाल पनि यसको फाइनल गर्नमै लागेको छु अबको केही समयमा म रिपोर्ट फाइनल गरेर कम्पनीमा पठाउँछु।'

नेको इन्स्योरेन्सका कार्यकारी अधिकृत अशोककुमार खड्काले भने इकागजले जानकारी दिएर पटक-पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा आउन चाहेनन्।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका प्रवक्ता राजुरमण पौडेल जलविद्युतमा क्षेत्रमा भएको क्षतिमा सर्भेयरले प्रारम्भिक प्रतिवेदन दिएपछि पूर्ण अध्ययन गरेर फाइनल प्रतिवेदन दिएको ३५ दिनभित्र दाबी फर्छ्यौट गर्नुपर्ने व्यवस्था रहेको बताउँछन् । तर कतिपय बीमा कम्पनीहरूले भने बीमाको भुक्तानी समयमा नगर्ने गरेको गुनासो समितिमा आउने गरेको र समितिले यसलाई गम्भीरतापूर्वक लिएको बताउँछन् ।


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x