बीमा

कनेक्ट आइपीएसमा यसरी गर्न सकिन्छ बीमा सर्भेयर र अभिकर्ताको नवीकरण

इकागज |
चैत ९, २०७८ बुधवार १३:१० बजे

काठमाडौँ – कनेक्ट आइपीएसमार्फत बीमा समितिले सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण सुरु गरेको छ। नेपाल राष्ट्र बैङ्कबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिप्राप्त संस्था नेपाल क्लियरिङ हाउस लिमिटेडको कनेक्ट आइपिएस मार्फत डिजिटल माध्यमबाट इजाजतपत्र नवीकरणका लागि लाग्ने दस्तुर बीमा समितिको खातामा बुझाएर बीमा सर्भेयर र बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न सक्ने व्यवस्था गरिएको हो।

इजाजतपत्र नम्बर र जारी मिति टाइप गरेपछि नवीकरणका लागि लाग्ने शुल्कको जानकारी सिस्टम ले नै क्यालकुलेट गरेर दिन्छ । तत्पश्चात् अनलाइनबाटै नवीकरण शुल्क बुझाउन सकिन्छ र त्यसरी बुझाएको रकमको रसिद पीडीएफ फम्र्याटमा प्रिन्ट गर्न सकिनेछ ।


संस्थागत बीमा सर्भेयरले कनेक्ट आईपीएस मार्फत बीमा समितिको खातामा इजाजतपत्रको नवीकरण शुल्क बुझाउनुका साथै समितिको इमेलमा संस्था नवीकरण प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र र नवीकरण अघिका कामको विवरण पठाएपछि बीमा सर्भेयर इजाजतपत्र नवीकरण हुने व्यवस्था छ । व्यक्तिगत बीमा सर्भेयरले भने कनेक्ट आईपीएस मार्फत नवीकरण शुल्क र कामको विवरण बुझाएपछि इजाजतपत्र नवीकरण हुनेछ ।

यसैगरी, संस्थागत बीमा अभिकर्ताले पनि कनेक्ट आईपीएसमार्फत बीमा समितिको खातामा इजाजतपत्रको नवीकरण शुल्क बुझाउनुका साथै समितिको इमेलमा संस्था नवीकरण प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र र नवीकरण अघिका कामको विवरण पठाएपछि इजाजतपत्र नवीकरण हुने व्यवस्था गरिएको छ । व्यक्तिगत बीमा अभिकर्ताको हकमा भने त्यसरी अनलाइनबाट नवीकरण शुल्क बुझाउनुका साथै कामको विवरण पठाउनु पर्दछ ।

त्यसरी पठाइएका विवरण सम्बन्धित बीमा कम्पनीको सिस्टममा जान्छ र त्यहाँबाट अनलाइन प्रणालीबाटै सिफारिश भएर आएपछि सम्बन्धित बीमा अभिकर्ताको इजाजतपत्र बीमा समितिबाट नवीकरण हुने व्यवस्था गरिएको छ ।

नवीकरण भएको इजाजतपत्रका बारेमा सम्बन्धित बीमा सर्भेयर र बीमा अभिकर्ताले बीमा समितिको वेभसाइटमा गएर आफ्नो इजाजतपत्रको नम्बर र जारी मिति टाइप गरेपछि जानकारी प्राप्त गर्न सक्ने छन् ।

अनलाइन प्रणालीमार्फत बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्रको नवीकरण कार्यको शुरूवात भएसँगै इजाजतपत्र नवीकरणका लागि बीमा समितिमा आउनुपर्ने बाध्यताको अन्त्य भएको छ । अब देशभरका जुनसुकै स्थानमा रहेका बीमा सर्भेयर र बीमा अभिकर्ताले आफू रहेको स्थानबाट नै अनलाइन प्रणालीबाट इजाजतपत्र नवीकरणका लागि लाग्ने शुल्क बुझाउन र अनलाइनबाटै इजाजतपत्र नवीकरण भएको जानकारी प्राप्त गर्न सक्नेछन् । हाल देशभरका गरी नवीकरण योग्य बीमा सर्भेयरको संख्या करिव एक हजार दुईसय पचास र बीमा अभिकर्ताको संख्या करिव तीन लाख रहेको छ ।

यसरी गर्नुहोस् पेमेन्ट

बीमा समितिले बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्नका लागि सबैभन्दा पहिला कनेक्ट आइपीएसमा आफ्नो आइडी र पासवर्ड राखेर लगइन गर्नुहोस् ।

कनेक्ट आइपीएसमा अकाउन्ट छैन् भने प्ले-स्टोर वा एप्स स्टोरमा गएर डाउनलोड गर्नुहोस् । डाउनलोड पश्चात आफ्नो इमेल राखेर अकाउन्ट बनाउन सक्नुहुन्छ । अकाउन्ट खातासँग लिंक गर्न एकपटक बैंक जानुपर्छ (नयाँ प्रयोगकर्ताको हकमा) यसरी अकाउन्ट तयार पश्चात तलको प्रक्रिया मार्फत पेमेन्ट गर्न सक्नुहुन्छ ।

  • कनेक्ट आईपीएस लगइन गर्ने,
  • पेमेन्ट ट्याबको सेमि गभर्मेन्टमा क्लिक गर्ने,
  • बीमा समितिको लोगोमा क्लिक गर्ने,
  • एजेन्ट वा सर्भेयर कुन हो सोमा क्लिक गर्ने,
  • अन्य मागेका आफ्ना विवरणहरू सब्मिट गर्ने ।

 

 


Author

थप समाचार
x