वार्ता

पोखरालाई पर्यटकीय सहर बनाउनेछौँ (अन्तर्वार्ता)

'गठबन्धन पाँच वर्षलाई गरेका हौँ, माथि जेसुकै भए पनि यहाँ कायम रहन्छ'

धनबहादुर गुरुङ |
जेठ ११, २०७९ बुधबार १५:५७ बजे

एमालेका उम्मेदवारलाई पराजित गर्दै पोखरा महानगरपालिकाको मेयरमा सत्तारूढ गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य विजयी भएका छन् । आचार्यले एमालेका उम्मेदवार कृष्णबहादुर थापालाई  ६ हजार ४५ मतान्तरले पराजित गरे । आचार्यको घोषणापत्रमा जन्मदेखि मृत्यु दर्तासम्म निःशुल्क गर्ने, पोखरालाई आधुनिक पर्यटकीय राजधानी बनाउने उल्लेख छ । पोखरा महानगरका नवनिर्वाचित मेयर आचार्यसँग इकागजकर्मी धनबहादुर गुरुङले गरेको कुराकानी :

महानगरको मेयर भएसँगै अब काम गरेर देखाउने समय आयो, पहिलो दिन के निर्णय गर्ने योजना छ ? 
क्षेत्रफलका हिसाबले सबभन्दा ठूलो महानगरको प्रमुखको जिम्मेवारी पाएको छु । हाम्रो पहिलो निर्णय भनेको हामी महानगरबासी अभिभावक भएको हुनाले जन्मदेखि मृत्यु दर्तासम्मका काम ‘टाइ–फ्रेम’मा राखी सबैलाई निःशुल्क गर्ने निर्णय गर्छौँ । जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता लगायत रेकर्ड राख्ने काम वडा तहबाटै दिनेगरी व्यवस्था गर्छौ । अर्को पोखरालाई औपचारिक रूपमा पर्यटकीय राजधानी घोषणा गर्न आगाडि बढ्नेछौँ । तेस्रो भनेको पोखरालाई बगैँचाको सहर बनाउन सौन्दर्यीकरण गर्ने सोचेका छौं । त्यसको बिम्बस्वरूप जिरो किलोमिटरदेखि हल्लनचोकसम्म ‘डिभाइडर’मा फूल रोपेर त्यसको सुरुवात गर्नेछौं । चौथौ, पोखरा के हो भन्ने चिनाउन ‘क्रियटिभ माइन्ड’ भएका युवाहरूलाई स्मारक बनाउन लगाउने योजना छ । त्यसका लागि एक महिना समय दिने, अनि उहाँहरूले त्यो समयमा ‘थ्री–डी’सहित पठाउन समय दिइनेछ । हामीले प्रथम हुनेलाई २ लाख र द्वितीय, तृतीय हुनेलाई सान्त्वना पुरस्कारस्वरूप २५/२५ हजारसहित सम्मानपत्र दिनेछौँ । उहाँहरूको सिर्जनाअनुरुप महानगरको पार्क, अफिसलगायतमा व्यवस्थित गर्दै अगाडि बढाउने हाम्रो अर्को निर्णय हो । अर्को भनेको ट्राफिक व्यवस्थापन गर्न ट्राफिक कार्यालयसँग सहकार्य गरेर अगाडि बढ्ने निर्णय गर्नेछौं । शपथपछि बोर्डको पहिलो बैठकमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न जरुर विषयमा छलफल गर्नेछौं । त्यो भनेको ‘ल्याण्डफिल साइट’ मुख्य कुरा हो । हामीले फोहर व्यवस्थापन सही ढंगले गर्न सकेनौँ भने विमानस्थल नचल्ने अवस्था छ । त्यहीकारण बजेटको अवस्था कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता थियो । म पोखरामा मतगणना चलिरहँदा निर्वाचन अधिकृतसँग लगायत केहीसँग अनुमति लिएर ३ दिनअघि काठमाडौं गएको थिए । अर्थमन्त्री, सहरी विकास मन्त्री, श्रम मन्त्रीसँग भेटघाट भयो । बजेटको सिलिङ करिब–करिब बन्द भइसकेको थियो । तर मतगणना छाडेर गएको हुनाले त्यसका लागि थप व्यवस्थापन गर्ने कुरा भएको छ । मुख्य प्राथमिकता ‘ल्यान्डफिल साइड’ हो । 


गठबन्धन नै भए पनि कास्की जिल्लाभर तपाईंको पार्टीले एउटा पनि वडाध्यक्ष जितेन, तपाईं क्षेत्रफलका हिसाबले देशकै ठूलो महानगरको मेयरमा विजयी हुनुभयो, यो जित अपेक्षित थियो ?
मैले चुनाव हुनुभन्दा पहिल्यै आँकलन गरेको थिए कि १५ देखि १८ हजार मतले गठबन्धनले जित्नेछ । तर केही हजार मत बदर भएको सुन्नमा आएको छ । त्यो मत पनि जोड्ने हो भने हाम्रो मत २० देखि २५ हजारको बीचमा छ । त्यो बदर स्वीकार्दा पनि ६ हजार बढी मतान्तरले जितेका छौँ । गठबन्धनबाट उपमेयर र म सँगसँगै विजयी हुन सकेनौँ । त्यसकारण पनि त्यति धेरै हर्षोल्लासका साथ पदबहाली गर्ने अवस्था रहेन । तथापि जे परिणाम आयो, त्यसलाई स्वीकार्नुपर्छ । हिजोसम्म फरक–फरक पार्टीबाट अध्यक्ष भएका हामी ३३ वटै वडाका अध्यक्षहरू अब सम्पूर्ण पोखरेलीहरूको साझा अभिभावक हौं । त्यसकारण पनि हामीले गर्ने कामहरू दलभन्दा माथि उठेर व्यक्तिगत र राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने हुन्छ ।

