वार्ता

इसंवार्तामा सुनील प्रजापति

भक्तपुरमा नेमकिपा किन कहिल्यै हार्दैन ?

सृजना खड्का |
जेठ १२, २०७९ १५:३४ बजे

मतगणना हुनुभन्दा पहिल्यै मतपरिणाम थाहा हुने ठाउँ हो, भक्तपुर नगरपालिका । नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दिएपछि अरु पार्टीले भक्तपुरमा जित्न हम्मे–हम्मे पर्छ । अघिल्लो पटक १९ हजारको मतान्तरले विजयी भएका सुनिल प्रजापति यसपटक लगभग २६ हजारको मतान्तरले विजयी भएका छन् । यसपटक उनले २९ हजार २५२ मत ल्याएर निर्वाचित भएका हुन् । प्रजापतिसँग दोस्रो कार्यकालको योजनाबारे सृजना खड्काले गरेको कुराकानी ः

 


२५ हजारभन्दा बढी मतान्तरले विजयी हुनुभयो, यस्तो भारी मतान्तरले विजयी हुँदा कस्तो महसुस हुँदो रहेछ ?

जनताले राम्रो मूल्याङ्कन गरेको सोचेर खुसी भएँ । हामी जित्छौँ भन्नेमा शंका थिएन । मतान्तरको मात्रै पर्खाइ थियो । हामीले जनताको विश्वास जितेको र उनीहरूको भावनाअनुसार काम गरेको हुनाले अघिल्लो कार्यकालभन्दा बढी मत आउँछ भन्नेमा ढुक्क थियौँ । २०७४ सालको निर्वाचनमा १९ हजारको मतान्तरले जितेका थियौँ । यसपटक त्योभन्दा पाँच÷छ हजार बढी मतले जित्यौँ । 

मेयरका लागि पार्टीमा अरु पनि आकांक्षी थिए होलान्, तपाईंकै उम्मेदवारी किन ?

यो पार्टीको निर्णय हो । पार्टीले गरेको निर्णयमा अहिलेसम्म कसैले विवाद गरेको छैन । पार्टीले केही सोचरै निर्णय लियो होला ।  

तपाईंको दोस्रो कार्यकालको पहिलो प्राथमिकता के रहन्छ ?

हामीले जितेपछि सबैभन्दा पहिला प्रजातन्त्रको निमित्त लड्ने सहिदहरूको सम्झना गर्‍यौँ । उनीहरूलाई श्रद्धाञ्जलि अर्पण गर्‍यौँ । घाइतेहरूलाई उच्च सम्मान व्यक्त गर्‍यौँ । मतदातादेखि मतदानमा खटिने कर्मचारी, सुरक्षाकर्मी सबैलाई धन्यवाद ज्ञापन गर्‍यौँ । त्यसपछि यसपटक हामीले जनतालाई खानेपानीको व्यवस्था गर्ने वचन दिएका थियौँ । त्यहीअनुसार शपथ ग्रहण गरेकै दिन खानेपानीका लागि काम गर्‍यौँ ।

केयूकेयलका प्रमुख मिलनकुमार शाक्य, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका निर्देशक सञ्जीवविक्रम राणा आदिलाई सम्पर्क गर्‍यौँ । आफैँ फिल्डमा गयौँ । हामीले चासो देखाएपछि भोलिपल्टैबाट काम हुने भयो । शनिबार सामान झार्‍यौँ । अहिले काम सुरु भइसकेको छ । एक दुई दिनमा खानेपानीको समस्या समाधान हुने देखिएको छ । खानेपानीसँग सम्बन्धित हाकिमहरू सोमबार भक्तपुर नगरपालिकाको कार्यालयमा आउनुभएको थियो । ‘तपाईंहरूले पानी नपठाएसम्म मैले छोड्नेवाला छैन है’ भनेको छु । त्यस्तै, हामीले घोषणापत्रमा अधुरा काम पूरा गर्छौँ भनेका थियौँ । अधुरा काममा भाज्या पोखरी बाँकी थियो । त्यो यो आर्थिक वर्षभित्र सम्पन्न हुन्छ । पहिला अधुरा कामबाट यो कार्यकाल सुरु गरेका छौँ ।

अधुरा काम पूरा गर्नेबाहेक भक्तपुर नगरमा अब गर्न बाँकी के छ ?

