विचार

पार्टीहरूमाथि बढ्दो जनअविश्वास र आशालाग्दा स्वतन्त्र हस्तक्षेपका संकेत

ईश्वरीप्रसाद पोखरेल |
जेठ ९, २०७९ ८:३२ बजे

नेपालको राजनीतिमा पञ्चायत वा बहुदलीय राजनीतिक प्रणालीको छनोट गर्ने जनमत संग्रहपछि सुधारिएको पहिलो पञ्चायती आवधिक निर्वाचन सम्पन्न भयो । यस निर्वाचनमा २०३८ जेठमा गृहमन्त्रीको हैसियतको अनुभव सँगालेका सुप्रसिद्ध पञ्च जोगमेहर श्रेष्ठ पराजित भए । निर्दलीय व्यवस्थामा प्रतिस्पर्धी अन्य बहुउम्मेदवारहरूलाई फराकिलो मतबाट पराजित गर्दै ६२८१० मत ल्याएर नानीमैया दाहाल विजय भएकी थिइन् ।

राजनीतिक विचलन र जनताको असन्तुष्टिको चर्चा काठमाडौँमा हुँदा सधैँ दाहालको जितलाई उदाहरण प्रस्तुत हुने गर्दछ । २०७९ सालमा बालेन शाहको काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र हैसियतको उम्मेदवारीलाई प्रारम्भमा सबैबाट उपेक्षा गरियो । तर चुनावी परिणामले बालेन शाहलाई मेयर पदमा आसीन गर्ने, गराउने दिशामा मताधिकार प्रयोग भएको स्पष्ट देखिन्छ । यो लेख स्थानीय चुनावका भोगाइ, गतिविधि र कार्यव्यवहार तथा जनअपेक्षासित जोडिएर प्रस्तुत गर्ने प्रयासमा लेखिएको छ । 


स्थानीय तहमा पार्टीहरूको नेतृत्वदायी उपस्थिति 
२०७४ मा नेकपा एमाले २९६, नेपाली कांग्रेस २६६ र विजय गच्छदार समूहको लोकतान्त्रिक पार्टीको ९ वटा गरी २७५, नेकपा माओवादी केन्द्र १०६, समाजवादी – बाबुराम, उपेन्द्र) ३६, राष्ट्रिय जनता पार्टी (महन्थ तथा राजेन्द्र) २५ र विभिन्न ससाना पार्टी र स्वतन्त्र गरी २३ जनाले ७५३ स्थानीय तहको प्रमुख नेतृत्व प्राप्त गरेका थिए । तर २०७९ सालको स्थानीय निर्वाचनको २०७९ जेठ ६ गतेसम्मको विजय र अग्रताको अवस्था विश्लेषण गर्दा यो अग्रता यथावत कायम रहेमा देहायको चित्रको राजनीतिक वृत्तमा प्रतिनिधित्वमा स्थापित हुने सम्भावना बढेर गएको देखिन्छ :

प्रतिनिधित्व गर्ने दलको नाम जित हासिल प्रमुख जित हासिल उपप्रमुख  अग्रताकायम प्रमुख अग्रताकायम उपप्रमुख सम्भावना प्रमुख संख्या सम्भावना
उपप्रमुख संख्या
नेपाली कांग्रेस  ३२० २९५ ३२६ ३००
नेकपा एमाले १९७ २२६  ९ १५ २०६ २४१
नेकपा माओवादी केन्द्र १२० १२६ १२२ १२८
जसपा नेपाल  २९  ३०  २  ३१ ३२
नेकपा एस १७ २१ १९ २३
राष्ट्रिय प्र.पार्टी 
राष्ट्रिय जनमोर्चा
नागरिक उन्मुक्ति पार्टी
जनमत पार्टी  १  ०  ०  २  १
नेमकिपा
विवेकशील साझा
ज.प्रगतिशीलपा.नेपाल 
स्वतन्त्रहरू १२