तपाईसँगै गठबन्धन दल नेपाली कांग्रेसका उपमेयरका उम्मेदवार कोपिला रानाभाट पराजित हुनुभयो, यसमा तपाईंको प्रतिक्रिया के छ ?
यसमा म अत्यन्तै दुःखी छु । हामी जुन उत्साहका साथ सँगै जान खोजिरहेका थियौं, त्यसमा उहाँलाई केही मत पुगेन । तर यसलाई हामीले निर्वाचनका समयमा हुने जित–हारको रूपमा स्वीकार्नुपर्छ । उहाँलाई काहिँ न काहिँ हामीसँगै साथमा रहने गरी म व्यवस्थापन गर्नेछु । उहाँ हामी साथमै रहनुहुनेछ । 

गठबन्धनले तयार पारेको घोषणापत्र कार्यान्वयन गर्न अब मेयर र उपमेयरको ‘ट्युनिङ’ मिल्ला ?
राजनीति गर्ने बाहिर पार्टी छन्, यो त स्थानीय सरकार हो । सरकारमा जतनाका सरोकारका विषय हुन्छन् । त्यसमा यो पार्टी वा त्यो पार्टी भन्ने विषय नै हुँदैन । महानगरका मेयर, उपमेयर, वडाध्यक्षहरू सबै सबैका साझा मान्छे भयौं नि ।

वडामा गठबन्धनको बहुमत छ, तर तपाईंको आफ्नै दलको एउटा वडासदस्य पनि हुनुहुन्न । काम गर्न सहज होला ?
यो ५ वर्ष हामी गठबन्धनको मर्म अनुसार नै अघि बढ्छौ । केन्द्रको पार्टीको बीचमा रहोस्, नरहोस् यो हामीले ५ वर्षका लागि गरेको गठबन्धन हो । त्यसकारण यो टुट्दैन । यो गठबन्धन हामीले पाँच वर्षलाई गरेका हौँ । माथि जेसुकै भए पनि यो पाँच वर्ष कायम रहन्छ । पोखरा बनाउने कुरामा सबैको साझा निर्णय हुन्छ । घोषणापत्रमा एमाले र हाम्रा शब्द फरक होलान् । आशय एउटै छन् । हामीले नचाहिने विषय लैजाँदैनौँ । सबैको सवाल पोखरा बनाउने नै हो । नगरसभा प्रत्यक्ष प्रसारण हुन्छ । नचाहिने विषयमा विरोध गरेर जनताका अगाडि नाङ्गिने काम कसैले गर्नुहुन्न । हाम्रो बोर्डका सबै निर्णय सर्वसम्मत् गर्ने मेरो प्रयत्न हुनेछ । त्यहाँ कुनै स्वार्थ राखिने छैन । स्वार्थ नराखी काम गरिन्छ भने अल्पमत वा बहुमत भन्नुपर्ने कुरा छैन । 

अबको ५ वर्षमा पोखरा कस्तो बन्ला ? 
पोखरा कस्तो बनाउने भनेर हामीले चुनावी अभियानका समयमा प्रशस्त चर्चा गरेका छौं । त्यसलाई हामी क्रमशः कार्यान्वयन गर्दै जाने छौं । सबैभन्दा पहिला त हाम्रा हामी ‘कस्ट अफ लिभिङ’ अर्थात् हाम्रो भान्सालाई कसरी सस्तो, सर्वसुलभ बनाउन, कार्यालयलाई कसरी व्यवस्थित बनाउने भन्नेमा हामी ध्यान दिनेछौं । सुशासनका सबै प्रत्याभूति कसरी दिन सकिन्छ भन्नेमा हामी प्राथमिकतामा राख्छौँ । यो पहिलो ६ महिनामा यति मिलाएपछि अरु दीर्घकालीन विषय जस्तै बसपार्क व्यवस्थापन, ट्राफिक व्यवस्थापन, शिक्षालाई समयानुकूल सुधार गर्नुपर्ने, स्वास्थ्यलाई जनताका सरोकारका विषय बनाएर सर्वसुलभ बनाउनुपर्ने लगायतमा काम गर्नेछौं । यस्तै पोखरामा झट्ट देख्दा देखिने खालका परिवर्तनका लागि केही परियोजनाहरू छन् त्यसलाई हामी लागू गर्छौ । ५ वर्षमा सकिने बेलामा हाम्रो महानगरका सबै वडाको कार्यालय बनिसकेका हुनेछन् । पोखराका बाटाहरू सबै सुन्दर ढंगले निर्माण हुनेछ । हामी ‘ग्रिनरी’मा ध्यान दिनेछौँ । हामीले पोखरालाई ‘बगैँचा सहर’को परिकल्पना गरेका छौं । पर्यटकहरू पोखरा किन आउने भन्ने प्रश्नको उत्तर दिने गरी व्यवस्थापन गर्नेछौं । केही राम्रा पार्क बन्नेछन् । समग्र रूपमा पोखरेलीहरूको आयआर्जन वृद्धि गर्नेगरी समुन्नत ‘पोखराको आधार, सबल अर्थतन्त्र पूर्वाधार’ नारा पनि बनाएका कारण नागरिकहरूको अर्थतन्त्र सुधार्ने र उत्पादनमा जोड्ने जस्ता कार्यक्रमहरू पनि गर्नेछौं । समग्रमा विकास भएको आधुनिक सहरका रूपमा पोखरा बन्नेछ ।


Author

थप समाचार
x