हामीले गर्नुपर्ने धेरै काम छन् । तर, जे गर्छौँ जनतासँग सरसल्लाह गरेर मात्रै गर्छौँ । बजार व्यवस्थापनका लागि नगर प्रहरीको व्यवस्था गर्दैछौँ । बिजुलीको तार हटाएर दृश्य प्रदूषण कम गर्नेछौँ । कोर एरियामा ढुङ्गा छापिसकेका छौँ । बाटोमा सबै ठाउँमा बत्तीको व्यवस्था गर्नेछौँ । पुरानो नगरको मुल सडकमा गाडीलाई निषेध गर्ने योजना छ । ठाउँ सानो, बस्ती घना भएकाले हाम्रो नगरमा पार्किङको समस्या छ । त्यसमा पनि ध्यान दिनुपर्नेछ । त्यस्तै, नेवारी जनजीवन झल्किने खालका म्युजियम बनाउनेछौँ । सार्वजनिक जग्गाहरूको उपयोग गरेर बाल उद्यान र व्यायामशालाहरू बनाउँछौँ ।

शिक्षा र स्वास्थ्य भनेको संवेदनशील थलो भएकाले हामीले बिदा नगर्ने निर्णय गरेका छौँ । जनताको जीवनसँग सम्बन्धित कुरामा हामी सम्झौता गर्दैनौँ

सरकारी सेवा अनलाइनमार्फत उपलब्ध गराउने योजना छ । यो वर्ष अरनिको सभा भवन सुरु गर्ने विचार छ । अब भक्तपुरका विद्यालयमा अतिरिक्त क्रियाकलापका शिक्षक नगरपालिकाले व्यवस्था गर्छ । भक्तपुरको परम्परागत संगीतका प्रशिक्षकहरू स्कुलमा पठाउने योजना छ । विद्यार्थीले परम्परागत बाजाहरू बजाउन सिक्नेछन् । यस्तो प्रयासले हाम्रो संस्कृति पुनरुत्थान, पुस्तान्तरण र हस्तान्तरण हुनेछ । खेलकुद प्रशिक्षकहरू अहिले पनि पठाइरहेका छौँ । त्यसको संख्या बढाउने योजना छ । हाम्रो नगरमा हनुमन्ते र कासान दुई खोला छन् । ती दुई खोलाको किनारमा करिडोर बनाउनेछौँ । २५ बेडको स्वीकृति लिएर ख्वप अस्पताल चलाइरहेका छौँ । त्यसलाई सय बेड बनाउँछौँ । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता सबैको पहुँचमा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । तर, दुई दिन बिदा दिने सरकारका नचाहिँदो निर्णयले धेरै सरकारी स्कुल, कलेज र अस्पताललाई नराम्रो असर परेको छ ।

तपाईंहरूले त स्कुल, कलेज र अस्पतालमा दुई दिन बिदाको निर्णय मान्नुभएको हैन क्यारे हैन ?

यो निर्णय गर्नुमा सरकारको आफ्नो बाध्यता होला । तर, हामीले यसलाई मानेका छैनौँ । हामी आफ्नै तरिकाले चलिरहेका छौँ । काम थोरै गरेर देश विकास गर्न सकिन्छ भन्ने विचार कहिल्यै सही हुन सक्दैन । दुई दिन बिदा भएपछि सरकारी अस्पतालमा बिरामीको बिजोग हुन थालेका छ । ख्वप अस्पताल जहाँ दिनको सात सय बिरामी जाँचिन्छ, त्यहाँ एक दिन बिदाले पनि ठूलो प्रभाव पर्छ । मानिसहरू निजीमा जान बाध्य हुन्छन् ।