यी माथि उल्लिखित ७३१ बाहेकका २२ वटा स्थानीय तहका स्थगित निर्वाचनको मतगणनाको विवरण प्राप्त भएपछि सबै यथार्थ स्थिति सार्वजनिक होला । तापनि अन्तिम अवस्थामा भएकोले ठूलो रूपरेखामा फेरबदल नहोला र नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी तेस्रो हुने र समग्रमा १४ राजनीतिक पार्टीगत र १७ जना प्रमुख र उपप्रमुख चाहिँ निर्दलीय स्वतन्त्रको नेतृत्वमा स्थानीय तह पाँच वर्ष सञ्चालन हुने निश्चित भएको छ ।

उम्मेदवार चयन र छनोट विधिका समस्या
बाहिरी आवरणमा राजनीतिक दल भनिए पनि जुनसुकै पार्टीभित्र गुट, उपगुटको प्रभाव छ । पार्टीको सत्ता पक्ष वा प्रतिपक्षको नेतृत्वको खास खास स्वार्थको पूर्ति हुने किसिमका जी हजुरीबाजहरूको दबदबा छ । नेतृत्व समक्ष दास मानसिकता वा बँुख्याचाहरू सबैका प्रिय छन् । राजनीतिक अवसर धन, डन र लेनदेनको प्रभावबाट प्राप्त हुन्छ । मनि मसल र बार्गेनिङ क्षमताका आधार नेतृत्वलाई कब्जा गर्न सक्ने गुट समूहको राजनीतिमा बोलवाला छ ।

भ्रष्टाचारले राज्य सोपानअनुसार स्थानीय, जिल्ला र प्रदेश तथा केन्द्रीय तहका कार्यकर्ताहरू छुट्टाएको छ । पार्टीभित्र सुकिलामुकिलाको बोलवाला हुन्छ तथा तिनका सिफारिसमा स्थानीय तहदेखि केन्द्रसम्म उम्मेदवार चयन र छनोट गर्ने अभ्यास भएकाले पार्टीहरू प्रजातान्त्रिक र जनमुखी कम धनमुखी बढी छन् भन्ने आरोप छ ।

कुनै पनि राजनीतिक पार्टीहरूले २०४७ सालपछिका, दोस्रो चरण २०६४ साल पछिका आ आफ्ना पार्टीका कुनै नेता, कार्यकर्ताको नेतृत्व क्षमता, नैतिक आचरण, सार्वजनिक सेवाको अवसरको सदुपयोग आदिको सूक्ष्म समीक्षा तथा विश्लेषण गरी उत्कृष्टलाई पुरस्कार तथा अनुशासनहीनलाई कार्बाही गरेको उदाहरण छैन । पार्टीगत राजनीतिक दर्शन, मूल्यमान्यता र घोषणापत्रमा उल्लिखित वाचावचन, गरिएका प्रतिज्ञाहरूबारे राजनीतिक पार्टीहरूले जनतासँग कुनै बहस, छलफल र आत्मसमीक्षाका प्रयासहरू गरेको पाइँदैन । 

पार्टीगत कार्यको पारदर्शिता सार्वजनिक नगरी झुट, गालीगलौज र आरोप प्रत्यारोपमा पार्टी दस्तावेज तथा नेतृत्व सीमित हुनु, उनै निश्चित नेतृत्वलाई जनताबीचबाट परीक्षण नगरी पार्टीको निर्णयबाट बारम्बार अवसर दोहोराएर, तेहराएर दिने कार्य भइरह्यो । जनताका स्थानीय प्रिय नेता कार्यकर्ताहरूको नेतृत्वदायी अवसरको परीक्षण गर्न चाहने जनताको बारम्बारको आग्रहलाई बेवास्ता गर्ने पार्टी हाइकमान्ड र नेतृत्व निर्णयलाई जनताहरूले रुचाएनन् । पार्टीभित्र झिनो रूपमा प्रजातान्त्रिक अभ्यास भएका दलका कार्यकर्ताहरूले दासताविरुद्ध बागीको घोषणा गरे तर बुँख्याचा संस्कारमा अभ्यस्त भएका र राजनीतिक दर्शनमा दानु, बा हजुर बा तथा नातावादका पक्षधरहरूले हाइकमान्डको निर्णयलाई मौन रूपमा स्वीकार गरे पनि मतदान क्रममा पार्टीमाथि अन्तरर्घात गरी असन्तुष्टि जनाए र बागी तथा स्वतन्त्रलाई जिताए भन्ने देखिन्छ । 