शिक्षा र स्वास्थ्य भनेको संवेदनशील थलो भएकाले हामीले बिदा नगर्ने निर्णय गरेका छौँ । जनताको जीवनसँग सम्बन्धित कुरामा हामी सम्झौता गर्दैनौँ । हाम्रो प्रायः सरकारी स्कुलसँग बस छैनन् भने हामीले किन बन्द गर्ने ? दिनमा २०–३० ओटा गाडी चढ्ने निजी स्कुल बन्द नहुने, सरकारी मात्रै किन बन्द गर्नु ? सामुदायिक विद्यालयमा उसै पनि आकर्षण छैन । यस्तो नीतिले त झन् सामुदायिक विद्यालयमा पढ्नेहरू निजीतिर आकर्षित हुन्छन् । यो दुई दिनको बिदाको उद्देश्य भनेको सरकारी स्कुल, कलेज, अस्पतालको अस्तित्व खत्तम पार्नु हो । 

मेडिकल कलेजको स्वीकृति पाएमा १५ लाखमै मेडिकल पढाउँछौँ पनि भन्नुभएको छ, यो सम्भव छ ?

पूर्वाधार निर्माणका लागि एकपटक अलि धेरै पैसा खर्च हुने हो । त्यसबाहेकको विद्यार्थीलाई पढाउने खर्च भनेको अरु कलेजमा पढाएको जस्तै हो । प्राक्टिकलमा केही खर्च होला । अहिले पनि हरेक वर्ष एक डेढ करोड इन्जिनियरिङ कलेजमा प्राक्टिकलका लागि खर्च गरिरहेका छौँ । त्यसबाहेक प्राध्यापकहरूलाई तलब खुवाउनु पर्ला । त्यो हामी अरु विकास निर्माणका काम रोकेर देशका लागि आवश्यक पर्ने जनशक्तिमा खर्चिन तयार छौँ ।

भक्तपुरका सम्पदा बनाउन ४८ करोड अड्कलेका थियौँ । जम्मा २५ करोड लाग्यो । त्यो बचेको पैसा हामी अरुतिर खर्च गर्छौँ

ढुङ्गा छाप्ने, पिच गर्ने काम दुई–चार वर्षपछि सार्छौं । शिक्षा भनेको नाफा खाने थलो होइन, सेवा गर्ने ठाउँ हो । हामीले इन्जिनियरिङ कलेज चलाएर आफूलाई प्रमाणित गरिसकेका छौँ । शिक्षा, स्वास्थ्य जस्ता कुरामा सरकारले जिम्मा लिनुपर्छ । त्यसैले, स्वीकृति पाएमा अहिल्यै चलाएर देखाइदिन्छौँ । हामीले यसका लागि निकै कोसिस गरेका थियौँ । तर, गोविन्द केसीजीको सम्झौता देखाएर स्वीकृति मिलेन । पछिल्लो समय ताकेता गर्न पनि छाड्यौँ । 

उपत्यकामा अरु पनि मेडिकल कलेज छन्, बाहिरी जिल्लालाई पनि त प्राथमिकता दिनुपर्‍यो नि होइन र ?

त्यो आफ्नो ठाउँमा होला । तर, जहाँ मानिसहरूको चाप हुन्छ, त्यहाँ आवश्यकता हुन्छ । बिरामी नभएको ठाउँमा मेडिकल कलेज खोलेर के काम ? इन्जिनियरिङ कलेजमा हामीसँग ४ सय ३२ जनाको क्षमता छ, भर्ना हुन २२ सय विद्यार्थी आउँछन् । ख्वप माविमा यो वर्ष १८ सयलाई भर्ना लियौँ । २५ सयभन्दा बढीले निवेदन दिएका थिए । हामी निजीसँग गुणस्तरमा प्रतिस्पर्धा गरिरहेका छौँ । तैपनि, हामीले गोविन्द केसीजीले सम्झौता गर्नुभन्दा अगाडि नै मेडिकल कलेजको माग राखेका थियौँ । सुनुवाइ भएन । मेडिकल कलेजको स्वीकृति नपाए पनि हामी अरु कलेज खोल्छौँ । यो कार्यकालमा सबैले भक्तपुर नगरमा नयाँ–नयाँ कलेज देख्न पाउनु हुनेछ । सय वर्षपछिको भक्तपुरका लागि हामीले अहिलेदेखि नै एउटा–एउटा इँटा जोडेर काम गर्नुछ ।

कस्तो हुनेछ सय वर्षपछिको भक्तपुर ?

हाम्रो पार्टीका अध्यक्ष नारायनमान बिजुक्छेले ‘सय वर्षपछिको भक्तपुर’ पुस्तक लेख्नुभएको छ । त्यसमा भनिएको छ– यहाँका प्रत्येक युवाले चार–पाँचवटा भाषा जानेका हुनेछन् । सम्पदा क्षेत्रमा गाडी गुड्ने छैनन् । सडक धुवाँधुलोरहित हुनेछन् । साँझमा सहर घुम्न निस्किँदा बाजा बजिरहेको हुनेछ । मानिसहरू भजन गाइरहेका हुनेछन् । सांस्कृतिक नृत्यहरू देखिनेछन् । मठमन्दिरमा बत्तीहरू झिलिमिली बलिरहेका हुनेछन् । पर्यटकहरू आएर आनन्द लिनेछन् । विदेशीहरू आएर भक्तपुरमा पीएचडी गरिरहेका हुनेछन् । एकै रूपका घरहरू हुनेछन् । त्यो सहर बिहान हेर्दा प्राचीन सहर जस्तो देखिनेछ । दिउँसो हेर्दा खुला विश्वविद्यालय जस्तो देखिनेछ । साँझ पनि उत्तिकै सुन्दर देखिनेछ ।

अहिलेको हाम्रो कदम यही परिकल्पनालाई साकार पार्नका लागि हो । उहाँले यो लेख्नुभएको २० वर्ष भयो । हामी अगाडि बढिसकेका छौँ । हामीले युवाहरूलाई भाषा पढाइरहेका छौँ । धुवाँ–धुलो नहोस् भनेर ढुङ्गा छापिरहेका छौँ । एकरुपताको घर बनाउन थालिसकेका छौँ । सम्पदा पुनःनिर्माण गरिरहेका छौँ । दृश्य प्रदूषण नहोस् भनेर तारलाई अन्डरग्राउन्ड गरिरहेका छौँ । हामी हतारमा छैनौँ । जनतासँग छलफल गर्दै काम गरिरहेका छौँ । हाम्रा सम्पूर्ण योजना आजको भोलि सम्पन्न हुने खालका छैनन् । यो पाँच–दश वर्षमा गर्न सकिने विषय पनि होइन । बिस्तारै एक–एक गर्दै गर्नेछौँ ।

हामीले सीमित स्रोत र साधनले अधिकतम समस्या पूरा गर्ने कोसिस गरेका छौँ । त्यसमा इमानदार र पारदर्शी भएर काम गरेका छौँ । जनप्रतिनिधिले आर्थिक अनुशासनमा बसेर काम गर्ने हो भने कुनै समस्या हुँदैन । हामी स्रोत भएर होइन, स्रोतको सही सदुपयोग गरेर अगाडि बढेका छौँ । भ्रष्टाचार नगरेपछि सक्दो पैसा बच्छ । हामीले भक्तपुरका सम्पदा बनाउन ४८ करोड अड्कलेका थियौँ । जम्मा २५ करोड लाग्यो । त्यो बचेको पैसा हामी अरुतिर खर्च गर्छौँ । जनताको स–सानो समस्यामा ध्यान दिन्छौँ । जनतालाई खानेपानीको समस्या हुँदा हामी ठूला बिल्डिङ बनाउनतिर लाग्दैनौँ । 

तपाईंको त पार्टीको नाममै मजदुर र किसान जोडिएको छ, उनीहरूका लागि चाहिँ यो पटक के गर्ने योजना छ ?