निर्वाचनको माहौल नै सिर्जना नभएको अनुभूति 
यो पंक्तिकार नेपालको राजनीतिक अवस्था र नेतृत्वको गतिविधिबाट आजित भएर, उदासीनतामा परेर विगत एक दुई वर्षदेखि नो भोटको अधिकारको व्यवस्था गर भन्ने पक्षमा लेख, विचार प्रवाह गर्दै आएको नागरिक हो । साथै, सरकारी जागिरे भएको नाताले चुनावी गतिविधिमा खटिन र सहभागी हुनसमेत उत्साहित नहुने र तटस्थ बस्न मन गर्ने कर्मचारी हो । २०७९ को स्थानीय तहको निर्वाचन अधिकृतमा खटाउन सम्पर्क गर्दा निर्वाचन आयोगलाई नाम नराख्न स्पष्ट अनुरोध गर्ने व्यक्ति पनि हो । तर मतदान अधिकृतमा काठमाडौँ निर्वाचन अधिकृतको खटनपटनमा सिद्धार्थ वनस्थली मतदान केन्द्रको तीनमध्ये (क)मा खटिएर कामनपा वार्ड १६ को निर्वाचन सम्पन्न गर्न खटिएको कर्मचारी हो । स्थानीय तह भएकोले नो भोटको अधिकार अभियानलाई सुरक्षित गर्न कानुनले नभई चुनावी प्रक्रियाले रोकेकामा सफल भएको नागरिक हो । 

निर्वाचनमा २०७४ मा ७४ प्रतिशत मतदान भएको रे ? ती मतदातामा २०७९ मा आइपुग्दा ३६ लाख संख्या थपिए भनियो । तर मतदान चाहिँ  ७०.२ प्रतिशतमात्र भयो भन्ने विवरण सार्वजनिक गरियो । मतदान नै नभएपछि, यति धेरै फरक संख्यामा कम मतदान किन ? सिद्धार्थ वनस्थली इन्स्टिच्युटका तीन केन्द्रमा ३१४४ मतदातामध्ये २००२ मात्र मतदान भयो । जनताको घर दैलोमा प्रत्यक्ष सरोकार राख्ने स्थानीय निर्वाचनप्रति निराशा किन ? पार्टी प्रतिनिधिहरूसँग प्रश्न गरेको थिएँ । उनीहरूको जवाफ थियो, झण्डै छ, सात सय मृतकका नाम नहटाइएकाले यस्तो भएको हो । साँच्चै देशभरको अवस्था वनस्थली केन्द्रकै जस्तै हो र मतदातामा नयाँ थप्दै जाने र मृतकको नाम नहटाइएको र अद्यावधिक नगरिएको हो भने, अनुमान गरौँ लाखौँ लाख मतदाता नामावली फर्जी रहने गरेका छन् । 

अर्कोतिर मतदाता परिचयपत्र बनाउन फोटो खिचियो, खिचिएन ? कुनै हेक्का नराखी केवल नागरिकता बोकेर आउने र नाम नदेखरे फिर्ता हुने युवकयुवतीहरू पनि केही पाइए । नामको विवरण र परिचयमा सामान्य वा असामान्य फरकको त्रुटि हुँदा क्रमबद्धतामा नाम नमिल्दा निराश भई फर्किने एकाध, दुई जना पनि नभेटिएका होइनन् । मतदान केन्द्र कबाट ६६६ मत खस्दा १६ जना यस्ता मतदाता आए, जसले छोराछोरी, बुहारी, नाति नातिनी तथा छिमेकीको सहयोगमा मतदानको अधिकार प्रयोग गरे । 

मतदान अधिकृतको हैसियतले सिधै हेर्ने र जाँच्ने प्रश्न नहुँ पनि मतदान स्थल छेकबारमा गएपछि धेरै समय लगाएर मैले मतदान गर्न जानिनँ र कहाँ कसरी चिन्ह लगाउने हो ? भनी सोध्ने मतदाताहरू पनि नपाइएका होइनन् । एकभन्दा बढी चिन्हमा मत हाल्ने, औँठाको छाप लगाउन खोज्ने, एक दुई चिन्हमा मात्र छाप लगाएर सबै उम्मेदवारलाई मतदान नगर्ने, मत दिन्नँ भन्ने लाइन नहुनाले एक दुईमा मात्र चिन्ह लगाउने, क्रस चिन्हमा मतदान गर्ने र कतिपयले धेरै स्थानमा मतदान गरे भन्ने पनि लाग्दथ्यो । एक जना वृद्ध आमाले दुई वटा चिन्हमा मात्र हात चलाएर मतपत्र पटाउन थाल्दा, आमा सात ठाउँमा हान्नु पर्दछ भन्दा वहाँको उत्तर थियो, जसलाई दिनु हो, दिएँ अरुलाई दिनु छैन । दुई तीन जनाले हातको बूढी औँठामा छाप चोपेको देखेर रोकेको थिएँ । यसैले मतदाता शिक्षाप्रति आयोग, राजनीतिक दल तथा नागरिक समाज र घरपरिवारका शिक्षितहरू पनि सचेत रहेनन् भन्ने अनुभूति रह्यो । 

बागी, स्वतन्त्र उम्मेदवार तथा राजनीतिक पार्टीहरूका चुनौती 
चुनावमा उत्रिनेहरू सबै स्वतन्त्र उम्मेदवार सबै बागी हुँदैनन् र सबै बागीहरू स्वतन्त्र हैसियतका होइनन् । जीवनभर दायाँबायाँ नगरी निष्ठासाथ पार्टीमा संलग्न तथा अवसरको खोजीमा नयाँ नयाँ घर सरुवा हुने नेता कार्यकर्ताहरू आफूसँग भएका समर्थक समूहका आधारमा नेतृत्वसँग सम्झौता गर्न चाहन्छन् । तर मागको बेवास्ता भए वा आफूले अपनाएको आस्था र सिद्धान्तमा त्रुटिपूर्ण वा निश्चित समूहको स्वार्थ गाँसिएको अप्राकृतिक गठबन्धन भएको र आफूमाथि अन्याय भएको ठानी दलीय आधिकारिकताविरुद्ध चुनावमा स्वतन्त्र हैसियतमा उठ्ने र पार्टीका कार्यकर्ता र समर्थकको भोट लिएर जित्ने वा आफ्नो हैसियत साबित गर्ने परीक्षणमा छुट्टै चिन्ह लिएर मैदानमा उत्रिनेहरू मात्र बागी हुन्छन् । यसर्थ पार्टीका नेता, कार्यकर्ताहरूको अप्रत्यक्ष साथ सहयोगमा चुनाव लड्नेहरू जनकपुर, धनगढी, चितवनमा भिडिरहेका तथा अन्यत्र कोही कतै चुनाव जितेका उम्मेदवारहरू बागी हुन्, स्वतन्त्र होइनन् । उनीहरूले पाएको मत पनि पार्टी समर्थकका हुन् र जुनसुकै बखत आत्मसमीक्षा साथ पार्टीमा प्रवेश गर्न हुन सक्दछन् । 