मजदुर र किसानका लागि वैकल्पिक रोजगारीको योजनामा छौँ । किसानी गरेर खाने जग्गाजमिन सक्किसक्यो । उनीहरूको पेसालाई नै परिवर्तन गर्नुपर्ने अवस्था छ । हामी उनीहरूलाई सीपमूलक तालिमको व्यवस्था गर्नेछौँ । डकर्मी, सिकर्मीको तालिम दिनेछौँ । युवाहरूका लागि मोबाइल, मोटरसाइकल मर्मत तालिमको व्यवस्था हुनेछ । किसानहरूले खेत छैन भनेर बस्नु नपरोस् भन्ने हाम्रो उद्देश्य हो । हातमा सीप भए सबैजना आत्मनिर्भर बन्न सक्छन् । 

केही समयअघि काठमाडौँका मेयर उम्मेदवार बालेन शाह तपाईंलाई भेट्न आएका थिए, उनले भक्तपुरबाट सिकेर केही काम गर्ने भनिरहेका छन्, तपाईं सहकार्य गर्न कतिको तयार हुनुहुन्छ ?

हाम्रो भेट चुनावभन्दा अगाडि नै भएको थियो । हामीबीच यहाँको सम्पदा र काम गर्ने शैलीबारे कुराकानी भयो । हामी उहाँसँग मात्र होइन, सबैसँग मिलेर काम गर्न तयार छौँ । जनप्रतिनिधिसँग मिलेर काम गर्न पाउनु राम्रो पनि हो । हामीले आफूमा भएको सीप दिएर उहाँहरूसँग भएको अनुभव लिने हो । 

पछिल्लो समय धेरै स्वतन्त्र उम्मेदवारहरू विजयी भएका छन्, यसलाई कसरी नियालिरहनुभएको छ ?

यसलाई पार्टीले सही व्यक्तिलाई नउठाउँदा जनताले पोखेको असन्तुष्टिका रूपमा हेर्न सकिन्छ । पार्टीमा आस्था हुँदाहुँदै पनि प्रतिनिधि चित्त नबुझेर स्वतन्त्रलाई जिताएको पनि हुन सक्छ । युवालाई अवसर दिन खोजेको पनि होला । तर, यसको मुख्य कारण भनेको राजनीतिक रूपमा जनतालाई सचेत पार्न नसक्नु हो ।

राजनीतिक रूपले आफ्ना जनतालाई सचेत र विश्वास दिलाउन सकियो भने एउटा भोट पनि तल–माथि हुँदैन । नत्र जनता जसलाई मन लाग्छ, त्यसलाई हाल्छु भन्नेतिर जान्छन् । पहिला पनि नानीमैयाँ दाहाललाई जिताएको इतिहास हामीसँग छ । स्वतन्त्रले पनि आफ्नो हिसाबले काम गर्लान् । तर, दलीय व्यवस्थामा दलको विकल्प व्यक्ति होइन, दल नै हुन्छ ।  

स्वतन्त्र भएर काम गर्दा बजेट पास नहुनेदेखि धेरै समस्या भोग्नुपर्छ । कसै न कसैसँग नमिली एउटा पनि प्रस्ताव पास गर्न सकिँदैन । सबैलाई समन्वय गर्ने भन्ने शब्द साह्रै सजिलो र कर्णप्रिय छ । तर, गर्न त्यति सजिलो छैन । अल्पमतको सरकारलाई त चुनौती हुन्छ भने स्वतन्त्रहरूलाई काम गर्न सजिलो छैन । तर, सबैले आफ्नो शैली र खुबीले काम गर्ने हो । 
 



Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
ad
x