तर कामनपाका प्रमुखका दावेदार बालेन शाह कतै समाउने र टेक्ने आधार नभएका, कुनै पार्टीसित सरोकार नभएका, कुनै वैयक्तिक स्वार्थमा राजनीतिक मुद्दामा पार्टीहरूसँग बार्गेनिङ गरी कुरा नमिलेपछि बागी वा स्वतन्त्र उठेका उम्मेदवार होइनन् । देशको राजनीति, राजनीतिक पार्टीहरू, नेताहरू, शासक, प्रशासक सबैतिरबाट आशा हराएका जनतालाई कसै पार्टी तथा नेतालाई दोष, आरोप नलगाइकन आफ्ना एजेन्डा सार्वजनिक स्थल, वैकल्पिक सञ्चार माध्यमको प्रयोग, मूलधारको मेघा सञ्चारक्षेत्रबाट उपेक्षामा परेका साधारण अपरिचित देशभक्तिको भावनाबाट उत्प्रेतिर भएर अग्नि परीक्षामा उत्रिएका स्वतन्त्र नागरिक हुन् शाह । 

शाहको उम्मेदवारी नितान्त स्वतन्त्र हो । २०७४ सालमा रन्जु दर्शना, किशोर थापाहरू पार्टीको अभिमत धारणा बोकेर जनता समक्ष आएका थिए र आशालाग्दो मत र समर्थन पनि पाएका थिए । तर उनीहरूको समाउने र टेक्ने पार्टीको राजनीतिक दर्शन र विचारको हबिगतले इतिहास बोक्न सकेन । निकास नदिने राजनीतिको चपेटामा निराश जनताले विकल्पमा पार्टी पद्धतिको मूल्यमान्यता कि मुलुक हाँक्ने असल नेता विकास ? भन्ने खोजी गरेको बेला रह्यो । 

खानदानिया राजनीति र पार्टीगत हैकमका बेलामा तराई मूलको वंशीय बालेन शाहको पक्षमा काठमाडौँका जनताको मतभारले राजनीतिक मसिहा ठानिएका पार्टी तथा तिनका नेताहरूलाई ठूलै सबक सिकाएको हुनु पर्दछ । पार्टीहरूले आ आफ्ना नालायकीपन लुकाउन पञ्चायतकालीन नानीमैयाँ दाहालको उदाहरण दिएर जनताको उपहास गरेमा राजनीति धेरै महँगो पर्नेछ । नेतृत्वमा पुगेको बालेनलाई एक्लो बनाउने, असहयोग गर्ने र नेतृत्वमा चारैतिबाट घेर्ने धृष्टता र उनका योजनाहरूलाई कार्यान्वयन गर्न नदिएर उडाउने र विफल पार्ने लाजनीति नगर्नु नै उचित हुनेछ । वार्ड वार्डमा सबै दलीय नेतृत्व र उपप्रमुख दलीय नेतृत्व भएको अवस्थामा जनमतको उच्च कदर गरी शाहको योजनामा पूर्ण साथ, सहयोगी भएर राजनीतिक पार्टीहरूले काठमाडौँका जनताको मन जित्न आवश्यक छ । 

बालेनले पनि राजनीतिक महत्वाकांक्षामा फसेर राजनीतिक समूह बनाउने, दल खोल्ने मोहमा नफस्नु उचित हुनेछ । सबै राजनीतिक दलका लागि नमुना तथा हाइहाइका पात्र बनी राजधानीका जनताको मन जित्ने र नवीन नवीन विकास योजना, रोजगारी, स्वरोजगारी र आयार्जन र समृद्धिका पक्षमा अहोरात्र खट्ने र आम नेपाली जनता र नेपाल आमाको मुहार हँसाउन सक्ने र देशका सबै जनप्रतिनिधिको लागि कार्यकुशलताको उत्कृष्ट क्षमताको प्रतीक हुने सफलता हासिल गर्ने अढोटका साथ बालेन अघि बढून् । 

क्रमशः

पोखरेलका पुराना लेख पनि पढ्नुहोस्



Author

ईश्वरीप्रसाद पोखरेल

लेखक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय उपसचिव हुन् ।


थप समाचार
ad
x